गीतकार शिव पलाँस भन्छन् घर गएकी छोरीलाई पनि माइतीको चिन्ता लागिरहन्छ !

“नझरेका आँशुहरु” नामको आधुनिक गीति संग्रह तयारीको अन्तिम चरणमा छ
                                   

आधुनिक गीति लेखनमा शिव पलाँस कुनै नौलो नाम होइन । राष्ट्रिय पत्रपत्रिकामा उनका सयौं  लेख रचना प्रकाशित छन् । माया गर्नुको अर्थ, बेहोशि मै छाडी गयौ, गन्दै जाँदा पिरतीमा, हिमाल पहाड मधेस… जस्ता गीतहरुले उनलाई गहन ढंगका स्रष्टा भनेर चिनाउछ । हाल अमेरिकाको सिकागोमा बसेर पनि साहित्य साधनामा उत्तिकै क्रियाशिल छन् शिव पलाँस । “नझरेका आँशुहरु” आधुनिक गीति संग्रह तयारी गरेका पलाँससँग प्रकाश अधिकारीले गरेको प्रस्तुत छ सिधा वार्तालापको सारसंक्षेप  ।

प्रश्नः आराम हुनहुन्छ दाई ?

उत्तरः आराम हुनैपर्छ भाई । नत्र प्रवासमा जिन्दगी चल्दैन ।

प्रश्नः कसरी बित्दैछन् आजकल दिनहरु?

उत्तरः उहि दालभातको जोहो गर्न दौडिराछु ।

प्रश्नः हैन हैन साहित्य कर्म कस्तो चल्दै छ भनेको ?

उत्तरः यहाँ नेपाली पुस्तक पाईदैन । अनलाइनमा पढेको सानोतिनो सामाग्रीले अध्ययनको भोक मेटिदैन । गीतिलेखन चाहिँ कछुवा गतिमा चल्दैछ ।

प्रश्नः दौड त अन्तिममा कछुवाले जित्छ नि दाई ?

उत्तरः हैन त्यो त पुरानो लोक कथाको कुरा हो । आजकल त खरायोले नै जित्छ ।

प्रश्नः किन प्रेम बियोगका मात्र गीत लेख्नु हुन्छ ? जिन्दगीमा खतरा ट्रेजिडी परेको हो र  ?

उत्तरः प्रेम बियोगका गीत बढि रुचाइएका मात्र हुन । संयोगान्त गीत पनि रेर्कड भएका छन् । सबै विषयबस्तुमा गीतहरु लेखिरहेको छु ।

प्रश्नः तत्कालै नयाँ पुस्तक वा एल्बम केहि आउदै छन् कि  ?

उत्तरः “नझरेका आँशुहरु” नामको आधुनिक गीति संग्रह तयारीको अन्तिम चरणमा पुगेको छ । नेपालका ख्यातिप्राप्त गायक, संगितकारहरुसगँ सहकार्य गरेको छु । सुनको जलप लगाएको, तिमीलाई पोल्ने चिन्ता लाग्छ, चल्नलाई त चलेकै छ लगायतका गीतहरु रेर्कडिङ भइसकेका छन् । त्यसपछि पुस्तक निकाल्ने सोचाई छ ।

प्रश्नः राज्यले कलाकारलाई बिभेद गरे कै हो ?

उत्तरः सौखले लागेको काममा राज्यबाट धेरै अपेक्षा गर्न हुदैन । राज्यको दायित्व कलाकारलाई तक्मा दिनु भन्दा पहिले कालिकोटमा नुन दिनु हो । बाँकी तपशिलका कुरा हुन् ।

प्रश्नः नेपाली संगीत बजार पाइरेसीले खायो भन्छन् नि ?

उत्तरः पाइरेसीले भन्दा पनि धेरै हल्लाले खायो । पाइरेसिले गर्दा कुन कलाकारको जहाज डुब्यो  र कुन पाइरेसी कर्ता कुबेर भयो ल भन्नुस? म्युजिक कम्पनिले अलि बढि रोयल्टी खाएर कलाकारलाई अलि कम दिएको चाँही साँचो हो । समग्रमा हाम्रो संगीत उद्योग नै सानो हो ।

प्रश्नः धेरै मान्छेले तँपाईलाई घमण्डी भन्छन् नि  ?

उत्तरः धेरैले होईन थोरैले भन्छन् । त्यो पनि स्वाभिमान र अभिमानको अर्थ नबुझेर होला ।

प्रश्नः अमेरिका बसेर नेपालको राजनीतिलाई गालि गरिराख्नु हुन्छ त  ?

उत्तरः घर गएकी छोरीलाई पनि त माइतिको चिन्ता लाग्छ नि । नेपाल मै हुँदा पनि राजनीतिको बेथितिको बारेमा उत्तिकै लेख्ने बोल्ने गर्थे ।

प्रश्नः नेपाल कहिले फर्कने योजना छ  ?

उत्तरः संभवत अर्को बर्षतिर फर्किन्छु कि !

तपाईको बाँकी साहित्यिक तथा सांगीतिक जीवनको शभकामना छ ।

हवस् धन्यवाद ।

 

स्रोत :पर्ल स्ट्रीट जर्नल

प्रकाशित मिति - मङ्लबार, फाल्गुन १७, २०७३