राप्रपा प्रजातान्त्रिकका महामन्त्रीले गरे वाम गठबन्धनलाई समर्थन


उद्योगराज्यमन्त्री रेशम लामाले वाम गठबन्धनलाई समर्थन जनाएका छन् । काठमाडौंको कोेटेश्वरमा क्षेत्र नम्बर २ स्तरीय चुनावीसभामा सोमबार बोल्दै लामाले वाम गठबन्धनलाई समर्थन गरेको घोषणा गरेका हुन् ।

‘मैले वाम गठबन्धनमै राजनीतिक जीवन बिताउने निर्णय गरिसकेको छु । त्यसैले निर्वाचनमा मेरो समर्थन वाम गठबन्धन उम्मेदवारलाई हुनेछ,’ उनले चुनावीसभामा भने ।

राप्रपा प्रजातान्त्रिकका महामन्त्रीसमेत रहेका उनले पार्टी हितविपरीत काम गरेको भन्दै पार्टी सभापति पशुपतिशम्शेर राणाले शुक्रबार साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका थिए । यस्तै, उनले प्रधानमन्त्री शेरबहादुर देउवालार्इ पत्र पठार्इ मन्त्रीबाट हटाउनसमेत आग्रह गरेका थिए ।

लामाले हिजो मात्रै चितवनको माढीमा भएको वाम गठबन्धनको सभालाई सम्बोधन गर्दै माओवादी उम्मेदवार प्रचण्ड र एमालेका उम्मेदवारलाई भोट मागेका थिए ।

कोटेश्वरमा आज भएको चुनावी सभामा पनि उनले मुलुकमा राजनीतिक स्थायित्व,विकास र समृद्धिका लागि वाम गठबन्धनलाई बहुमत दिलाउनुपर्ने बताए ।

सभामा एमाले नेता तथा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि उम्मेदबार बनेका माधवकुमार नेपाल, माओवादी नेता लीलामणि पोखरेल, प्रदेश सभाका उम्मेदवार कुमार पौडेललगायतले पनि सम्बोधन गरे ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । नयाँ शक्तिका निर्वाचन क्षेत्र नम्बर २ का संयोजक युधीष्ठिर बानियाँसमेत एमाले प्रवेश गरे । यसअघि हिजो सोही क्षेत्रका प्रतिनिधिसभातर्फका उम्मेदवार गणेश सिंखडा पनि एमाले प्रवेश गरेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार