संसार हल्लाउने ‘त्यो’ क्रान्ति !


कृष्णमुरारी भण्डारी l यो लेख तपाईंले पढिरहँदा आजभन्दा ठीक एक सय वर्षअघि भ्लादिमिर इल्लिच लेनिन पोख्त कलाकारले चित्र तयार हुनेबेला फाइनल टच दिएजस्तै क्रान्तिको तयारीलाई अन्तिम दिमाग चलाउँदै कलम घुमाइरहेका थिए । उनी यतिखेर अलि टेन्सनमा पनि थिए ।अति गोप्य राखिएको क्रान्तिको तयारीलाई दुई दिनअघि आफ्नै पार्टीका कामेनेभ र जिन्योभेवले प्रेसमा लिक गरिदिएपछि लेनिनले भने, ‘आजै (२४ नोभेम्बर) क्रान्ति सुरु गर्ने हो भने धेरै चाँडो हुन्छ ।
पहिले तयार गरिएको (२६ नोभेम्बर) दिनमा गर्ने हो भने धेरै ढिलो हुन्छ ।’ उनले पार्टीको शीर्ष नेतृत्वलाई भने के गर्ने ? सबैले एक अर्कालाई हेराहेर गरे । स्वभावअनुसार खितितित् हाँस्दै उनले भने, ‘पर्सी गर्दा ढिला हुन्छ र आज गर्दा तयारी पुग्दैन, हतार हुन्छ । त्यसैले क्रान्ति भोलि गरौं !’
२५ अक्टोबर १९१७ को साँझ ९:४० बजे सेन्ट पिटर्सवर्गमा राखिएको औरोरा जहाजबाट तोपको गोला दागियो ।
रूसको त्यतिबेलाको राजधानीलाई तोपको आवाजसँगै मजदुर, किसान र सिपाही एकैचोटी परिचालित भए र राजधानीलाई क्रान्तिकारीले कब्जामा लिए । एउटै मानिसको हत्या नगरी अक्टोबर क्रान्ति सुरु भयो । धेरैलाई भ्रम छ, जार शासन लेनिनले अपदस्त गरेका हुन् । तर यो सत्य होइन, जार शासनलाई फेब्रुअरीमा भएको पुँजीवादी शासनले विस्थापित गरेको थियो । अक्टोबर क्रान्तिले केरेन्स्की नामका नेताको सरकारलाई विस्थापित गरेको हो ।
भोलिपल्ट अर्थात २६ अक्टोबरका दिन रूसी क्रान्तिकारी परिषद्ले सोभियत सरकारको गठन गर्दै जमिन जोत्नेको र शान्तिको घोषणा गर्‍यो ।एक सय वर्षअघि आजकै दिन समानता र समतामूलक समाज बनाउने पहिलो समाजवादी क्रान्ति सफल भएको थियो । इतिहासमा यही दिन अक्टोबर क्रान्ति भएको नामले चिनिन्छ, चिनिइरहेको छ र चिनिनेछ । मानव सभ्यतामा हजारौं क्रान्ति भएका छन् र भइरहनेछन् तर अक्टोबर समाजवादी क्रान्ति युगलाई नै परिवर्तन गरिदिने त्यस्तो क्रान्ति हो जसले जर्मनीका कार्ल माक्र्सले समतामूलक समाज बनाउन सकिन्छ भन्ने विज्ञानलाई सत्य सावित गरेको थियो ।
यो विश्वकै त्यस्तो पहिलो राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक र अन्तर्राष्ट्रिय क्रान्ति थियो, जो श्रम गरेर सबैलाई खुवाइपियाइ गर्नेहरूलाई प्रताडित गर्ने शोषणवादी राज्यसत्ताविरुद्ध थियो । शोषित, पीडित र शासित मानिसलाई संगठित गरेर शासनमा पुर्‍याउन सकिन्छ, अनि समानता र समतामूलक राज्य सिर्जना गर्न सकिन्छ भन्ने कुरालाई यथार्थमा परिणत गरेको थियो ।

दोहोर्‍याइरहन पर्दैन कि अक्टोबर क्रान्तिले सम्पन्न गरेको सोभियत सत्ता सन् १९१७ देखि १९९१ सम्म अर्थात ७४ वर्षसम्म कायम रह्यो । तर क्रान्तिको पहिलो दिनदेखि अन्तिम दिनसम्म पनि पहिलो समाजवादी क्रान्ति चर्चामा रहिरहेको मात्र होइन, राजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, विकास, व्यापार, विज्ञान÷प्रविधि, शिक्षा, मानव विकास, संस्कृतिक सम्बन्धमा मात्र नयाँ मार्ग उत्खनन् गरेर यथार्थमा प्रयोग गर्‍यो । विश्वबाट उपनिवेशवादको अन्त्य गर्दै एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका राष्ट्रिय मुक्ति र स्वाधीनता आन्दोलनको प्रेरणास्रोत रहिरह्यो । हाम्रा छिमेकी मुलुक चीन र भारत मात्र संसारभरका उपनिवेश भएर बसेका मुलुकका स्वाधीनताप्रेमीहरूका लागि सोभियत संघ त्यस्तो भरपर्दो सहयोगी थियो, सधैं स्वतन्त्रताप्रेमीलाई तन, मन र धनले सघाइरह्यो ।
त्यसैले क्रान्तिको पहिलो दिनदेखि नै स्वाधीनताविरोधी, शोषक, पुँजीपति र सामन्तहरू श्रमजीवीले कायम गरेको राज्यसत्ताविरुद्ध लागिरहे । १४ वटा देश मिलेर पनि आक्रमण गरे तर बोल्सेभिक पार्टीका नेता लेनिन र उनका सहयात्री र सहकर्मीले उत्कृष्ट सीप र कला कौशल प्रदर्शन गरेर कलिलो समाजवादी क्रान्तिलाई जोगाइछाडे । एक अमेरिकी इतिहासकारले लेखेका रहेछन्, ‘अक्टोबर क्रान्तिले सत्तरी दिन काटेपछि आयोजित सभा चलिरहँदा, हलबाट बाहिर हिमपात भइरहँदारहँदै निस्केर भ्लादिमिर लेनिन मज्जाले नाचेपछि कसैले सोधेछ, यति धेरै वर्षको संगतमा तपाईं नाचेको पहिलोपल्ट देखें । यसको कारण के होला ?
लेनिनले खुला सभामा भनेछन्, ‘पेरिस कम्युन ६० दिन (२८ मार्च-२८ मे, १८७१) टिकेको थियो । तर तपाईं-हामीले गरेको सोभियत क्रान्तिले ६१ दिन पार गर्‍यो । मजदुरहरूको सत्ता सबैभन्दा बढी दिन जोगिएको खुसीमा म यति आल्हादित बनेको छु कि म त नाँच्न थालेछु । मलाई अझै धित मरेको छैन, आउनुहोस् साथीहरू हामी सबै यही खुसीमा फेरि नाचौं !’यसबाट बुझ्न सकिन्छ, अक्टोबर क्रान्तिका नायक कति एकलब्य भएर काम गरेका रहेछन् ? सहयात्रीलाई कसरी लयमा परिचालन गराएका रहेछन् ?
जुझारु बोल्सेभिक पार्टी बनाएर बुद्धिजीवीको बुद्धि र श्रमजीवी जनताको शक्ति एकत्रित गर्दै लेनिनले अक्टोबर क्रान्ति गरेर सोभियत सत्ता कायम गरे, त्यसलाई जोगाए र अन्त्यमा त्यसैको बलमा युरोपमा पिछडिएको सोभियत संघ छोटै समयमा महाशक्ति राष्ट्रमा कायापलट भयो । यो सबैको जस त्यही क्रान्तिलाई जान्छ
सोभियत संघमा पत्रकारितामा उच्च अध्ययन गरेका पूर्व कानुन मन्त्री नीलाम्बर आचार्यको विचारमा संसारमा धेरै क्रान्ति आए र गए तर अक्टोबर क्रान्ति एउटा त्यस्तो परिवर्तन हो जसले संसारलाई नै नयाँ दिशा दियो । उपनिवेश र साम्राज्यवादविरोधी आन्दोलनको बलियो सहयोगीको रूपमा यो क्रान्ति रह्यो । त्यस्तै फासीवादविरुद्ध भएको दोस्रो विश्वयुद्धमा सोभियत संघले निर्णायक भूमिका निर्वाह गर्‍यो र युद्ध जित्यो । विकासमा पनि रूसले छलाङ मार्‍यो ।
तर आन्तरिक प्रतिस्पर्धालाई मौका नदिइएको सोभियत संघले पछिल्लो समय विश्व प्रतिस्पर्धामा पनि सकेन । आफूलाई सुधार्न पनि असफल रह्यो ।राजनीतिक र नागरिक अधिकारको अभावमा विश्वकै ठूलो देशले जातीयता र राष्ट्रियताको दबाब धान्न सकेन । बढी रकम सामरिक प्रतिस्पर्धामा खर्च गरेकोले अन्य सामाजिक आर्थिक कारणले आफूलाई विश्व महाशक्तिमा उभ्याइरहन गाह्रो पर्‍यो । फलस्वरूप सोभियत संघ नै १९९१ मा विघटन भयो ।
तर पहिलो समाजवादी देश सोभियत संघ संसारकै यस्तो देश हो, जो विघटन भएर पनि विश्वलाई शिक्षा दिएको छ । अझै त्यो संसारकै ठूलो क्षेत्रफल भएको देश मात्र होइन, ठूलो सम्भावना बोकेको देशको रूपमा पनि रहिरहेको छ । संसारको विकास र स्थायित्वमा अहिले पनि उत्तिकै प्रभाव पार्ने सामथ्र्य राख्छ ।
विश्वमा अमेरिका र चीनलाई विश्वशक्ति मानिरहँदा पनि उनीहरूसँगै क्षेत्रीय शक्तिशाली राष्ट्रहरूले पूर्व सोभियत संघ अर्थात अहिलेको रसियालाई न नियाली विश्व दृष्टिकोण बनाउन सक्दैनन् ! तर मलाई अचम्म लागिरहेको छ, एक्काइसौं शताब्दीमा पनि अमेरिकाले रूसलाई प्रतिबन्ध लगाइरहेको किन होला ? अहिलेको प्रतिबन्ध सम्झँदा मलाई अक्टोबर क्रान्ति हुनेबित्तिकै १४ वटा राष्ट्र मिलेर नबोदित समाजवादी देशमाथि धम्की दिएर लगाएको नाकाबन्दीको याद आइरहेको छ ।
रूसमै इन्जिनियरिङ गरेका कम्युनिस्ट नेता तथा पूर्व भूमिसुधार मन्त्री चन्द्रदेव जोशी अक्टोबर क्रान्तिले दिएको सन्देश विश्वव्यापी हो भन्ने मान्यता राख्छन् । परिवर्तन गर्न क्रान्ति चाहिन्छ, अक्टोबर नै क्रान्ति नहोला तर हुने खाने र सम्पन्न शासकहरू तल्लो तहका जनतालाई किस्तीमा हालेर अधिकार दिँदैनन् ।
श्रमजीवी जनताको मुक्तिका लागि उनीहरूको सहज जीवनयापनको लागि लाग्न लेनिनको नेतृत्वमा भएको त्यो क्रान्तिले विश्वभर सन्देश दियो र, विश्वभर मानव श्रम जबसम्म रहन्छ, त्यतिन्जेल अधिकारको लागि संघर्ष भइरहन्छन्,उनले पुराना कुरा सम्झँदै भने, अक्टोबर क्रान्तिको सार यही हो।
संसारमा अहिले भइरहेको परिवर्तनको सार पनि यही हो र रूप मात्र मुलुकपिच्छे भिन्न रहेका छन् ।
त्यसैले अक्टोबर क्रान्तिको सन्देश जुगौंजुगसम्म प्रेरणास्पद नै रहनेछ जसरी पेरिस कम्युन असफलतामा टुंगिए पनि माक्र्स र एंगेल्सले मूल्यांकन गर्दै लगत्तै लेखेका थिए, कम्युन असफल भए पनि यसले श्रमजीवी वर्गको भावी शासनको रूपरेखा कोर्ने सफलता पायो ।सर्वहारावर्गको अधिनायकत्व किन चाहिन्छ भन्ने शिक्षा माक्र्सले पेरिस कम्युनमा भएको दमन र क्रुर हत्याबाट पाएका हुन् ।
यसमा लेनिनले थपेको कुरा के भने, कम्युनिस्ट पार्टीमा आन्तरिक लोकतन्त्र हुनुपर्छ है । तर धेरै कम्युनिस्ट शासकले ‘जनवादी केन्द्रीयता’ लाई लत्याएकाले स्टालिन, माओत्सेतुङ, पोलपोटहरू निस्किएर विश्व हल्लाउने त्यो क्रान्तिका प्रभावलाई धमिलो बनाइदिए र विरोधीलाई विश्वको पहिलो कम्युनिस्ट क्रान्तिलाई धमिलो पार्न मौका मिलेको हो । सोभियत संघ विघटन भए पनि अक्टोबर क्रान्तिको महत्व घटेको छैन । त्यो अहिले पनि विश्वका परिवर्तनकामी श्रमजीवी जनताको लागि प्रेरणाको स्रोत नै रहिरहेको छ ।
प्राध्यापक देवराज दाहालसँग अक्टोबर क्रान्तिको असफलताका कारणबारे जिज्ञासा राख्दा उनले प्रश्नसँग असहमति जनाउँदै भने, ‘त्यो क्रान्ति असफल भएको होइन । त्यसले त विश्वलाई नयाँ मोड पो दियो ।’ स्वतन्त्रता भन्ने पश्चिमी विश्वका विचारक र नेताहरूलाई राज्यले सामाजिक न्याय गर्नुपर्ने ठूलो शिक्षा रूसी क्रान्तिले दिएको कसले भुल्न सक्छ ?
लेनिनले धनीमानी र सत्तामा रहेर शासन गरिरहेका सम्भ्रान्तलाई स्वतन्त्रताको बखान गरेर बसिरहन हैन, आफूमा सुधार गर्न ठूलो अवसर दिए । बोलेर मात्र होइन, तल्लो वर्गका शोषितपीडितलाई संगठित गर्दै उनीहरूलाई चेतनशील बनाउन सकियो भने ती सत्तामा पुग्छन् र युगान्तकारी परिवर्तन गर्न सक्छन् भन्ने उदाहरण रूसमा अक्टोबर क्रान्ति गरेर नै लेनिनले सावित गरेका हुन् । जो राजनीतिक-सामाजिक-आर्थिक परिवर्तनमा भएको चानचुने फड्को होइन ।
मलाई लाग्छ, दाहालले भने, ‘राजनीतिक र नागरिक अधिकारको कुरा गरेर बसिरहेका पश्चिमी विद्वानलाई लेनिनको क्रान्तिले मानव अधिकारको च्याप्टर थपिदिएका हुन् । आत्मनिर्णयको अधिकारलगायत सामाजिक रूपमा सोभियत राज्यले ल्याएका मौलिक प्रयोगले त्यतिखेर पश्चिमी विश्वमा तहल्का नै मच्चायो । किन्सले त्यसपछि नै हो भनेका, पुँजीवादमा सामाजिक सुरक्षाका कुरामा राज्यले भूमिका निर्वाह नगर्ने हो भने पुँजीवाद टिक्दैन ।
त्यसपछि नै हो, पश्चिमी दुनियाँमा ठूला ठूला विचारक आए । उनीहरू अक्टोबर क्रान्तिबाट अत्यधिक प्रभावित थिए । यो क्रान्तिले विश्वमा बौद्धिक जागृति ल्यायो । सय वर्ष पुगिसक्दा पनि त्यसको चर्चा नगरी विचार व्यक्त गर्न सम्भव नै छैन, दाहालले भने ।
तीनैजना विद्वानको विचारबाट लेनिन र उनका साथीहरू मिलेर जे प्रयोग गरेर देखाए अक्टोबर क्रान्तिमार्फत त्यसैकारण लेनिनले माक्र्सवादमा नयाँ विचार थपेको सावित हुन्छ । एक त विचारको रूपमा पुस्तकमा सीमित रहेको माक्र्सवादलाई लेनिनले प्रयोगमा ल्याएर देखाए । अर्को महत्वपूर्ण कुरा, माक्र्सलाई सामाजिक वैज्ञानिकको रूपमा लेनिनले नै स्थापित गरेको जस दिन कन्जुसी गर्नु हुने देखिँदैन ।
ब्रिटिश लाइब्रेरीमा बसेर लिपिबद्ध भएका माक्र्सका विचारलाई लेनिनले विचारका रूपमा भट्याएर बौद्धिक विलास गरेर मात्र बसेनन् उनले श्रमजीवीको राज्यसत्ताका लागि बल पनि चाहिन्छ भनेर जुझारु बोल्सेभिक पार्टी नै स्थापना गरे । पार्टी र नेतृत्वलाई अधिनायकवादी र ब्युरोक्रेटिक हुन नदिन अन्तरपार्टी लोकतन्त्रलाई उनले सँगसँगै अगाडि बढाउन एकदमै जोड दिएर कम्युनिस्ट नेता र पार्टीलाई सचेत गराएका पनि थिए ।
सशक्त पार्टी निर्माणपछि मजदुर र किसानको सत्ता कायम गरेर व्यापक परिवर्तन गर्न सकिन्छ भन्ने सोच माक्र्सवादमा लेनिनले स्थापित गरेका हुन् । उनलाई राम्रोसँग थाहा थियो-बुद्धिजीवीसँग ब्रेन हुन्छ, बल हुँदैन । जुझारु बोल्सेभिक पार्टी बनाएर बुद्धिजीवीको बुद्धि र श्रमजीवी जनताको शक्ति एकत्रित गर्दै लेनिनले अक्टोबर क्रान्ति गरेर सोभियत सत्ता कायम गरे, त्यसलाई जोगाए र अन्त्यमा त्यसैको बलमा युरोपमा पिछडिएको सोभियत संघ छोटै समयमा महाशक्ति राष्ट्रमा कायापलट भयो । यो सबैको जस त्यही क्रान्तिलाई जान्छ र यसैकारण समाजवादी विचारका प्रवर्तक माक्र्सवादसँगै लेनिनवाद पनि स्थापित भएको हो ।

अन्नपुर्णपोस्टबाट 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार