प्रहार न्युज

ल्होसार र गुरुङ समुदाय चिन्तन – सुरज गुरुङ

विविधतामा एकता नेपाली समाजको विशेषता नै हो । वास्तवमा विविधताभित्रको सहिष्णुता अझै पनि नेपाली समाजमा जिउँदै छ । विविधतालाई स्वीकार्न सक्ने गुण हरेक नेपाली जन्मजात रुपमै आएको हुन्छ । यसलाई खलबल्याउने दुष्प्रयासहरुलाई विफल बनाउन आम नेपाली सफल भएको इतिहास खोज्न धेरै टाढा जानुपर्दैन । बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक पहिचानले हामीलाई विशेष पहिचान दिएको कुरा बिर्सनु आफैँलाई बिर्सनु हो । यी सबैका बाबजुद यहाँ जातीय संस्कृतिको एउटा पाटोलाई उठाउने प्रयत्न गरिएको छ । त्यो पनि एउटा जातिभित्रको । स्पष्टै भनौँ गुरुङ समुदायको ।

गुरुङ समुदाय ! प्रिय पाठक, यो पदावली पढ्दा तपाईँको दिमागमा के कुरा खेल्यो ? म अनुमान गर्न सक्छु । लाहुरे, रमाइलो, भोजभतेर, नाचगान, विदेश वा यस्तै यस्तै अन्य सायद । अझ तपाईँ गुरुङ समुदायकै हुनुहुन्छ भने त आफैँलाई ती सबै कर्ममा सरिक भएको कल्पनासमेत गर्न भ्याउनुभयो होला । हो, आम रुपमा गुरुङ भन्नेबित्तिकै यस्तै ‘रेडिमेड’ धारणाहरु आइहाल्छन् व्यक्त वा अव्यक्त रुपमा । यस्तो हुनुमा जिम्मेवार को छ त ? के गुरुङ समुदायको मूल संस्कृति यतिमै सीमित छ त ? प्रश्न मूलतः गुरुङ समुदायका बुद्धिजीवीप्रति सोझिएको पाउँछु म । यसो भनौँ, म पनि त्यही समुदायको व्यक्ति भएकाले मतिर पनि सोझिएको महसुस गरेको छु ।
गुरुङ समुदायको महान् सांस्कृतिक पर्व ल्होसारको आगमन कुरेर बसेका छौँ हामी यतिखेर । ल्होसारको औचित्य भोजभतेर, नाचगान, पाहुना खाने÷खुवाउने वा रमाइलो गर्नेमा मात्रै सीमित छ त ? जसरी दसैँ अब टीका–जमरा वा मासुको मात्र पर्व रहेन, यो पर्व केही सिर्जनशील कर्म गर्ने पर्व पनि बनिसकेको छ । त्यसै गरी ल्होसारलाई पनि बनाउनेतर्फ सोच्न ढिलाइ गर्नुहुँदैन अब । गर्ने के त ? प्रश्न यो पनि आउन सक्छ ।
मूल कुरा हाम्रो सोचको हो । संस्कार वा संस्कृति सोचकै उपज हो । सोच परिवर्तन भयो भने संस्कार परिवर्तन गर्न सकिन्छ । चिन्तनमा परिवर्तनको खाँचो छ गुरुङ समुदायमा । ‘गुरुङ’को छोरा छोरीले नि के पढ्नुप¥यो र ?’ भन्ने जस्तो हास्यास्पद र ‘डेटएक्सपाएर’ ‘जोकिङ’मा हामी रमाइरहेका छौँ । हिजोका पण्डितहरुले ‘जँड्याहा’ जातका रुपमा चित्रण गरे । जाँड र रमाइलोमै भुलाएर राखेर हामीमाथि मुठीभरका समूहले शासन गरेको हामीले थाहै पाएनौँ । आज पनि त्यही सोच अधिकांश ‘हामी’मा विद्यमान भएको यथार्थ कतै छिपेको छैन । मानौँ, लाहुरे हुने, विदेश गएर काम गर्ने र रमाइलोमा खर्च गर्ने ठेक्का गुरुङकै मात्र हो । हामी यस्तै सोचमा अल्झिरहेका त छैनौँ ? सोचौँ एक पटक ।
पोखरा र सेरोफेरो गुरुङहरुको बाहुल्य भएको क्षेत्र हो । त्यसैले पनि होला सायद कतिपय राजनीतिक मुद्दा बोक्नेहरुले ‘तमुवान’ पनि भन्ने गरेका छन् यस क्षेत्रलाई । प्रदेश नं. ४ कै नाम तमुवान राख्ने बहस पनि भइरहेका यदाकदा सुनिन्छन् । यसलाई सकारात्मक रुपमै लिन सकिन्छ । तर हाम्रो समुदायलाई मख्ख पार्ने यस्ता कैयौँ मन्द विषमै हामी लट्ठ छौँ । गुरुङ समुदायका केही टाठाबाठा पनि हिजोका ‘पण्डित सोच’बाट माथि उठ्न नसकेका पो हुन् कि भन्ने पनि लाग्छ । होइन भने किन गर्दैनन् उनीहरु प्रयास ? उनीहरुको खेती कता फस्टाइरहेको छ ? गुरुङ समुदायका कति जना मानिस छन् राजनीतिक विश्लेषक, संस्कृतिविद्, साहित्यकार वा बुद्धिजीवीको ट्यागधारी ? यो प्रश्न निकै तिखो बनेर आएको छ आजभोलि । सङ््ख्याभन्दा पनि जति छन् तिनीहरुको वर्गीय पक्षधरता के हो ? उनै पुराना सोचका भरियाहरुको सेवा गर्ने हो कि आफ्नो समुदायका नयाँ पिँढीलाई मार्गदर्शन गर्ने हो ?

गुरुङ समुदायको उपस्थिति कुनै प्राज्ञिक कार्यव्रmममा हुँदैन । साहित्यिक कार्यव्रmम, शैक्षिक कार्यव्रmम, पठन संस्कृतिमा आधारित कार्यव्रmम वा बौद्धिक बहसमूलक कार्यव्रममा गुरुङहरुको उपस्थिति अत्यन्त न्युन सङ्ख्यामा भएको पाइन्छ । त्यस्ता कार्यव्रmम गुरुङ समुदायसँगै सम्बन्धित संस्थाले नै आयोजना गरेको किन नहोस् तर भोजभतेर होस्, नाचगान होस् वा अन्य रमाइला कार्यव्रmम होऊ्न त ! त्यहाँ सोचेभन्दा दोब्बर उपस्थिति हुन सक्छ । चाहे त्यसको आयोजक जोसुकै किन नहोस् । खै हामीले हामीलाई साहित्यतर्फ उन्मुख गराउन सकेको ? खै हामीले बौद्धिक वा प्राज्ञिक कर्मतिर आकर्षित गर्न सकेको ? पहिचान बाँच्ने भनेको लिखित इतिहासमा रहेछ । खै लिखित इतिहास निर्माणमा लाग्न सकेको हामी ? उल्टै अलिअलि लेखिएको इतिहास पनि मेटिँदै गएको विश्लेषण हाम्रै सीमित विश्लेषकहरुले गरिरहेका छन् । त्यति सुन्ने वा पढ्ने फुर्सद पनि हामीलाई छैन । हाम्रो समुदायका ‘थिङ्क ट्याङ्क’हरु के गर्दै छन् वा के ‘थिङ्क’ गर्दै छन् ? अबको कति पुस्तालाई रेमिट्यान्सको भरिया बनाउने विचार छ ? कति दिन मख्ख पर्ने कसैले ‘गुरुङ’ भनेकै भरमा । कहिले चिन्ने हामीले हाम्रो अस्तित्वमाथि खेलवाड गर्नेहरुलाई ?

यस पटकको ल्होसारमा प्राज्ञिक कर्ममा लाग्ने प्रेरणा सबैलाई प्राप्त होस् भन्ने शुभकामना । खास गरी गुरुङ समुदायकै हितका लागि काम गर्ने सोचसहित स्थापित सङ्घ÷संस्थाहरुको ध्यान केवल ¥याली, भोज, नाचगानभन्दा माथि उठेर जीवनको अभिन्न पाटो मानिने कला, साहित्य, संस्कृतिको स्वस्थ विकासमा टेवा पु¥याउनका लागि गरिने प्रयासमा पुगोस् । सके आफैले, नसके अरुले गरेको कर्मलाई साथ र सहयोग गर्ने सोचको विकास होस् भन्ने शुभकामना व्यक्त गर्दछु । आशीमाला ।

 

 भोर्लेटार, लमजुङ

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology