new

आमा, छोरी र छोराले गरे एकैसाथ आत्महत्या

चितवनमा एउटै परिवारका तीन जनाले एकै ठाउँमा आत्महत्या गरेका छन् । भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका हुन् । घरभित्र एकै स्थानमा तीन सलको पासोमा अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३/१४ वर्षीया छोरी विनिता मगर र अन्दाजी ११/१२ वर्षीय छोरा विवेक मगरले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनीहरुको शवलाई परीक्षणका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ ।

एकै स्थानमा तीन जनाले आत्महत्या गरेपछि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मी जानकारी दिनुभयो । उहाँसहितको प्रहरी टोली अहिले घटनास्थलमा छ । मृतकका श्रीमान् नरबहादुर आलेमगर नेपाली आर्मीमा काठमाडौँमा कार्यरत रहेका छन् । आमाले नै छोराछोरीलाई झुण्ड्याएर आफूले पनि झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयवासीको आशङ्का छ ।

दुर्घटनामा दुई गम्भीर घाइते
भरतपुरमा बिहीबार राति भएको सवारी दुर्घटनामा दुई गम्भीर घाइते भएका छन् । काठमाडौँबाट भरतपुर आउँदै गरेको ना७ख ३५०७ नंको बसले सोही दिशाबाट आउँदै गरेको ना२८प ५५२७ नंको स्कुटरलाई ठक्कर दिएको हो । बसको ठक्करबाट स्कुटर चालक भरतपुर महानगरपालिका–११ बसेनी बस्ने ३६ वर्षीय नवराज सिलवाल र मोटरसाइकल पछाडि सवार उनका सात वर्षीय छोरा निर्दोष तिमिल्सिना गम्भीर घाइते भएका हुन् । घाइते दुवैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । गाडीका चालक फरार छन् भने सहचालक प्रहरी नियन्त्रणमा छन् ।

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology