गृहमन्त्री थापासँग अमेरिकी राजदूतको भेट

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेपलेट्जले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

गृहमन्त्रालयमा भएको उक्त भेटमा दुई देशको सम्बन्ध, आपसी सहकार्य र सहयोगका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपाल र अमेरिकाबीच ७० वर्षअघिदेखि कूटनीतिक सम्बन्ध रहिआएको र पछिल्ला दिनमा यो सम्बन्ध थप प्रगाढ बन्दै गएको बताउनुभयो ।

उहाँले नेपालको विकास तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माणमा अमेरिकाले गर्दै आएको उदार सहयोगको सराहना पनि गर्नुभयो ।

अमेरिकी राजदूत टेपलेट्जले गृहमन्त्रीका रुपमा कार्यभार सम्हाल्नुभएकामा मन्त्री थापालाई बधाई दिँदै उहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

राजदूतले मानव तस्करी नियन्त्रण, भुटानी तथा तिब्बती शरणार्थीको व्यवस्थापनका विषयमा पनि कुरा राख्नुभएको थियो ।

यस्तै, अध्यागमन सुरक्षासम्बन्धी विषयमा अमेरिकी सरकारले सहयोग गर्न चाहेको तथा अमेरिकी नागरिकबाट नेपाल सरकारले लिने प्रवेशाज्ञा शुल्क पुनरवलोकन हुनुपर्नेलगायतका विषयलाई उहाँले उठाउनुभएको थियो ।

मन्त्री थापाले ती विषयहरुमाथि मन्त्रालयले अध्ययन गरिरहेको र सोही आधारमा भविष्यमा निर्णय लिइने विश्वास दिलाउनुभएको थियो ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology