प्रहार न्युज

असफल इन्काउन्टर गर्ने प्रयास ‘गोरे’ को बयानले ठूला माछाको सातो गयो !

काठमाडौं – गोरे भनिने चुडामणि उप्रेतीलाई प्रहरीले पक्राउ गरेपछि त्यसबारेमा धेरै रहस्य बाहिर आउन क्रम सुरु भएको छ ।

गोरेले ३३ किलो सुन तस्करीमा को–को थिए त्यसबारेमा मुख खोल्न थालेका छन् । गोरेले मुख खोल्ने र कारबाहीमा पर्ने डरले हाइप्रोफाइल व्यक्तिहरू डराएको स्रोतको भनाइ छ ।

अपराध महाशाखाको टोलीलाई छक्याउँदै भारतको दिल्ली पुगेका थिए । दिल्लीमा बसेर उनले आफ्ना समूहका अन्यलाई प्रहरी र अदालतका गतिविधिबारे सोधपुछ गरिरहेका थिए ।

३३ किलो सुनकाण्डमा गोरेलाई नै प्रमुख अभियुक्तका रुपमा प्रस्तुत गरिएको थियो । तर, गोरेभन्दा पनि ३३ किलो सुनका मख्य योजनाकारहरू गृहमन्त्रालयले गठन गरेको छानविन समितिभन्दा धेरै माथि रहेको स्रोतले जनाएको छ ।

सानु वनका परिवारलाई विभिन्न माध्यमबाट सोधपुछ गरेर पनि गोरेले प्रहरी र न्यायालयका सूचना लिइरहेका थिए । अदालतमा विपक्षी वकिलका टेलिफोनलाई समेत समितिले सूक्ष्म रूपमा निगरानी गरिरहेको थियोे ।

सात दिनअघि गोरे नयाँ दिल्लीमा लुकेर बसेको सूचना पाएपछि समितिले एक डीएसपीको नेतृत्वमा टोली दिल्ली पठाएको थियो । उक्त टोली दिल्ली पठाएकोबारे समितिका पनि सीमित सदस्य मात्रै जानकार थिए ।

सोमबार दिल्लीको एक होटलमा बसेका गोरेलाई भारतीय प्रहरीकै सहयोगमा नेपालबाट गएको प्रहरी टोलीले नियन्त्रण लिई सीधै जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओरालिएको थियो ।

सोमबार अपराह्नदेखि राति अबेरसम्म गोरेसँग समितिले बयान लियो । बयान सकिएपछि मंगलबार बिहान साढे पाँच बजे गोरेलाई उनी बस्ने डेरा गौरीघाटमा लगिएको थियो । डेरा पुगेपछि पनि गोरेले आफ्नो ज्यान बचाइदिन प्रहरी टोलीलाई अनुनय गरेका थिए ।

मुद्दा चलाउन आन्तरिक कानुनी प्रक्रियाका कारण दिल्लीबाट ल्याइएका गोरेलाई गौरीघाटबाट पक्राउ परेको मुचुल्का तयार गरिएको समितिकै एक सदस्यले बताए । गोरे नियन्त्रणमा लिँदा उनी धेरै हतास र छटपटाहट अवस्थामा रहेको जानकारी ती सदस्यले दिए । गोरेले संयुक्त अरब इमिरेट्समा नजमल जनरल ट्रेनिङ कम्पनी खोलेर सुन नेपालतर्फ तस्करी गर्दै आएको ती सदस्यले बताए ।

गोरेले प्रहरीलाई गिरफ्तारी दिनुअघि भिडियो खिचेर एउटा अनलाइनमा मिडियामा दिएका थिए, जुन मंगलबार मात्रै सार्वजनिक भएको छ । भिडियोमा गोरेले सबै सुन तस्करीमा आफ्नो मात्रै नाम आएको भन्दै अन्यको विवरण आउँदै जाने बताएका छन् ।

शाक्यको हत्या आफूले नचाहँदा नचाहँदै भएको समेत भिडियोमा उल्लेख गरेका छन् । प्रहरीले भिडियोसहितको मोबाइल पनि बरामद गरेको छ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology