प्रहार न्युज

  • १४

मणिरत्नको भत्केको घर…

२०७२ साल बैशाख १२ गते नेपालको अधिकांश जमिन हल्लेको दिन । त्यो दिन सम्झिदा मलाई झसंग हुन्छ । त्यो कालो दिन थियो नेपाल र नेपालीका लागि । केही अवसरवादीका लागि राम्रो अवसर बन्यो त्यो दिन । जो हुने खाने पहुँचवाला थिए उनीहरुका लागि त्यो दिन ठिकै थियो किनभने त्यो दिनले निम्त्याएको बिपत्तिको घाउमा मल्हमपट्टि लगाउनका लागि देश विदेशबाट भएको सहयोगको चाङमाथि बहेली खेल्न पाए उनीहरु । बैशाख १२ को त्यो कालो दिनले सबैभन्दा धेरै देशका दुःखी गरिबको दिल दुखाएर गयो । एक दिन मात्रै हैन पटक–पटक गरेर त्यो दिनले दुःखीहरुको मुटुमा लागेको घाउमा घोचिरहयो । चित्कार मन मराउनेहरुका लागि त्यहिँ दिनले राम्रो अवसर प्रधान ग¥यो । गरिबहरु रोई कराई गरिरहे किनभने आधा जमिन हल्लाएको त्यो दिनले गरिबका झुपडीहरु बाँकी राखेन । हुनेखानेका महलहरु सामान्य चर्किए भने गरिब दुःखीका झुपडीहरु प्रयोग गर्न नमिल्ने गरी भत्किए । देशका १६ जिल्लामा सबैभन्दा धेरै प्रभाव पारेको भुकम्पले देशको राजधानी काठमाण्डौदेखी दुर्गम गाउँहरुमा समान व्यवहार देखायो जुन व्यवहारको मारमा हुनेखाने परेनन्, हुँदा खानेहरु परे । तीनै हुँदा खाने अझ भनौ एक छाक टार्नको लागि बुढ्यौली शरीर लिएर अपाङ्ग छोरो लतार्ने एक पात्र हुन मनिरत्न पाध्या ।
बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका पाध्या आठ दशक पार गरिसकेका छन् । सन्तानका नाममा एक छोरा मात्रै रहेका पाध्याको घरमा अहिले उनी, उनकी धर्मपत्नी र अपांग एक छोरा, बुहारी छन् । उमेरले नेटो काटेमा बुढाबुढी अनि नेपाल सरकारले तोकेको मापदण्ड अनुसार रातो कार्ड र निलो कार्ड पाएका छोराबुहारी दुबैले काम गर्न सक्दैनन् । यसै पनि बुढ्यौली शरीर त्यसमाथि पनि बैंशमा निकै दुःख गरेकाले उनको शरीर पिँडीको डिलमा बिसाउनको लागि योग्य भैसकेको छ तर कहिलै पिँडीको डिल छोड्न नसक्ने अवस्थामा रहेका छोराबुहारी देखेर उनको शरीर बिसाउ मान्दैन र त उनी लत्रिरहेका हुन्छ एक छाक जोहो गर्नका लागि । पाध्याको घर २०७२ साल बैशाख १२ गतेको भुकम्पले भत्कायो । उनको मात्रै हैन गाउँका धेरैको घर भुकम्पले भत्काएको थियो । कतिपय गाउँलेहरु भुकम्पले घर भत्काएका कारण त्यहाँबाट बिस्थापित भए, कतिपयले पुनः घर बनाए । जसको क्षमता थियो उनीहरुले घर बनाएका छन् । जसको अन्यत्र जाने ठाउँ थियो उनीहरु बिस्थापित भए जग्गा जमिन भएको ठाउँमा गए । तर पाध्याको भने कुनै उपाय थिएन । त्यसैले भत्केको घरलाई आँफै सजसाज गरेर अहिले त्यहीँ घरमा बस्दै आएका छन् ।
जीवनमा निकै लामो संघर्ष गरेर बनाएको घर भत्किँदाको दिन उनी भक्कानो छोडेर रोएका थिए । खेतीपातीको नाममा दश पाथी मकै फल्ने बारी र थोरै खेत मात्रै छ उनको । अनि सानो पाखो छ । खेतीपातीले खान नपुग्ने भएकाले उनले जिन्दगीभरि ज्याला मजदुरी गरेर परिवारको पालनपोषण गरे । सानो पाखोमा केही सालका रुखहरु थिए । तीनै रुख बेचेर आएको थोरै पैसा र ज्यालादारीमा काम गर्दाको छाक टारेर बँचेको पैसा जोगाएर उनले सानो घर बनाएका थिए । ठुलो सपना देखेर ओत लाग्ने ठाउँ बनाए भोक मेट्ने बाटो होलानी भनेर बनाएको घर भत्कियो । भत्केको घर बनाउन अब उनीसँग कुनै उपाय छैन् । टालटुल गरेर बस्ने बाटो मात्रै बनाएका छन् तर घामपानी राम्रोसँग ओत्ने अवस्था छैन् । भुकम्पका बेला देशभर भत्केका घरहरुको राज्यले लगत संकलन ग¥यो । भत्केका घर बनाउनका लागि राष्ट्रिय पुनः निर्माण प्रधिकरण गठन गरेर काम अगाडि बढाईएको छ । देशभर अहिले पहिलो किस्ताको रकम बुझेर भुकम्पका पीडितहरुले घरको जग बसालेका छन् । लगत संकलन गर्ने बेला टाँठाबाँठाहरुले सामान्य चर्केको घर पनि पुर्ण क्षतिग्रस्त घरको रुपमा सूचीकृत गरे केही भत्केका घरहरु परेभने केही समान्य गोठहरुलाई पनि घरको पहिरन लगाएर भत्काईयो र भत्केका घरहरुमा सूचीकृत गरियो । स्थानिय सरोकारवाला राज्यका निकायहरुले पाध्याको घर भत्केको देखेनन् । टिनको छानो काठले अड्याएर बनाईएकाले उनको घरको छानो भत्केको थिएन् । उनका बोल्दिने मान्छे कोही भएनन् । राजनीतिक पहुँच राख्न सक्ने अवस्थामा उनी थिएनन् । छानो नपल्टेको निहुँमा उनको सबै गाह्रो भत्केको घरलाई समान्य क्षतिको सूचीमा राखियो र राज्यले प्रदान गर्ने राहतबाट बन्चित गरियो । घर भत्केको केही दिनपछि नेपाल रेडक्रस सोसाईटी जिल्ला उप–शाखा कुश्मीशेराले त्रिपाल दिएको थियो उनलाई अनि गाउँ विकास समितीको कार्यालय कुश्मीशेराबाट ५ हजार रुपैयाँ रहात रकम उनले पाए । गाविसले दिएको ५ हजार रुपैयाँ नै उनको भत्केको घरले पाएको अन्तिम राहत रकम बन्यो । यसैपनि कमजोर आर्थिक अबस्था बयोबृद्धा र अपांगता भएका ब्यक्तिको परिवार भएकाले राज्यको ध्यान त्यहाँ पुग्नु पदथ्र्यो त्यसमाथि पनि भुकम्पका प्रभावित भएर पनि उनको परिवारका राज्यको नजर पुगेन् । देशभर पिडाको भुमरी चलेका बेला राज्यका निकायहरुले गर्नुपर्ने काम धेरै थिए होला । सबै क्षेत्रमा राज्यको उपस्थिती नभएको पनि हुनसक्यो तर उनको घरलाई नत स्थानिय राजनीतिक दल नत गैह्रसरकारी संघ संस्था न त स्थानिय समाजसेवीले नै नजर लगाए । आसपासमा सबैका घर भत्केका थिए दाजुभाईले सहयोग गरुन भने उनका कान्छा भाईको घर समेत आधा भत्केको थियो उनीहरु आफ्नै घर बनाउने धुनमा लागे । छरछिमेकीले उनको घरलाई टालटुल पारेर बस्न मिल्ने बनाउनतिर लागे । लामो समय बित्यो राज्यको नजरमा उनको घर निकै कम प्रभावितमा प¥यो अनि उनी राज्यले उपलव्ध गराएको राहत पाउनबाट बन्चित भए । लामो समयको रस्साकस्सी र राजनीतिक भागबण्डालाई मिलाएर बनाईएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले काम थालेको छ । देशभर यतिबेला पहिलो किस्ताको रकम पाएका आम पीडितहरुले दोस्रो किस्ताको रकमका लागि आवश्यक प्रकृया थालनी गरिसकेका छन् । यो अवस्थामा आईसक्दा मनिरत्न जस्ता हजारौ असहायहरुको घरमा अझै पनि राज्यको आँखा परेको छैन् । सामान्य चर्केका हुने खानेका घरहरुलाई आँखा चिम्लेर पैसा बाँडिरहेको राज्यले दिन दुःखीहरुको उठ्न नसकेको घरलाई देखोस् । सके मनिरत्न जस्ता नागरीकहरुको घर राज्यले बनाई दियोस, उनलाई गासबास र कपासको ग्यारेण्टी गरियोस । यदि त्यसो गर्न नसकेता पनि देशका अन्य पीडितले जस्तै उनले पनि न्याय पाउने वातावरण मिलाउन जरुरी छ । भुकम्पको बेला भत्केको घर छिमेकीको सहयोगमा माटाको मक्कल बनाएर उनले पुनः निर्माण गरेका छन् । अब त्यो घर बनिसकेको भनेर राज्य जिम्मेबारीबाट नभागोस् । समय र परिवेश नमिलेका कारण उनी पीडितको सूचीमा छुटेका होलान तर उनी पीडित हैनन भन्ने होईन । यदि राज्यले सूचीमा सूचीकृत नभएको नागरिकको लागि पुनः निर्माणको कार्यक्रममा सहभागी गराउन नमिल्ने अवस्था होभने स्थानिय सरकारले उनले घरको मर्मत गर्दा लागेको खर्च स्थानिय स्रोतमार्फत भए पनि जोहो गर्नु आवश्यक छ । पाध्याको भत्केको घर जस्ताको त्यस्तै बनाएर उठाउन त उनले सकेनन् तर सामान्य टालटुल गरेको घर हेरेर उनले भत्केको मनलाई उठाएका छन् । पाध्याको बिस्तारै निको हुँदै गरेको मनको घाउमा नुन र अमिलो हैन मल्हम पट्टिको व्यवस्था गर्नका लागि सर्बसाधारण, नागरिक समाज, पेसा व्यवसायी, सरकारी तथा गैह्रसरकारी संस्था लाग्ने कि ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology