सँझ्यामा फरक स्वादका कविता


रामगोपाल आशुतोष

भक्तपुर : सँझ्या साहित्यमा फरक पुस्ताका तीन कविले आफ्ना कविता प्रस्तत गरे । भक्तपुरलाई कला र कविताका लागि पर्यटनक्षेत्रका रूपमा स्थापित गर्ने उद्देश्यका लागि कविताको अतिरिक्त कार्यक्रम गरिरहेको जानकारी गराउँदै सँझ्याका अभियन्ता आशुतोषले भोलिका दिनमा अनुसनधानकर्ता कवि र कविता खोज्न भक्तपुर आउने बताए । समता र समावेशी कार्यक्रमको नमूना सँझ्यामा तीनपुस्ताका कविलाई प्रस्तुत गरिन्छ ।
पचासको दशकपछि कविता लेख्न थालेका कवि प्रोल्लास सिन्धुलीय, साठीको दशकको उत्तराद्र्धपछि कवितामार्फत देखापरेका कवि रञ्जना निरौला र सत्तरीको दशकदेखि कवितामा सक्रीय युवा कवि सुरज रानाले आफ्ना प्रतिनिधि कविता प्रस्तुत गरे ।कवि सिन्धुलीयले धन्यवाद आमा शीर्षक कवितामार्फत महानता र त्यागसमर्पणकी प्रतिमूर्ति आमालाई सम्झिए । श्रीमतीको ड्राइविङ लाइसेन्समार्फत बढ्दो महिला सशक्तिकरण र उनीहरूको प्रतिनिधिमूलक हस्तक्षेपका कारण पुरुष मानसिकतामा पर्न गएको मासिक तनाबको चित्रण गरे । त्यस्तैगरी कमरेड अशोक सुवेदीकी श्रीमतीमार्पmत उनले आस्था, निष्ठा, इमान र राजनीतिक धर्ममा अटल राजनेतालाई महिला आकांक्षा र संसारिक चाहले कसरी प्रभाव पार्छ भन्ने मनोसामाजिक अवसस्थालाई विम्बमा उतारे । अन्य कवितावाचनमा फरक मत र शैलीका साथमा महिला र पुरुषदुवैको हस्तक्षेपकारी सहकार्यविना विकास र संवृद्धि सम्भव नहुने धारणका साथ आफ्ना कवितामा महिला र पुरुषका फरक योगदानको कथा बोले । उनले हामीजस्ताको मन, लोग्ने मान्छे, आफ्नै बासँग, तिम्रो लोग्नेको नाम के हो यशोधरा आदि कविता प्रस्तुत गरे ।

कवि रञ्जना निरौलाले आमाको महिमावर्णित कविता आमा प्रस्तुत गर्दै कविताको श्रीगणेश गरिन् । देशमा होस् या घरमा, विभिन्न सामाजिक , राजनीतिक वा आर्थिक सङ्कट आएको बेला एक जिम्मेवार नागरिकका हिसाबले चुपोलागेर बस्न नसक्ने बताउँदै म कसरी हेर्न सक्छु शीर्षक कविता प्रस्तुत गरिन् । जीवनका विविध याम र आयामलाई विम्बित गर्दै जीवन शीर्षक कविता प्रस्तुत गरिन् भने आग्रह कवितामार्फत देशका समुचित विकास र समृद्धिका लागि हत्याहिंसा, वैमनश्यता र रिसराग त्यागी एकजुट मजबूत भई देशविकासमा लाग्न उनले आह्वान गरिन् । त्यस्तै छोरी, माग, तिमी मान या नमान, मेरो युवा दाइ कवितामार्फत उनले देशका समसामयिक समस्या र तिनका समाधान खोज्न सरकार र सरोकारवालालाई अनुरोध गरिन् ।

युवा कवि सुरज रानाले अक्षरहरू शीर्षक कवितामार्फत भोकका आयतन र आयामको विश्लेषण गरे । लाहुरेनी भाउजू र कुकुर कविताले देशको जल्दोबल्दो लाहुरेदुःख र रेमिटन्स बजारमा बेचिएका युवाको पीडा र तिनैका आश्रित स्वास्नीहरूको यौनमनोविज्ञानको सूक्ष विश्लेषण पस्के । ओ बाहुनी कवितामा बढ्दो इन्ट्रा कल्चर समावेशी संस्कृतिको विम्बमा नेपाली समाजको सटिक चित्र उतारे । जातिपाति, उँचनिच, धनीगरिब र बर्गआदिमा विभाजित नेपाली समाजलाई युवायुवतिको हस्तक्षेपकारी सामाजिक आचरणले मात्र रूपान्तरण ल्याउन सक्छ भन्ने उनको ठहरलाई उपस्थित दर्शकले लामोसमय ताली पिटेर अनुमोदन दिए । उनले मौन पहाड, प्रेम निभेको कोठाबाट आदि कवितामा प्रेमको फरक आयाम र बोध प्रस्तुत गरे । उनका तलब, याद र बोध नेपाली कवितामा फरक स्वाद शैलीका कविता हुन् ।

भक्तपुर साहित्य प्रतिष्ठान सहआयोजक, प्रहार न्युज र ग्रेस एफएम १०७.६ मेगाहर्ज मिडिया पार्टनर रहेको छ । मध्यपुर थिमिको लोहकिल्थलीस्थित ॐ ज्ञान मन्दिर स्कुलमा मासिकरूपमा आयोजना हुने सँझ्या सहित्यको परम्परा अनुसार युवापुस्ताका कवि सुमन हुलाकीले चुनाब शीर्षक बोनस कविता सुनाएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार