मनमा पनि बलोस् दियो !


तिहारलाई दीपबत्ती र प्रकाशको चाड भनिन्छ। मनुष्यका निम्ति उज्यालोको महत्व अन्य प्राणीभन्दा बढी छ। पशुपक्षीका लागि उज्यालोको प्रयोग आफ्नो अस्तित्व रक्षा र जीवनयापनमा सीमित हुन्छ तर मनुष्य प्रजातिका लागि यो व्यापक क्षेत्रमा फैलिएको छ।मान्छेबाहेक अधिकांश प्राणीका मनमा के गरौं, के नगरौंजस्ता प्रश्न कहिल्यै उठ्दैनन् । किनभने उनीहरू आफ्नो जन्मजात वृत्तिका आधारमा मात्र जीवनयापन गर्छन् । बाघको बच्चा कहिल्यै सोच्दैन–ठूलो भएपछि म राम्रो बाघ बनूँ वा घरपालुवा बिरालोको पेसा अपनाऊँ।

यही कुरा मानिसको हकमा भने भन्न सकिन्न। मान्छेलाई आफ्नै मस्तिष्क र सोचाइको उचित व्यवस्थापन गर्न हम्मेहम्मे पर्छ। बरु अन्य जनावर मनको व्यवस्थापनबारे बढी स्पष्ट छन्।
कुन विषयमा के गर्ने, के नगर्ने, के खाने के नखाने प्रश्नमा न बाघलाई कुनै भ्रम छ, न खरायोलाई। तर, मान्छे आफ्नो जीवनका कैयौं विषयमा प्रायः जीवनभरि दोधार र भ्रमको पिङमा त्यस्सै यताउता मच्चिरहेको हुन्छ।
जुन जीवको मगज जति विकसित हुन्छ, दोधार र दोमनको सम्भावना पनि त्यत्तिकै अनुपातमा बढी हुन्छ। त्यसैले त आजको मान्छेका कतिपय दुःख, उसकै विकसित क्षमताका कारण पनि उत्पन्न भएका छन्।
मनुष्यको मस्तिष्क र सोच एकातिर अपार सुखद सम्भावनाको स्रोत हो भने अर्कोतिर समस्या दुःखको कारक पनि । हिजोआजका मानिसहरू यो दुःखलाई तनाव, चिन्ता, डिप्रेसन, पागलपनजस्ता नामबाट प्रकट गर्छन् ।
कसैले केही नगर्दा नगर्दै पनि कोही दुःखी हुन्छ भने त्यसबेला उसले अरूलाई होइन, आफ्नै सोचलाई दोष दिनुपर्ने हुन्छ । कतिपय अवस्थामा आजको मान्छेले आफ्नो सोचलाई आफ्नै विरुद्धमा काम गर्न पनि खटाइरहेको अवस्था छ । यो समस्या समाधानको प्राथमिक आवश्यकता हो- दृष्टिकोणमा प्रस्टता।

सुस्पष्ट दृष्टिकोणका निम्ति उज्यालो अनिवार्य छ। उज्यालो भन्नु नै स्पष्टता हो । उज्यालो भनेको झिलिमिलीको ठुल्ठूलो चमकधमक मात्र होइन। मनमा अन्धकार पालेर बाहिर बत्ती बाल्नुको खासै अर्थ हुन्न। झिलिमिली झिल्ला र मनोरञ्जन मात्र होइन, दीपावली पर्वको मर्म।
संसारका कैयौं देश गरिब छन्। गरिबी आफैंमा कुनै समस्या होइन । यो त सूचक मात्र हो । यस्तो सूचक जसले जनाउ दिन्छ- त्यो देशको सोच र कर्म अस्पष्ट, दोधारे र दुईजिब्रे छ । जबसम्म सोचमा उज्यालो (स्पष्टता) को दियो बालिँदैन, तबसम्म समाजमा गरिबी कायमै रहन्छ । दीपावलीको दियोले हामीलाई स्पष्टताका निम्ति प्रोत्साहित गर्न सक्नुपर्छ।
जीवन भनेको समय र ऊर्जाको युगल नृत्य हो । हामी सबैसित जीवनमा निश्चित समय छ र निश्चित ऊर्जा। हामी चाहे अल्छि गरौं या नगरौं, धनी होऔं या गरिब– समय आफ्नै गतिमा हिँड्छ । घडीको चाललाई कसैले रत्तिभर तलमाथि गर्न सक्दैन।
समयको गतिलाई बदल्न नसकिए पनि त्यसको गुणस्तरलाई चाहिँ पक्कै प्रभावित गर्न सकिन्छ । हामी आ-आफ्ना दृष्टिकोण र कर्मलाई बढी उज्यालो बनाउन सक्छौं। बढी उज्यालो भन्नु बढी स्पष्टता हो।

उज्यालो भनेको अन्धकार र अस्पष्टताको अभाव मात्र हो। साँच्चै भन्ने हो भने अन्धकार र उज्यालो दुई अलग–अलग अस्तित्व नै होइनन् । एकै अस्तित्वका दुई नाम हुन् ती।दीपावलीमा बालिने बत्तीहरूको ठूलो सांकेतिक महत्व छ। दीपावलीको महत्ता हाम्रा घर आँगन गाउँ शहरमा बालिने बत्तीको झिलिमिली मात्र होइन। आफ्नो मनको अज्ञानता, क्रोध, ईष्र्या, घृणा, डर र अभावको अन्धकारलाई ज्ञान, करूणा, प्रेम, साहस र पूर्णताको दियोले प्रतिस्थापित गर्ने संकल्पको दिन पनि हो।

सबै घरमा मात्र होइन, मनमा पनि बलोस् दियो।
दीपावलीको शुभकामना !

स्रोत: एजेन्सी, ओशो र सद्गुरुका प्रकाशन

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार