प्रहार न्युज

मदन-आश्रित स्मृति दिवसमा बोल्दै यस्तो भने प्रचण्डले

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मदन-आश्रित स्मृति दिवसको दिन एमाले र माओवादीबीच पार्टी एकता गर्न पाउँदा आफूलाई गर्व लागेको बताएका छन् । प्रचण्डले मदन-आश्रित स्मृति दिवसको दिन पार्टी एकता गरौं भनेर आफूले नै प्रस्ताव गरेको जानकारी पनि गराए । २५ औं मदन- आश्रित स्मृति दिवसको अवसरमा एमाले पुरानो पार्टी कार्यालय बल्खुमा बिहीबार बिहान आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘आज नै मदन भण्डारी अवसान भएकै दिन पार्टी एकता गरौं भनेको मैले हो । मलाई गर्व छ आजकै दिन हामी पार्टी एकतामा जादैछौं ।’

आज नयाँ प्रक्रिया शुरु गर्न लागेको बताउँदै प्रचण्डले भने, ‘यो नै कमरेड मदन र आश्रितप्रतिको सच्चा सम्मान हुनेछ ।’

एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा २०५० साल जेठ ३ गते जिप दुर्घटनामा निधन भएको थियो । मदन-आश्रित स्मृति दिवसमा माओवादी सहभागी भएको यो पहिलो पटक हो ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology