काठमाडौँ- जन्म दिने आमाप्रति श्रद्धा प्रकट गर्दै सोमबार आमाको मुख हेर्ने पर्व मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मिष्ठान्न, फलफूल, वस्त्र तथा आभूषण दिएर आमाप्रति आदरभाव गर्ने चलन छ ।  आमा नहुनेले मातातीर्थ कुण्डमा स्नान गरी दिवङ्गत आमाप्रति श्राद्ध तर्पण दान आदि गरेर आमाप्रति श्रद्धा व्यक्त गर्ने प्रचलन छ । जन्म दिने आमा र जन्म भएको धर्ती स्वर्ग समान हुन् भन्ने पौराणिक मान्यता छ ।

वंशजअनुसार निःसन्तान भएका तर कानुनअनुसार धर्मपुत्र धर्मपुत्री राखिएका सन्तानले पनि जन्म दिने आमा सरह नै आमाको मुख हेर्ने चलन छ । आमाबाबु बेपत्ता भई अन्यको आश्रयमा रहेकाले पनि आफू पालिएका संस्थामा सुसारेका रूपमा कार्यरतलाई आमा सरह नै मानेर श्रद्धा गर्ने गरिन्छ ।

वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकलाई वस्त्र तथा भोजन प्रदान गर्ने चलन पनि अचेल चलेको पाइन्छ । गुरु पत्नी, आमाकी दिदी वा बहिनीलाई पनि आमा सरह मानेर सम्मान गर्ने चलन छ ।

भगवान् श्रीरामले लङ्कामाथि विजय प्राप्त गरेपछि जननी जन्म भूमिश्च स्वर्गादपी गरियसी अर्थात् जन्म दिने आमा र जन्म भएको धर्ती स्वर्गभन्दा प्यारो हुन्छ भनेर जितिएको लङ्कालाई परित्याग गरेर जन्मभूमि अयोध्या फर्किएको रामायणमा उल्लेखित वर्णनबाट आमाको असिम महिमा व्यक्त हुन्छ ।

सेतो मच्छिन्द्रनाथको लगनटोलमा रहेको आमाको मन्दिर र पशुपति आर्यघाट ब्रह्मनाल पारि रहेको आमाको प्रतिमामा यसै दिन आमा नहुनेले पूजा अर्चना गर्ने प्रचलन छ । आमाको काख अरूको लाख भन्ने उखान चर्चित छ ।

मातातीर्थ कुण्डमा भक्तजनको भीड

चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीको दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औँसीका दिन यहाँ मेला लाग्ने गर्दछ । कुण्डमा स्नान गरेपछि आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन् । दिवंगत माताको स्मरणमा उक्त कुण्डमा स्नान गरेर पवित्र मनका साथ तर्पण दिएपछि र पोखरीमा हेरेमा जन्म दिने माताको स्वरूपको दर्शन पाइने जनविश्वास छ ।

उक्त कुण्डमा वैशाख कृष्ण औँसीका दिन एक जना ग्वालाले प्यास लागेर पानी खान जाँदा दिवंगत भएकी आफ्नो माताको स्वरुप देखेको किंवदन्ती पाइन्छ ।

नगरपालिकाका उपप्रमुख लीसा नकर्मीले त्यहाँ आउने भक्तजनको सुविधाका लागि सुरक्षाकर्मी, स्वयम्सेवकको व्यवस्थापन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार दिवंगत भएकी माता प्रसन्न भइदिएको आशीर्वादको प्रभावले छोराछोरीहरू शान्ति, सुखी र समृद्धि हुने पनि विश्वास गरिएको छ । उक्त स्थानलाई धार्मिक पर्यटकीयस्थलका रुपमा प्रवद्र्धन गर्न गृहकार्य भइरहेको उपप्रमुख नकर्मीले जानकारी दिनुभयो ।

स्वस्थानी कथामा यो कुण्डमा सतीदेवीको अंग पतन भई मातुलेश्वर महादेवको उत्पत्ति भएको प्रसंग पाइन्छ । हिन्दू धर्मावलम्बीले जन्म दिने आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन मान्यता तथा विश्वासका साथ सो तीर्थस्थलमा मेला भर्न आउने गर्दछन् । विशेषगरी आमा दिवंगत भएका भक्तजन आउने उक्त तीर्थस्थलमा काठमाडौँ तथा त्यस वरपर क्षेत्रबाट भक्तजनको सहभागिता बढेको छ । आमाप्रति सम्मान गर्ने र आमालाई सम्झने दिनका रुपमा हिन्दूले आजको दिन दिवसका रुपमा मनाउने गर्दछन् । स्थानीय गुर्जुधारादेखि मातातीर्थसम्म चल्ने सवारी साधनलाई आज निषेध गरी अन्यत्रैबाट वैकल्पिक व्यवस्था गरिएको छ ।

प्रकाशित मिति - सोमवार, बैशाख ३, २०७५