प्रहार न्युज

  • १४

वन्यजन्तु मैत्री बन्यो नारायणगढ–मुग्लिन सडक

चितवन,- विकास निर्माणसँगै वन्यजन्तु प्रभावित नहुन भन्नका लागि नारायणगढ–मुग्लिन सडक आयोजनाले वन्यजन्तु मैत्री सडक निर्माण गरेको छ ।

आयोजनाले वन क्षेत्रमा पर्ने सडकमा जनावर वारपार गर्न सडकमुनिबाट हिँड्ने चारवटा बाटो (अण्डरपास) निर्माण गरेको छ । आयोजनाको परामर्शदाता कम्पनीका वातावरण विज्ञ जनकराज पाठकका अनुसार आयोजनाले चारवटा पोखरी पनि निर्माण गरेको छ भने मुख्य वन क्षेत्रको सडकमा फेन्सिङ र वन्यजन्तुको अनुगमन पनि गरिरहेको छ ।

उहाँका अनुसार भरतपुर महानगरपालिका–१ आँपटारीमा दुई वटा र भतेरीमा दुई वटा अण्डरपास निर्माण गरिएको छ । जसबाट वन्यजन्तु वारपार गर्न सक्नेछन् । सडकमा वन्यजन्तु आउने र दुर्घटना हुने भएकाले अण्डरपास निर्माण गरिएको हो ।

ती अण्डरपासमा सिसी क्यामरा जडान गरी अनुगमन पनि गरिएको छ । सिसी क्यामरामा चितुवा, बँदेल, मृग, जंगली बिरालो लगायतका साना जनावर वारपार गरेको देखिएको भए पनि हात्ती, गैँंडाजस्ता ठूला जनावर वारपार गरेको भने भेटिएको छैन । सोही क्षेत्रमा एक किलोमिटर तीनसय मिटर सडक क्षेत्रमा तारबार गरिँंदै छ, जसका कारण जनावरले जथाभावी सडक पार नगरी अण्डरपास प्रयोग गरुन र दुर्घटना नहोस् भन्नका लागि तारबार गरिएको विज्ञ पाठकले बताउनुभयो ।

यस्तै सोही क्षेत्रमा चार ठाउँमा जंगली जनावरलाई लक्षित गरी पोखरी खनिएको उहाँले जानकारी दिनुभयो । समिढाप, साउनेपानी, ढ्याङ्ग्रेखोलामा पोखरी खनिसकिएको छ भने जलदेवीमा खन्ने तयारीमा रहेको छ । वन्यजन्तुले पानी पिउन र पौडी खेल्न सहयोग पुगोस् भन्ने उद्देश्यले पोखरी खनिएको उहाँले बताउनुभयो ।

आयोजनाले सडक क्षेत्रमा काटिएका रुखको क्षतिपूर्ति बापत पदमपुर सामुदायीक वनमा पाँच हेक्टर जमिनमा आठ हजार बिरुवा लगाएको जनाएको छ । विज्ञ पाठकका अनुसार एक रुख काटिएबापत २५ बिरुवा लगाउनुपर्ने हुन्छ । सोही अनुरुप टाँकी, बकाइनो, रक्तचन्दन लगायतका बिरुवा रोपिएको उहाँले बताउनुभयो । ती बिरुवा हुर्काउने काम पनि आयोजना गर्नेछ ।

विश्व बैंकको सहयोगमा सडक विस्तार भइरहेकाले यसबाट वातावरणमा प्रभाव नपरोस् भन्ने उद्देश्यले विशेष ध्यान दिने गरिन्छ । नारायणगढ–मुग्लिन सडकको आँपटारीदेखि भतेरीसम्म दुबैतर्फ वन रहेको छ । ती क्षेत्रमा रहेका वन्यजन्तु प्रभावित नहुन भन्नका लागि आयोजनाले विशेष ध्यान पु¥याउँदै आएको छ ।
–––

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology