म जे गर्न पनि तयार छु

बिनाकारण चोट र पिडाले पिल्सिएको मान्छेले के गर्छ तिमिले ख्याल गरेका छौ ?
नाकारा
                                   

सत्य !
अरुको “पृथ्वी” जन्मिँदा
मेरो “पृथ्वि” ध्वस्त भाको हो
अरुको आकाश खुल्दा
मेरो आकाश छोपिएको हो
अरुको तिर्खा मेटिँदा
मेरो पानि मुर्छा परेको हो
यसरी किन अरुको जिन्दगी जन्मिँदा
मेरो जिन्दगी पुरिनुपर्ने हो !!??

तर ,म फेरि जागेको छु
मेरो भुमिमा
मेरो माटो खोज्न
जरा गाड्न
र बिस्तारै झाँगिन
म एक आदिबासी बिरुवा हुँ
फेरि ढाल्ने दुस्साहास नगर्नु ।

म त आदिम दल /बीउ / बेर्ना
कतै न कतै यहि धर्तिको चेपचापमा एउटा न एउटा अड्किएको हुन्छु
जत्ती जे गरेपनी म पलाउन छोड्दिन
तर तिमी त मलाइ सक्ने दाउमा चोरदुलोबाट छिरेका हौ
र ललाइफाकाइ गरेर मास्ना चाहेका हौ
झुक्क्याइझुक्क्याइ हत्या गरेका हौ
तर नामोनिशाना कसरी मेट्न सक्छौ र मेरो
तिमिले जत्ती पिए पनि यो लिदिङ खोला कतै कहिल्यै रित्तिएको छ?
तिमिले जत्ती खडेरी ल्याए पनि यो हुमे खोला कतै सुकेको छ ?
यिनिहरु यहि मेरै भुमिमा जन्मेका हुन र युग युग बाँचिरहेका छन ।

सत्य हो ,
यहाँ बहने हावा
यहाँका बग्ने पानी
यहाँ हुर्कने उत्तिस , मलता , चिलाउने , कटुस , गोगुन , फुर्केढोल ….
कहिं, कत्तै फेरिएकाछन ?
अल्लिकत्ती पनि फरक देखेका छौ ?
माथी उभिएको ठाडे डाँडा ,
हरियाली पारिपाखा ,
गोरुजुरे डाँडा ,
वास्कम ,
चिचिलु भिर,
यास्का ,
सबैसबै जस्ताको तस्तैछन
रात्पानेको पानी
धिलप्तुको ढुङ्गा
उस्तैगरि युगयुग बाँचिरहेकाछन ।
यिनै प्रमाण हुन म मासिएको छुइन
म सकिएको छुइन
र तिम्रो म विरुद्दको सबै प्रयास खेर गैरहेको छ भन्ने !

ए सत्ता !
मुर्छनाबाट ब्युँझेको मान्छेले के चाहान्छ
तिमिलाइ थाहा छ ?
घाइते बाघ कस्तो हुन्छ
तिमिले चिनेका छौ ?
बिनाकारण चोट र पिडाले पिल्सिएको मान्छेले के गर्छ
तिमिले ख्याल गरेका छौ ?

याद रहोस
एउटै कुरा –
अब म जे गर्नपनी तयार छु !

 

 खोटाङ्ग

प्रकाशित मिति - बिहिबार, पुस २७, २०७४