यी हुन् ‘ब्ल्याक स्पट’ रोड र नेपालमा धेरै सडक दुर्घटना हुनुका प्रमुख नौ कारण


काठमाडौं | १) सडकको अवस्था
अहिलेसम्म नेपालमा सबै प्रकारका (कालोपत्रे, खण्डास्मित र कच्ची) सडकको कुल लम्बाइ ७० हजार ६ सय किमि पुगेको छ । ती सडकमध्ये करिब २५ हजार किमि सडक वर्षभर नै यातायात सञ्चालनयोग्य छ । त्यसमध्ये ११ हजार किमिमा मात्र कालोपत्रे गरिएको छ । हामीकहाँ कुनै पनि सडकको ट्रयाक खोल्नेबित्तिकै सवारी सञ्चालन गरिन्छ । प्राविधिक रूपमा ‘अनफिट’ सडकमा दुर्घटनाको उच्च जोखिम हुन्छ ।

२) ‘रोड सेफ्टी अडिट’ र ‘ब्ल्याक स्पट’ न्यून
सुरक्षामा केन्द्रित भई व्यवस्थित तरिकाले सडकको जाँच गर्नेे विधि नै सडक सुरक्षा परीक्षण (रोड सेफ्टी अडिट) हो । यसरी जाँच गर्दा सडकमा हुन सक्ने सम्भावित खतरालाई पहिचान गर्ने र समाधान गर्ने गरिन्छ । तर, नेपालमा कुल सडकमध्ये मुस्किलले २ प्रतिशतमा मात्र अडिट गरिएको छ । यसको साथै ब्ल्याक स्पट चिनाउने अध्ययन पनि कम हुने गरेको छ ।

३) सवारीसाधनको अवस्था
०५६ मा सरकारले उत्पादन मितिले २० वर्षभन्दा बढी भएको कुनै पनि सवारीको दर्ता हेरफेर र नामसारी गर्न नपाउने व्यवस्था गरेको छ । साथै, यस्ता सवारीसाधन अनिवार्य पत्रु गर्नुपर्नेछ । तर, व्यवसायीले तोकिएको अवधि नाघेका सवारीसाधन पत्रु गर्ने गरेका छैनन् । यातायात व्यवस्था विभागले पनि अनुगमनमा कडाइ गर्न सकेको छैन । यसकारण पुराना सवारीसाधनको ब्रेक तथा अन्य मेसिन विग्रिँदा वा काम नगर्दा पनि दुर्घटनामा पर्ने गरेका छन् ।

४) सवारीचालकको (अ)दक्षता र (कम)अनुभव
नेपालमा अझैसम्म व्यावसायिक र गैरव्यावसायिक भनेर चालकलाई वर्गीकरण गरिएको छैन । यस्तो निश्चित मापदण्ड नहुँदा व्यावसायिक रूपमा सवारी चलाउने काम नगर्नेले पनि सवारी चलाउँदा दुर्घटना हुने गरेका छन् । किनकि उसमा अनुभवको कमी हुने ट्राफिक इन्जिनियरहरूको भनाइ छ । यसको साथै, ट्राफिक संकेत बुझ्न सक्ने क्षमताको जाँच र शैक्षिक योग्यता अझै तोकिएको छैन । कतिपय यात्रुबाहक सवारीमा कम उमेरका व्यक्तिले चलाउने र चलाउनमा दक्षता नहुँदा दुर्घटना हुने गरेका छन् ।

५) यात्रुको ढिपी
यात्रुको ढिपीका कारण पनि सडक दुर्घटना हुने गरेको ट्राफिक इन्जिनियरहरूको भनाइ छ । गन्तव्यसम्म पुग्न चालकलाई दबाब दिने, छिटो हाँक्न लगाउनेलगायत व्यवहारले पनि दुर्घटनालाई निम्त्याइरहेको छ ।

६) सवारीसाधनको समयमै मर्मत
सवारीसाधनको मर्मत समयमा गर्ने गरिएको छैन । यात्रा थालनीपूर्व साधनलाई प्राविधिक रूपमा तयारी अवस्थामा राखिँदैन । यसकारण पनि सवारीसाधन दुर्घटनामा पर्ने गरेका छन् ।

७) क्षमताभन्दा बढी यात्रु
देशका विभिन्न ठाँउमा भएका दुर्घटनामा देखिने एउटा ‘ट्रेन्ड’ क्षमताभन्दा बढी यात्रु बोक्नु हो । प्राविधिक रूपमा सक्षम नरेहका सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा सवारीसाधनले सन्तुलन गुमाउँदा दुर्घटना हुने गरेको छ ।

८) तीव्र गति
सडक विभागले गरेको अध्ययनले सवारीसाधनको तीव्र गतिलाई पनि दुर्घटनाको कारण मानेको छ । सडक निर्माण गर्दा निश्चित गति तोकिएको हुन्छ । जबकि चालकले सो मापदण्ड तोडेर सवारी हाँक्दा पनि दुर्घटना भएको छ । त्यस्तै, सवारीसाधन चलाउँदा अन्य विषयमा ध्यान केन्द्रित गर्दा, क्षमताभन्दा बढी भार बोकाउँदा र मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा पनि दुर्घटना हुने अध्ययनले देखाएका छन्।

९) अन्य कारण
वर्कसपको मापदण्ड व्यवस्थित गरिएको छैन । सडक र सवारीसाधन नियमित गर्ने ऐ– नियम समय सापेक्षित छैनन् । त्यस्तै, सडक विभागले गरेको अध्ययनले ड्राइभरको ‘ड्राइभिङ ह्याबिट’ परिवर्तन नभएको देखाएको छ । यसले पनि दुर्घटना बढाएको छ । साथै, सडकको मर्मत समयमा हुने गरेको छैन ।जीवन बस्नेतले नयाँ पत्रिका दैनिकमा लेखेका छन् l

(उल्लेखित कारणहरू भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, एसियाली विकास बैंकलगायत संस्थाले गरेको अध्ययन तथा सम्बन्धित क्षेत्रका व्यक्तिसँगको कुराकानीमा तयार पारिएको हो)

‘रोड सेफ्टी अडिट’ नभएको सडकखण्ड
पृथ्वी राजमार्गअन्तर्गत शनिबार दुर्घटना भएको सडकखण्डमा रोड सेफ्टी अडिट (सडक सुरक्षा परीक्षण) नभएको सडक विभागका अनुगमन तथा मूल्यांकन शाखा प्रमुख रमेशकुमार सिंहले बताए । ०३१ (सन् १९७४) मा निर्माण सम्पन्न भएको पृथ्वी राजमार्गको अधिकांश खण्डमा अझै सडक सुरक्षा परीक्षण भएको छैन । नौबिसेदेखि सुरु भएर गल्छी, गजुरी, मलेखु, कुरिनटार, मुग्लिन, आबुखैरेनी, डुम्रे, दमौली हुँदै पोखराको पृथ्वीचोकसम्मको कुल १ सय ७५ दशमलव ४२ मिटर लम्बाइ छ । त्यसमध्ये अहिलेसम्म कुरिनटारदेखि पोखरासम्मको अडिट गरिए पनि त्यसअघिको सडकको सुरक्षा परीक्षण भएको छैन ।

दुर्घटना भएको सडकखण्ड ‘ब्ल्याक स्पट’
दुर्घटना भएको पृथ्वी राजमार्गअन्तर्गत पर्ने नौबिसेदेखि मुग्लिन सडकखण्डलाई सडक विभागले ब्ल्याक स्पट तोकेको थियो । निरन्तर उस्तै प्रकृतिका दुर्घटना दोहोरिरहने स्थानलाई इन्जिनियरिङ भाषामा ब्ल्याक स्पट भनिन्छ । ‘यसअघि ८० किलोमिटरको सो सडकखण्डमा धेरै दुर्घटना भइसकेका कारण विभागले गरेको अध्ययनले ब्याक स्पट तोकेको हो,’ सडक विभाग सडक तथा ट्राफिक एकाइका इन्जिनियर विवेक पाण्डेले भने ।

सडक दुर्घटना घटाउने तीन उपाय
नेपालमा सडक दुर्घटना घटाउने उपायलाई प्राथमिकतामा नराखिएको सडक विभागका महानिर्देशक गोपाल सिग्देलले बताए । यसका साथै अडिट गर्ने छुट्टै निकायका रूपमा काउन्सिल स्थापना गर्ने प्रस्तावमा सरकारले स्वीकृत गरिसकेको छ । तर, अझै काउन्सिल गठन भएको छैन ।

पहिलो : सडक इन्जिनियरिङ मापदण्ड कार्यान्वयन
दोस्रो : नियम कानुनको कडाइका साथ कार्यान्वयन
तेस्रो : सचेतना शिक्षा आवश्यक

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार