प्रहारन्युज डेक्स

मकालु एयरलाइन्सको कार्गो जहाज पहाडी जिल्ला बाजुरामा भेटियो

काठमाडौँ — साढे दुई घण्टादेखि सम्पर्कबिहीन भएको मकालु एयरलाइन्सको कार्गो जहाज पहाडी जिल्ला बाजुरामा भेटिएको छ । ९एन एजेयु कल साइन भएको उक्त जहाज कर्णाली नदीको किनारमाफोर्स ल्यान्डिङ गरिएको छ । फोर्स ल्यान्डिङ गरिएको क्षेत्र बाजुरा जिल्ला पट्टी रहेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुरमार क्षत्रीले बताए ।

उनले भने, ‘जहाजमा खराबी आएपछि कर्णाली नदीको बगरमा आपतकालीन अवतरण गरिएको भन्ने सूचना आएको छ।’ जहाजमा रहेका चालक दलका दुवै सदस्य सकुशल रहेका छन्। चालकदलमा क्याप्टेन किरण भट्टराई र को-पाइलट आदित्य नेपाली रहेका थिए।

जहाजमा के खराबी आएको थियो भन्नेबारे भने पाइलटले बताएका छैनन्।

बुधबार बिहान सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट उडेको उक्त जहाज सम्पर्कविहीन भएको थियो। बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको उक्त जहाज ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरणल गर्नुपर्ने थियो।

सिंगल इन्जिनयुक्त सो जहाजले सुर्खेतबाट कार्गो लोड गरेर हुम्ला सदरमुकाम सिमकोट उडेको थियो।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology