प्रहारन्युज डेक्स

अनुपको अभिभावक वडाध्यक्ष सापकोटा

काठमाडौँ –  कामपा–१४का वडाध्यक्ष शोपा सापकोटा नुवाकोटका पाँच वर्षीय अनुप न्यौपानेको अभिभावक बन्नुभएको छ ।
आर्थिक रुपमा कमजोर अनुपका पिता हुनुहुन्न । कामपाका एक मात्र महिला वडाध्यक्ष सापकोटाको अभिभावकत्वसँगै अहिले न्यौपानेले कलङ्कीको नेपालय मन्टेश्वरीमा अध्ययन गर्न शुरु गरिसकेका छन् । उनको वार्षिक शुल्क रु एक लाख ३० हजार छ ।
सापकोटाले भन्नुभयो , “अनुपका पिता हुनुहुन्न, उनी तीन महिनाको गर्भमा हुँदा उनले बुबालाई गुमाएका हुन्, आर्थिक अवस्था पनि अत्यन्तै कमजोर छ, कसैको सहाराविना उनले पढ्न नसक्ने अवस्था देखेपछि म नै उनको अभिभावक बनेको हुँ । ”
आर्थिक अवस्था कमजोर भएकै कारण अनुपकी आमा यशोदाले अहिलेसम्म छोरालाई विद्यालय भर्ना गर्नुभएको थिएन । यशोदा अहिले ज्याला मजदूरी गरेर दैनिकी चलाइ रहनुभएको छ । अब अनुपले पढ्न चाहेसम्मको पढाइ खर्च र स्वास्थ्योपचार गर्ने जिम्मेवारी वडाध्यक्ष सापकोटामा आएको छ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology