प्रहारन्युज डेक्स

अपाङ्गतामैत्री प्रविधि हुनुपर्ने माग

काठमाडौँ – अपाङ्गता भएका अधिकारकर्मीहरुले सूचना, सञ्चार र प्रविधि अपाङ्गतामैत्री हुनुपर्ने माग गरेका छन् ।

सातौँ विश्व पहुँच सचेतना दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालद्वारा यहाँ आज आयोजित अन्तक्र्रियामा अधिकारकर्मीहरुले प्रत्येक सञ्चारमाध्यम अपाङ्गतामैत्री हुनुपर्नेमा जोड दिनुभयो ।

महासंघका महासचिव राजु बस्नेतले अपाङ्गतामैत्री भौतिक संरचना र अपाङ्गतामैत्री प्रविधि बन्न शुरु भए पनि त्यसले पूर्णता पाउन नसकेको बताउनुभयो । टेलिकमले गत वर्षदेखि सुनाइ र बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिका लागि सहुलियत दरमा भिडियो कल र एसएमएस सेवा शुरु गरेको छ । सरकारले अपाङ्गता भएका व्यक्तिका लागि ‘पहुँचयुक्त सञ्चार सेवा’ र प्रेस काउन्सिल नेपालले ‘अपाङ्गतामैत्री सञ्चार निर्देशिका’ जारी गरेसँगै सञ्चारमाध्यम केही मात्रामा भए पनि अपाङ्गतामैत्री बन्दै गएको पाइन्छ ।

निर्देशिकामा ‘पत्रकार र सञ्चारमाध्यमले सांकेतिक अभिव्यक्तिका क्रममा अपाङ्गता भएका व्यक्तिको गरिमामा प्रतिकूल असर पर्ने परम्परागत प्रचलनमा रहेका शब्द, शब्दावली, उपमा वा उखान टुक्काको प्रयोग गरी समाचार सम्प्रेषण गर्नु हुँदैन भनिएको छ । दृष्टिविहीनसम्बन्धी अपाङ्गताका लागि पुस्तक पढ्न सक्ने ‘अडियो पुस्तक’ को समेत व्यवस्था गरिएको छ । प्रविधिका कारण न्यून दृष्टियुक्त व्यक्तिले कम्प्युटर र अडियोबाट पनि अध्ययन गर्न सक्छन् ।

महासंघका उपाध्यक्ष टीका दाहालले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिलाई समेत पहुँचयुक्त बनाउनका लागि नीतिमै सुधार गर्नुपर्नेमा जोड दिनुभयो । महासंघका कार्यक्रम अधिकृत विमल पौडेलले २०६८ सालमा सरकारले ल्याएको वेबसाइट निर्माण निर्देशिकाको संशोधनसहित कार्यान्वयन गर्नुपर्छ भन्नुभयो ।
–––

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology