प्रहार न्युज

आखिर किन मोह भंग हुँदै छ ? स्वामी आनंद अरुण र यिनि बाट संचालित ओशो आश्रमको !

काठमान्डौ – सन् २००० तिरको कुरा हो मेरो एउटा साथी कान्तिपुर पत्रिकामा काम गथ्र्यो । उसले ओशोको एउटा किताब ‘आँखोँ देखि सच’ पढ्न दियो । त्यो एउटै किताबले मलाई ओशोको प्रेमी बनायो । उनीप्रतिको झुकाव एकदमै बढेर गयो । मलाई त्यो साथीले थप ज्ञान र सत्सङ्गका लागि ओशो तपोवनमा जाने सल्लाह दियो । मैले यो कुरा घरमा भने । मेरो भाइलाई चित्त बुझेन । उसले भन्यो – ‘‘दिदी तपोवनमा त मान्छे केटी लिएर जान्छन् । त्यहाँ त सबैजना नांगै बस्छन् । त्यस्तो ठाउँमा पनि कोही जान्छन् ।” मैले भाइको कुरा मानें र तपोवन जाने इच्छा त्यागेँ । तर ओशोप्रतिको मेरो विश्वास, श्रद्धा र समर्पण घटेन बरु बढ्न थाल्यो । मेरो व्यावसायिक जीवन र आध्यात्मिक रुचि साथसाथै चल्दै थियो। सन् २००४ मा मैले अर्को किताब पढें ‘द आर्ट अफ डाइङ’ । त्यस बखत म सेभ द चिल्ड्रनमा काम गर्थें । त्यहीका एक सहकर्मीले सो किताब पढ्न दिएका थिए । मैले ३ – ४ दिन लगाएर त्यो किताब पढिसकेँ । सो किताबले मलाई फेरि एकचोटी अध्यात्मको बाटो पहिल्याउनभित्रै देखि प्रेरित गर्यो । वास्तवमा यो दोस्रो पुस्तक पढेपछि म आत्मग्लानिहरूबाट मुक्त भएकी थिएँ र मेरा मनमा आउने धेरै प्रश्नको जबाफ पाएझैँ अनुभूति पनि भयो । एक प्रकारको जीवन जिउने कलाको विकास भयो । त्यो किताब दिने साथीले भन्यो – तिमी ओशोको सोचबाट अत्यधिक प्रभावित भएकी हौ भने एकपल्ट तपोवन जाऊ । आफू एक दुईपल्ट गएर आएको तर त्यहाँको वातावरण अलि उच्छृंखल लागेकोले उनलाई फेरी जान मन लागेनछ । उनीसँग त्यहाँ जाने अनुयायीले लगाउने गाउन पनि रहेछ । सो पनि मैले उपहार पाएँ । अब मलाई तपोवनले निम्त्याइसकेको थियो । म जसरी पनि मेरो आध्यात्मिक मुक्तिको स्वर्गमा जान लालयित भइसकेकी थिएँ । तपोवनको वेब साइटबाटै एउटा ध्यान गर्ने शिविरमा आफ्नो नाम दर्ता गरेँ र तपोवन पुगेँ । त्यहाँ पुग्दा साँच्चै कल्पनाको संसारमा पुगेको अनुभव गरेँ । ‘ओहो, अहिलेसम्म म कहाँ भुलिरहेको रहेछु, यस्तो निःस्वार्थ माया, प्रेमले भरिएका यति धेरै मानिसको जमघट यता रहेछ, म अन्तै कतै यही खोजेर समय बर्बाद गर्दैथिएँ ’ भनेजस्तो भयो । आफू सानो छँदा आमाले कृष्णलीला गाएको र आफू छमछमी नाचेको सम्झेँ । त्यहाँको वातावरण मेरो बाल्यकालमा सुनेका मीरा भजन, अनेक धार्मिक राग, भजन, गजल आदिसबै स्मृतिपटलमा आउन थाले । हामी सानो छँदा मामाघरमा पनि कृष्ण र साईबाबाको भजन चलिरहन्थ्यो । त्यसैले होला यस्तो वातावरणले मलाई अत्यन्त मोहित बनायो । तपोवन आउनु पहिले पनि विपश्यना गएर आफूलाई चिन्ने कोसिस गरेकी थिएँ । वास्तवमा म दुईपल्ट विपश्यना गएकी थिएँ । तर, यहाँ आएपछि मैले बुझेँ जिन्दगीको धुनसहितको क्रियाशील ध्यानले मलाई बढी मोहित बनाउँदो रहेछ ।

 

त्यसपछि युके एडबाट कामको सिलसिलामा धनकुटा गएँ । त्यहाँ पनि ध्यान केन्द्र खोज्न थालेँ । तल्लो कोप्चेमा एउटा मण्डली रहेछ । त्यहाँ हामी योग र ध्यान गर्न थाल्यौँ । धनकुटाका स्थानीय वासिन्दासँग बसेर रमाइलोसँग योग गर्ने र आफ्नो स्वासलाई हेर्ने ध्यान (आनापान) पनि गर्न थालियो । गोष्ठी आदि हुँदा विराटनगर जानुपर्ने हुन्थ्यो । त्यहाँ पनि देवकोटा चोक नजिक ध्यान केन्द्र भेट्टाएँ । सो केन्द्रमा गएको दिन ओशोको जन्मदिन परेको रहेछ – केक खुवाए । त्यस स्थानमा पनि सबैजना माया, प्रेमले भरिपूर्ण देखेँ । मलाई ओशोप्रतिको आशक्ति बढ्दै नै गयो । अब, दसैं र तिहारजस्ता लामा छुट्टी मैले ओशो तपोवनमा नै बिताउन थालेँ । मलाई सधै ध्यान हल सफा गर्ने जिम्मा दिइन्थ्यो । म तन, मन र धनले हल सफा गर्थेँं र खुसी हुन्थेँ । सधैँ सकभर राम्रो र ठूलो कपडा किनेर लग्थेँ र ध्यान हलको एक एक कुना राम्रोसँग पुछेर टलक्क टल्काउन कोसिस गर्थेँ । यसरी काम गर्दा को धनी, को गरिब, को लोग्नेमान्छे, को स्वास्नीमान्छे, को हिन्दु, को मुसलमान, को क्रिस्चियन सबै समान हुन्थे । सबैले काम गर्थे, एकै प्रकारको र एकै रंगको गाउन लाउँथे र खुसी प्रकट गर्थे । मलाई त स्वर्ग भनेकै यही हो जस्तो लाग्थ्यो । मेरो धर्मलाई हेर्ने सोच नै बदलिन थालेको थियो । यहाँ सुफी, कविर, इसाई, मुस्लिम सबै प्रकारका भजन बज्थे र सबैलाई समान भावले ग्रहण गर्थेँ अनि मन्त्रमुग्ध हुन्थेँ । मेरो तपोवनप्रतिको लगाव झन् बढेर गयो । म तपोवनसँग तन, मनले जोडिइसकेकी थिएँ । सन् २००६ मा ध्यान गर्नका लागि ऋषिकेश र पुरी गएँ । मैले ऋषिकेशमा अरुण स्वामीसँग दिक्षा लिएँ । त्यसपछि अरुण स्वामी मेरा मार्गदर्शकजस्ता भए । त्यसबेला मलाई ओशोले पहिले कसैलाई दिनु भएको नाम ‘मा बोधी सुजाता’ नाम दिइयो । त्यो मेरो लागि दोस्रो जन्म बराबर थियो । मैले यो नाम आफ्नो हातममा ट्याटु गरेकी छु । यो नाम मेरो छोरालाई पनि एकदम मनपर्ने रहेछ । उसले पनि आफ्नो नाम ‘बोधी’ राखेछ । तर, समय क्रममा मैले विकृति देख्न थालेँ । ओशो आश्रममा देखिएका कुरामा आफैमँलाई प्रश्न गर्न थालेँ । मैले आफैँलाई फरक ढंगले हेर्न सिकाउन थालेंँ । यसको सुरु पुरीको साधना शिविरबाट भएको हो । त्यहाँबाट मलाई निकै मिश्रित सोच आउन सुरु भयो । त्यसको थालनी केही सन्यासीसँगको यात्राबाट भएको सम्झन्छु । आश्रममा जतिखेर पनि हाँसीरहने, सहयोगी र उन्मुक्त व्यक्तिहरू आश्रम बाहिर फरक व्यवहार देखाउँदा रहेछन् । यो एउटा नमीठो अनुभव भयो । उनीहरु मुख्य स्वामीको नजिक बस्ने हुनाले हामीलाई अलि बाहिरको वा तल्लो स्तरको ठान्दा रहेछन् जुन तिनले आश्रम बाहिर व्यवहारमा प्रत्यक्ष देखाए । साधनाको गहिराइ र प्रेम बढ्दै गएसँगै मान्छे आफू र अन्य विषयवस्तुप्रति पनि सजग र सावधान हुन्छ । चेतनाको स्तर विकाससँगै मेरा आँखाले क्रमशः त्यहाँका विकृति र विसंगति देख्न थाले । आँखा खुलेपछि म झसङ्ग भएँ । वास्तवमा ठूला पदमा बसेका स्वामीमा ढोंगको मात्रा बढेर गएको देखेँ । उनीहरू व्यक्तिगत स्वार्थमा लिप्त रहेछन् र आफ्नो विरोधमा बोल्नेलाई नराम्रो तरिकाबाट आश्रमबाट च्युत गर्ने गर्दा रहेछन् ।

 

अनि पुरानो कुरा पनि थाहा हुँदै गयो । आश्रम त पूरै राजनीतिबाट चल्दो रहेछ । प्रेम र सद्भावको कुरा गर्ने स्वामी आनन्द अरूणको पहिलो विवाह सम्बन्ध बिच्छेद भएको रहेछ । उनका तीन छोराछोरी कहिल्यै तपोवन आएको भेटिएनन् । प्रेम विवाह गरेको दोस्री पत्नीलाई आश्रमभित्र अलग कोठामा राखी अपमानित गरेको र आफू आसेपासेसँग रमाएको देखेँ । संत्संगहरूमा स्वामी आनन्द आफूलाई सधैँ कुमार नै भनी प्रचारप्रसार गर्नुहुन्छ । यस्ता घटनाले मेरो ओशोप्रतिको विश्वास नै डगमगाउने अवस्थामा पुग्यो । अनि मेरो तपोवन जाने क्रम लगभग बन्दै भयो । करिब १२–१४ वर्ष अगाडि अहिलेका ओशो तपोवनका हर्ताकर्ता स्वामी आनन्द अरुणले आफ्नो बीडीए भन्ने कम्पनीका १० जना स्टाफलाई आफ्नो पक्षमा पारेर आफैँलाई आचार्य घोषित गरेका रहेछन् । त्यसपछि बिस्तारै आफैँलाई बोधिसत्व भन्न थालेछन् । यसरी आफैँ बोधिसत्व हुने कुराको विरोध गर्ने शान्ति मा र गोविन्द नारायण भारतीलाई क्याम्प संचालकबाट निकालेका रहेछन् । यसभन्दा अघि नै उनले तपोवनको सुरूमै जमिन किन्न सहयोग गर्ने जापानी सन्यासी, अनुराग र वासुदेव लामिछानेलाई दलबल लगाएर हटाई आफू मठाधीश भइसकेका रहेछन् । त्यस समूहले ओशो धार भन्ने छुट्टै संस्था खोलेर बसेको छ । पोखराको उपवनमा एउटा निकै ठूलो घर बनेको रहेछ । करिब पाँच करोड खर्च गरेर बनाएको यो आश्रम व्यापारी महतोको भन्दा रहेछन् । आश्रमभित्र सबै समान हुनुपर्नेमा धनीको त्यत्रो आश्रम किन भन्ने प्रश्न मनमा आयो, कसैले भन्यो लुम्बिनीमा पनि उनको ठूलै घर छ । अझ आश्चर्य त के छ भने उनी ओशो सन्यासी समेत होइनन् । यसरी सबै समान हुने स्थानमा अरुण स्वामीले विस्तारै उचनिचको व्यवहार देखाउन थाले । पोखरामा आफ्नै नाममा घडेरी पाइन्छ भनेर आठ वर्ष अघि १० लाख बुझाएका एक बेलायत निवासी नेपाली सन्यासीलाई आश्रम प्रवेश नै गर्न नदिएको विषयमा पनि चर्चा चल्दो रहेछ । तपोवन र स्वामी आनन्द अरूणको ‘साम्राज्य’ विस्तार गर्ने क्रममा जीवित अरूण स्वामीले आफ्नै चिहान र मूर्तिमात्र बनाएका छैनन् बरु भजन मण्डली नै बनाएर ध्यानको समयमा “जय जय अरूण स्वामी” भन्ने भजन बजाउन थालेका छन् । यो सदगुरू ओशोको देशना विपरीत हो । यो कामले नेपाल, भारत, रसियालगाएतका मुलुकमा उनको विरोध सुरु भयो । काठमाडौंका ठूलाबडा सबैले अरुण स्वामीलाई चिनेका छन् । आश्रममा त कुनै भेदभाव हुनु नहुने हो तर त्यहाँका हर्ताकर्ता स्वामी नै ठूला मान्छेका पछि लाग्छन् । एकताका लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख हुँदा उनको बोलबाला थियो । कार्की आएर घन्टाैं भाषण गर्न थाले । शक्तिशाली र धनी व्यक्तिलाई त आरती गरेर भित्राउने चलन चल्यो । राजा ज्ञानेन्द्र पनि आरती लिएर आश्रममा प्रवेश गरेका थिए । भारतका कति हो कति शक्तिशाली व्यक्तिलाई यसरी आश्रममा प्रवेश गराइएको छ । यसबाट उनले ठूलै लाभ हासिल गरेको हुनुपर्छ । सरकारबाट ठूलो सहयोग रकम प्राप्त गरी, जंगल फडानी गरेर पुल र आलिसान महल बनाई रू ७० लाखमा एउटा कोठा बेच्न थाले । आज तपोवनमा एक रात बसेको रू १० हजार रुपियाँसम्म पर्ने गरेको सुनेकी छु ।शक्तिकेन्द्रलाई पुज्नुको अर्को कारण शिवपुरी राष्ट्रिय निकुञ्जले वन फँडानीमा चलाएको मुद्दासमेत हो । तपोवनले सय रोपनीभन्दा बढी जमिन भोग चलन गरेको छ र लालपुर्जा २७ रोपनीको मात्र भएको भनिन्छ । त्यो त निकुञ्जले निक्र्योल गरिहाल्ला ।

 

हालैको वर्षमा आश्रमभित्र भारतीय सन्यासीलाई कुटपिटपछि प्रहरीलाई बुझाइएको र अपमान सहन नसकी उनले आत्महत्या गरेको फाइल प्रहरी कार्यलयमा बन्द गरेर राखिएको छ । आफूलाई पूर्व जन्मका बिहारी राजा बताउने अरुणको कार्यशैली हाल अनौठो छ । गुरू सेवाका नाममा सन्यासी नव युवालाई २ हजार – २२ सय दिएर महिनाभरी काम गराएको, अशक्त भएपछि आश्रमबाट निकालिएको, भक्तिनीबाट गोडा मिच्न लगाएको, त्यहाँ बस्ने सन्यासीका तीन तीन जोडीलाई एउटै कोठामा अटी नअटी बस्नुपरेको, विरोधीलाई आश्रमबाट निकाली दिएको जस्ता घटनाले मलाई साँच्चिकै चोट परेको छ । अझ कतिपय यौन शोषणका कुरा पनि छन् । तर ती विषयमा शोषित हुने व्यक्ति आफैँ अगाडि नआएको हुनाले आफूलाई चित्त नबुझे पनि यहाँ पीडक र पीडितको नाम लेख्नु मिलेन । यस्तो शोषणबाट पीडित धेरै सन्यासी र सन्यासिनीले आश्रम छाडेर बसेका छन् । तर, तपोवनको विषयमा एक शब्द बोल्दैनन् । किनभने उनीहरूलाई समाजले ‘तँलाई ठिक्क पर्यो’ भन्ला भन्ने डर छ  ।

 

यतिका अमानवीय व्यवहार देखेर सुनेर पनि म चुपै थिए । तर, एउटा नयाँ घटनाले भने विद्रोहको आगो चर्कायो ।
हालै अरूणको निमन्त्रणामा भारतबाट आएका अशोक भारतीविरुद्ध पुरै तपोवनका उनका आफ्ना मान्छे उल्टिएर घृणित व्यवहार गरी उल्टै प्रेस विज्ञप्ति निकालेर हामी सबै सन्यासीहरूको स्वतन्त्रतामा आँच आउने काम गरेकाले यो सबै कुरा जनता सामु ल्याउने हिम्मत गरेकी हुँ ।
अहिले तपोवनको विरोधमा फेसबुकमा केही लेख्नेलाई समेत धम्की दिन थालिएको छ । यस विषयमा केही सन्यासीहरूले प्रहरीमा गएर गुनासो गरिसकेका रहेछन् । “म गुरू हैन तिमीहरूको मित्र हँु” भन्ने भगवान रजनीशकी शिष्या भएकीले डर, धाक र धम्की भन्दा माथि उठेर आफ्नो मोहभंगको कथा लेखेकी हुँ । आउने दिनमा सही रूपमा ओशो नेपाली जनतामाझ चिनिनु हुनेछ भन्ने आशा छ । नेपालमा पनि आशाराम, रामरहिमहरूकै जस्तो यौन दुराचारका समाचार सुन्न नपरोस् । आश्रम एउटा स्वच्छ आश्रमको रुपमा रहोस् र पवित्र मन लिएर अनुयायी बन्ने शिष्यशिष्याको मोहभंग नहोस् । यो लेख आश्रम र ओशोका अनुयायीको हितको सम्बन्धमा अन्तिम होइन पहिलो हो । सबैको साथ र सहयोगको आशा गरेकी छु ।

साभार : baahrakhari

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology