प्रहार न्युज

संयुक्त टोलीको निष्कर्ष नेपाली भूमि डुब्नुमा भारत दोषी

काठमाडौं । नेपाल तथा भारतको सीमा क्षेत्रका विभिन्न गाउँहरु डुबानमा पर्नुमा भारत दोषी देखिएको छ । नेपाल र भारतको संयुक्त बाढी तथा डुबान व्यवस्थापन समितिले हालै मात्र ७ स्थानमा स्थलगत अध्ययन गरेको थियो । कतै भारतीय पक्षले अवैज्ञानिक तटबन्ध बनाएको त कतै तटबन्ध नबनाएका कारण नेपाली भूमि डुबेको पाइएको छ । जल उत्पन्न प्रकोप व्यवस्थापन विभागका उपमहानिर्देशक प्रदिप थापाका अनुसार दुई देशका संयुक्त समितिले पूर्वका ७ स्थानको अध्ययन सकाएको छ । ७ वटै स्थानमा भारतीय पक्षको कमजोरी देखिएको छ । साथै विभिन्न स्थानमा देखिएको समस्या समाधान गर्न भारतीय पक्ष राजी भएको थापाले बताए ।

सप्तरीको खाँडो नदीमा भारतीय पक्षले तटबन्ध नबनाएका कारण नेपाली भूमि डुवानमा परेको छ । यस्तै सिराहाको मैनावत्ती र गगन नदीको पानी जमेका कारण नेपालको लगनगोठ डुबानमा पर्ने गरेको छ । खुरौना पुल भत्केको र कल्भर्ट सानो बनेका कारण पानी बगेर जान पाएको छैन, जसका कारण डुबानमा पर्ने गरेको समितिको ठम्याई छ । त्यसैगरी कमला ब्यारेजमा नेपाल तिरको सबै तटबन्ध निर्माण भएको तर, भारतीयले भने तटबन्ध निर्माण नगरेको देखिएको छ । पानी बगेर जाने स्थानमा ग्रेभयार्ड रहेको र बालुवा जमेको छ, जसले पानी बग्न दिएको छैन । बग्न नपाएको पानी ‘ब्याक’ भएपछि नेपालतर्फ तिलाची गाउँ डुबानमा पर्ने गरेको छ । महोत्तरीको रातु नदीमा भारतीय पक्षले बनाएको तटबन्ध अवैज्ञानिक भएको पाइएको छ । सर्लाहीको बकरी बारामा भारतको मुडाहा नदीको पानी नेपालतर्फ आउने गरेको छ ।

अब दुई स्थानमा पानी पास गर्ने होलहरु खोल्न भारतीय पक्ष सहमत भएको छ । त्यसैगरी रौतहटको लालबकैयामा नेपालतर्फ तटबन्ध निर्माण भएको छ तर, भारतीय पक्षले तटबन्ध निर्माण नगर्दा गुहावटी गाउँ पुरै डुबानमा पर्ने गरेको छ । यही ठाउँमा बन्जरा गाउँ बचाउन भन्दै भारतले अवैज्ञानिक तटबन्ध बनाएको छ, जसले नेपालतर्फका भूभागमा पानी जम्मा हुने गरेको पाइएको छ । रिङबन हरेक वर्ष जसो डुबानमा पर्ने गरेको छ । यसको कारण बागमती नदीमा नेपालले तटबन्ध बनाएको तर, भारतीय पक्षले नबनाउनु भएको समितिको ठहर छ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology