इँटाभट्टाभित्र बालबालिकाको भविष्य खोज्दै भारतीय कामदार

गोपालप्रसाद पोख्रेल, मोरङ-  मोरङको भौडाहा–९ मा मात्र विराट, अङ्कित, उत्सव, अम्बे, हिमाल, एसिसी, जनता तथा आकाश नामका इँटाहरु उत्पादन हुन्छन् । यी भट्टामा झन्डै तीन हजारको हाराहारीमा बहुसङ्ख्यक भारतीय कामदार छन् । काम गर्नेमा स–साना बालबालिका र महिला बहुसङ्ख्यक छन् भने इँटाभट्टा भित्रको अवस्था भयावह र कहालिलाग्दो छ ।

माघको कठ्याङ्गिँ्रदो जाडो । एकाबिहानैदेखि माटोमा काम गर्नुपर्ने उहाँहरुको बाध्यता हो । त्यही भट्टाभित्र रुमल्लिएको एउटा बस्तीको कथा निक्कै दर्दनाक छ । दैनिकरुपमा माटोसँग खेलिरहेका इँटाभट्टामा धेरै आमा र बालबालिका हुनुहुन्छ । कोही आफ्नो बच्चासहित भट्टामा काम गर्न आउनुभएको छ त कोही सेतै कपाल, दाह्री पाकिसकेका बुबासँगै १०–११ वर्षका बालबालीकासमेत सो भट्टामै काम गरिरहनुभएको छ ।

धेरैको पीडा एउटै छ थोरै भएपनि रकम जम्मा गर्नु अनि परिवार पाल्नुपर्ने । इँटाभट्टामा गुजारा चलाउने बहुसङ्ख्यक नेपालीभन्दा भारतीय मूलका नागरिक रहेका छन्.। उहाँहरु हरेक वर्षको ६ महिना नेपालका इँटाभट्टामा आएर काम गर्नुहुन्छ र त्यहीँबाट आफ्नो जीविका चलाउनुहुन्छ । यसरी आउनेमा हजुरआमादेखि नातिपनाति सम्मका पूरै पुस्ताको दैनिकी इँटाभट्टामा बित्छ ।

सो भट्टामा धेरै आमा आफ्ना बच्चाको अवस्थाका बारेमा छट्पटाइरहेका थिए । कोही आज त काम गरियो भोलि के खाने भनेर दुःखसुख गरी जीवन गुजारा गर्नु उहाँहरुको जीवनचर्या नै हो । यही भट्टाभित्र धेरै इँटाका घर छन् जहाँ उनीहरु काम गर्दाको अवधिभर सजाउँछन् । सो भट्टा भित्रको बस्तीमा धेरै काम गर्ने कामदार बुबाआमाभन्दा पनि उनीहरुका बच्चाहरु छन् । धेरैका पीडा आफ्नै छन् । २४ वर्षीया हस्दा विवी आफ्नो ३ वर्षीय बिरामी छोरो लिएर काम गर्दै हुुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “छोरा बिरामी भएको तीन दिन बित्यो उपचार गराउन सकिएको छैन ।”

माघको कठ्याङ्ग्रिँदो जाडोको बीचमा बाबुनानीसहित माटोको काम गर्दा ती बाबुनानीलाई त्यही चिसो भुइँमा सुताएर काम गर्नुपर्ने बाध्यता उहाँले सुनाउनुभयो । यी भट्टाभित्र काम गर्ने धेरै भारतीय कामदारलाई औषधि उपचार गर्न लैजानका लागि कुनै ठाउँ थाहा छैन । गाडीले ल्याएर सिधै इँटाभट्टामा छाडिदिएपछि फर्किनका लागि गाडी आउँछ, अनि त्यही गाडीमा फर्कन्छन् । एक त नयाँ ठाउँ, अनि अर्को समस्या गाउँ नजिकै छ्रैनन्, औषधि उपचार गर्नका लागि सहज ठाउँ छ्रैन । मानवीयता खोज्दै गरेका यी भट्टाका बालबालिका र महिलाका बारेमा बोलिदिन कोही पनि पुग्दैनन् । अनि अधिकारका कुरा उठाउने पनि भारतीय बालबालिका भनेर तर्कन्छन् ।

यसरी काम गर्ने कामदारको नेपाल आएर इँटा बनाउने काम गरेको वर्षौं बितिसकेको छ । एउटा इँटाभट्टामा काम गर्ने भारतीय कामदार पाँच सयभन्दा बढी छन् । त्यसरी काम गर्नेहरु आएर ६ महिना नेपालमा काम गर्ने अनि ६ महिनापछि फर्कने गर्छन् । उनीहरु ६ महिनाको अवधिमा प्रतिव्यक्ति झन्डै रु एक लाख ६० हजार कमाउँछन् अनि फर्कन्छन् । कुच विहार भारतका अहिद अली मियाँले सबै परिवारलाई भट्टामा ल्याएर काम लगाउनुभएको छ । उहाँ भन्नुहुन्छ, “फर्किने बेलासम्म एक लाख भारतीय अर्थात् नेरु एक लाख ६० हजार रुपैयाँ कमिन्छ ।

यसरी उद्योगमा काम गर्ने बालबालिकादेखि वृद्ध सम्मका रहेका छन् । उहाँहरु भन्दा भारतीय भनिए पनि स्पष्ट हिन्दी समेत बोल्न जान्नुहुन्न । उहाँहरु बङ्गाली भाषा बोल्नुहुन्छ । अनि त्यो भट्टाभित्रका नेपाली कामदारसँग पनि तालमेल पनि मिल्दैन । बाहिरबाट देखिने इँटाभट्टा भित्रको अवस्था दर्दनाक र कहालिलाग्दो छ । यहाँ ठूलो बस्ती छ । यही बस्तीमा उहाँहरु आफ्नो जिन्दगी र भविष्य खोजिरहनुभएको छ । माटो, हिलो अनि धुलोका बीचमा आफ्ना स–साना लालाबालालाई आफ्नो जीवन जिउने आधार सिकाउँदैछन् ।

मोरङका इँटा उद्योग भारतीय कामदारको भरमा चलेका छन् । उहाँहरुको कमाई भने त्यति निराश भइहाल्नुपर्ने अवस्थाको छैन । एकहजार इँटा बनाएबापत उनीहरुले भारु चारसय ५० रुपैयाँ परिश्रमिक पाउँछन् ।

एउटा परिवारले दैनिक दुईहजार पाँचसयदेखि तीनहजारसम्म इँटा बनाउँछन् । जति इँटा बनाउन सक्यो उति नै आम्दानी गर्न सकिने कामदार बताउँछन् । भारत कुच विहारबाटै आएका राहुल मियाँ भन्नुहुन्छ, “गरिबीको कारण परिवारै नेपाल आउनु परेको हो ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology