प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने केसीको माग

                                   

काठमाडौं–प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले  राजीनामा नदिएसम्म अनसन नतोड्ने डा गोविन्द केसीले अडान लिएका छन् ।

अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्चबाट साधारण तारेखमा रिहा भएका डा केसी त्रिवि शिक्षण अस्पतालमा अनसनरत छन्  ।

केसीले  बुधबार सर्वोच्च परिसरबाट बाहिरिने क्रममा अनसन जारी राख्ने या स्थगित गर्ने भन्नेबारेमा आज थप निर्णय हुने बताएका  थिए । तर, पराजुलीको राजीनामालाई नै मुख्य माग बनाउँदै केसीले अनसन जारी राख्ने निर्णय गरेका हुन् ।

सर्वोच्चले केसीको अवहेलनामा मुद्दामा प्रधानन्यायाधीश पराजुलीको दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश दिँदै   केसीलाई तारेखमा हिरा गरेको थियो ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले पराजुलीको दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश दिएको हो ।

केसीविरुद्ध  सर्वोच्च अदालतमा मंगलबार बयान लिँदा प्रधानन्यायाधीश पराजुलीको दुई वटा नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रका बारेमा डा केसीले प्रश्न उठाएका थिए ।

प्रकाशित मिति - बिहिबार, पुस २७, २०७४