प्रहार न्युज

कैलालीमा पुष्पखेतीको थालनी

लम्की – कैलालीमा पहिलो पटक व्यावसायिक पुष्पखेती शुरु गरिएको छ । टीकापुरका सीताराम चौधरीले १० कट्ठा जमीनमा सयपत्री फूलको व्यावसायिक खेती थाल्नुभएको हो ।चौधरीले चितवनको पाख्रिन नर्सरीबाट ११ हजार बेर्ना ल्याई पुष्पखेती गर्नुभएको हो । उहाँले प्रतिबिरुवा रु पाँचमा खरीद गर्नुभएको हो । “थप जग्गा भाडामा लिई अन्य जातका फूलको खेती गर्ने योजना छ,” उहाँले भन्नुभयो । गत साउन दोस्रो साता लगाएको फूलको बिरुवाबाट ४५ दिनमै फूल बिक्री गर्न थालेको चौधरीले बताउनुभयो ।

“एउटा बोटबाट तीनदेखि पाँच माला बनाउन सकिन्छ,” चौधरीले भन्नुभयो । एउटा माला रु ६० देखि रु ८० सम्ममा बिक्री भइरहेको छ । तरकारीभन्दा फूल बिक्रीबाट बढी आम्दानी गर्न सकिने उहाँ बताउनुहुन्छ । टीकापुरसहित जानकी, लम्की, भजनी, जोशीपुरलगायतका क्षेत्रका बासिन्दा फूल किन्न आउने गरेका छन् । “एक सातामा ३०० जति माला बिक्री हुन्छ,” चौधरीले भन्नुभयो ।चौधरीले रु एक लाख २५ हजारको लागतमा पुष्पखेती गर्नुभएको हो । बिरुवाबाट चार महीनामा रु चार लाखसम्म आम्दानी गर्न सकिने उहाँ बताउनुहुन्छ । पुष्पखेतीबाट मनग्य आम्दानी गर्न सकिनेमा उहाँ ढुक्क हुनुहुन्छ । बजारको सम्भावना देखेर जग्गा भाडामा लिई पुष्पखेती गर्ने सोच उहाँले बताउनुभएको छ ।“यहाँ उत्पादन भएको फूल स्थानीयस्तरमै खपत भइरहेको छ,” चौधरीले भन्नुभयो । टीकापुरलगायत यस क्षेत्रका साना ठूला बजारमा हुने विभिन्न कार्यक्रमका लागि टीकापुरबाटै सयपत्री फूल खरिद गर्न थालिएको छ । “यस क्षेत्रमा पहिलो पटक पुष्पखेती शुरु गरिएको हो,” टीकापुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पर्शुराम चपाईले भन्नुभयो, “दैनिक ५० देखि १०० मालासम्म खपत हुन्छ, बजारमा माग बढ्दै गएको छ ।” यसअघि फूल भारतबाट आयात गरिँदै आएको थियो ।

टीकापुरमा खपत नभएको फूल काठमाडौँ पठाउने गरिएको छ । सयपत्री फूल टिपेपछि आठ÷दश दिनसम्म बिग्रिदैन । फूल उत्पादनदेखि प्याकेजिङसम्मको तालीम लिनुभएका चौधरी फूल उत्पादक सङ्घमा समेत आबद्ध हुनुहुन्छ । कैलालीमा बाह्रैमास फूल उपलब्ध गराउन उहाँले पुष्पखेती विस्तारको योजना बनाउनुभएको छ । फूल उत्पादक सङ्घसँग मिलेर अन्यत्रबाट फूल ल्याउने तयारीमा समेत चौधरी हुनुहुन्छ ।कृषि सेवा केन्द्र टीकापुरका प्रमुख गौरीशङ्कर गुप्ताले नयाँ व्यवसायका रुपमा पुष्पखेती शुरु गरिएको बताउनुभयो । “व्यावसायिक रुपमा पुष्पखेती सम्भवतः प्रदेश नं ७ मै पहिलो हो, केन्द्रले प्राविधिक ज्ञान निःशुल्क रुपमा दिने गरेको छ,” उहाँले भन्नुभयो ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology