प्रहारन्युज डेक्स

गृहमन्त्री बादलको पहिलो हिट लिष्टमा परे पोखराका ठेकेदार सुरेन्द्र बस्नेत

पोखरा: तोकिएको समयमा काम नसक्ने एकजना ठेकेदारलार्इ प्रहरीले पक्राउ गरेको छ । गृहमन्त्री रामबहादुर थापाको कडा निर्देशनपछि जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले सिरूवा कन्ट्रक्सनका निर्माण व्यवसायी सुरेन्द्र बस्नेतलार्इ पक्राउ गरेको हो ।

ठेक्का दिएको लामो समयसम्म पनि काम नसकेपछि सिरुवा कन्सट्रक्सन कम्पनीका सुरेन्द्र बस्नेतलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको हो।

सिरूवा कन्ट्रक्सनले पृथ्वी राजमार्गअन्तर्गत कास्कीको गगनगौँडादेखि लेखनाथ नगरपालिकासम्मको एक हजार चार ७४ मिटर लामो सडक डेढ वर्षमा बनाइसक्ने गरी ठेक्का लिएको थियो । तर निर्धारित समय गुज्रेको लामो समयसम्म पनि बस्नेत काम नगरी सडक अलपत्र छाडेका थिए ।

तोकिएको समय गुज्रिसकेर लामो समय हुँदा पनि सडक नबनाएका कारण उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

गृहमन्त्री थापाको निर्देशनपछि बस्नेतलार्इ जिल्ला प्रशाससन कार्यालय कास्कीको निर्देशनमा पक्राउ गरिएको उनले बताए ।

जिम्मेवारी लिएको काममा ढिलाइ गर्ने ठेकेदारलाई कारबाही गर्ने गृह मन्त्रालयले निर्देशन दिए लगत्तै पक्राउ गरिएका उनलार्इ कास्की प्रहरीले समयमै काम सक्ने सर्तमा उनी शुक्रबारै रिहा गरेको छ ।

गत वर्ष असारभित्रै सक्ने गरी सम्झौता भएको उक्त ठेक्का उनले अहिलेसम्म पूरा गरेका छैनन् । पोहोर नसकेको कामका लागि गएको चैतसम्मको समय थप भएको थियो ।

उक्त सडक पिच गर्न गिटीमात्रै छरेर अलपत्र छाडेको भन्दै स्थानीयले पटकपटक विरोध जनाएका थिए । प्रशासनले गृह मन्त्रालयको निर्देशन कार्यान्वयन गर्न भनेअनुरुप ठेकेदार पक्रेर छिटो काम सक्ने लिखित प्रतिबद्धता जनाएको कागज गरी छाडिएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी खड्क खत्रीले जानकारी दिए ।

उक्त सडक पिच गर्न सडक डिभिजन कार्यालय पोखराले २ करोड रुपैयाँमा ठेक्का दिएको थियो । बस्नेत स्वामित्वको सरुवा कन्ट्रक्सनले कछुवा गतिमा काम गर्दा दुर्घटना र प्रदूषण बढेको सिकायत स्थानीयले गर्दै आएका थिए ।

गृहमन्त्रालयले बुधवार तोकिएको समयमा काम नगर्ने निर्माण कम्पनीको सूची एक संकलन गरेर सातामै पठाउन जिल्ला प्रशासन कार्यालयलार्इ पत्र पठाएर निर्देशन दिएको थियो। पत्रसँगै तोकिएको समयमा काम नसक्ने ठेकेदारलाई पक्राउ गर्न पनि गृहमन्त्री थापाले निर्देशन दिएपछि प्रहरी सक्रिय भएको हो ।

केशवशरण लामिछानेको समाचार आजको अन्नपुर्ण पोष्टले छापेको छ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology