मैले कथामा विविधता ल्याउने कोशिस् गरेको छु-महेश पौड्याल


त्यसपछि फुलेन गोदावरी कसरी लेख्नु भयो ?

कुरो सन् १९९३ तिरको हो । म भारतमा पढथेँ । जुन भेगमा मेरो बसोबास र स्कुल थियो, त्यहाँ कुकी र नागा नाम गरेका दुई आदिवासी जातको बाहुल्य थियो । दुवै ईशाइ, तर एकअर्कालाई फुटेका आँखाले हेर्न नचाहने । हुँदै जाँदा मणिपुरको पहाडी इलाका कसको हो भन्ने निहुमा जातीय युद्ध भड्कियो । कुकीहरूको जुन स्कुलमा म पढ्थेँ, सेप्टेम्बरको ५ का दिन मध्यराति त्यसैमाथि नागाद्वारा बमवर्ष भयो । मेरो पढाइ टुट्यो । त्यस ताका, कुकी जातको एउटा लडाकु पुङ्गिन हाम्रा गाउँतिर आइरहन्थो । अलि अलि चिनजान थियो । युद्धबारे उसले सुनाएको एउटा कथा मेरो मनभित्र गाडियो । पछि ऊ मारिएको खबर सुनेँ । घटनाको पन्ध्र वर्षपछाडि मैलै यो कथा लेखेँ “त्यसपछि फुलेन गोदावरी” र सर्वप्रथम इन्जिनियरिङ कलेज पुलचाकेका विद्यार्थीहरूले निकाल्ने गरेको एउटा स्मारिकामा छापियो । यसैको अङ्ग्रेजी “द नेप्लिज क्ले” भन्ने पत्रिकामा मित्र केशव सिग्देलको सहयोगमा छापियो । अन्य कथा पनि लेख्दै गएँ, छाप्दै पनि गएँ, र अन्ततः सङ्ग्रह बनाएँ ।

पाठकले किन पढ्ने ?

पहिलो कुरा, पछिल्लो समय नेपाली साहित्यमा कथा निधै कम सङ्ख्यामा प्रकाशित भैरहेका छन्, पुस्तक आकारमा । दास्रो, क्रान्ति र परिवर्तनका कुरा गरिहँदा क्रान्तिकारीले पनि, सत्ताधारीले पनि बिर्सिएका र छोडेका पात्र पनि छन् समाजमा, जसको विकासबिना परिवर्तनको नाराको अर्थ रहँदैन । मैले ती छोडिएका पात्रहरूको कथा लेखेको हुँ । तेस्रो, यथार्थवादी कथालेखनको आजको समयमा मान्छेको मनोवैज्ञानिक पाटो छुट्दै आएको छ । मैले त्यस छुटेको पाटोलाई समाउन खोजेको छु । र अर्को कुरा, मेरो कथामा बालबालिका, वृद्धवृद्धा र विक्षिप्त पात्रहरू बढी आउँछन्, जो समकालीन कथासाहित्यबाट छुुटिरहेका पात्र हुन् । यी कुराहरूले पाठकमा एउटा बेग्लै रुची जगाउनेछ भन्ने मेरो विश्वास हो ।

यो संग्रहमा सवै त्यसपछि फुलेन गोदावरी जस्तै कथा छन् की ?

छैनन् नि । तर, धेरैजसो कथाको धागो मनोवैज्ञानिक यथार्थवादतिर चाहिँ गाँसिएला । केही कथा सामाजिक विभेद र वर्गसङ्घर्षको नजिक पनि छन भने “क्रान्तिवीर” जस्ता कथा राजनैतिक कथा हुन् । मैले कथामा विविधता ल्याउने कोशिस् गरेको छु ।

महेश पौड्यालको नयाँ कथा संग्रह “त्यसपछि फुलेन गोदावरी ” यहि भाद्र १६ गते बिमोचन हुदैंछ l

नेपाली साहित्य र पाठक विचको दुरी निकै फराकीलो छ । यो संग्रहले पुलको काम गर्छ त ?

यो प्रक्षेपण गर्न चाहिँ सकिँदैन होला । तर, मेरा कथा जति पत्रपत्रिका र अनलाइनमा छापिएका छन्, त्यहाँ मैले पाएका प्रतिक्रियालाई आधार मान्ने हो भने, यो सङ्ग्रहले पाठकको माया पाउनु पर्ने हो । हेरौैँ ।

नेपाली कथाको प्रवृती र यँहाको स्वीरयुक्ती के छ ?

सामाजिक यथार्थवादी भनिए पनि समकालीन कथाको सबैभन्दा उँचो स्वर भनेको राजनैतिक चेतनाको स्वर हो । यो आवश्यक छ, मूल भँगालो हो । तर, सानो भँगालोमा जीवनका थप पाटा पनि आउनुपर्छ । मैले समाएको मूल भँगालो चाहिँ होइन । सानो भँगालो नै हो । मेरो कथोपकथनको शैली पुरानै हो । मेरा कथामा पाइने गरेको मनोवैज्ञानिक याथर्थवाद पनि नयाँ होइन । तर मेरो परिवेश समकालीन हो । त्यसैले मलाई लाग्छ, नवीन परिवेशमा मेरा कथाले कथाको पुरानै परम्परालाई निरन्तरता दिएका छन् । हेरौँ, पाठकको अदालतमा कसो हुने हो ।

प्रस्तुति प्रकाश अधिकारी PSJ August 28, 2017

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार