दक्षिण कोरियामा ‘कमिटेन्ट’ कामदारहरूको संख्या बढ्दै

काठमाडौं– वैदेशिक रोजगारीको लागि निकै आर्कषक गन्तव्य मानिएको दक्षिण कोरियामामा कमिटेन्ट कामदारहरूको संख्या बढ्दै गएको छ । ४ वर्ष १० महिनाको करार अवधि पुरा गरि पुनः सोहि देशमा रोजगारीको लागि फर्किनको लागि रोजगारदाताबाटै ‘लेबर कन्ट्रयाक्ट’ लिई स्वदेश फर्किने ‘कमिटेन्ट’ कामदारहरूको संख्या बढ्दै गएको हो ।

कमिटेन्ट कामदारहरूले पुनः दक्षिण कोरिया फर्किनको लागि इपिएस कोरिया शाखाले लिने कुनै पनि परीक्षामा सहभागी हुन पर्ने छैन । सन् २०१७ पछि मात्रै नेपाली कमिटेन्ट कामदारको संख्या सय जना नाघेको इपिएस कोरिया शाखाले जनाएको छ । जसको कारणले दक्षिण कोरियाले २०१७ का लागि सिबिटी परीक्षा स्थगित गर्ने संकेत देखिएको छ ।

इपिएसले सञ्चालन गर्ने परीक्षाहरू उत्तिर्ण गरि प्रतिक्षा सूचीमा धेरै कामदारहरू रहेकोले यस बर्षका लागि सिबिटी रोकिने संकेत देखिएको छ । परीक्षा पास गरेर लामो समय रोस्टरमा रहेका युवाहरू कोरिया प्रवेश गर्न असमर्थ रहेकोले कोरियाली श्रम मन्त्रालयले इपिएस लागू गरिएका १६ देशमा सिबिटी परीक्षा रोक्ने संकेत आफूहरूले पाएको तर औपचारिक जानकारी भने नआएको शाखाका अधिकृत शोभाखर भण्डारीले प्रभावलाई बताए ।

सिबिटी पास गरेको दुई बर्षभित्रमा कम्पनीबाट माग नभएको अवस्थामा रोस्टरबाट स्वत नाम हटाउने गरिएको छ । तीन बर्ष कोरिया बसेर फर्केकाहरूको लागि २०१३ देखि सिबिटी परीक्षा प्रणाली शुरु गरिएको थियो । हालसम्म १५ चरणमा सिबिटी परीक्षा भएको छ । इपिएस कार्यालयले दिएको जानकारी अनुसार हाल सिबिटि परीक्षा उत्तिर्ण गरेका मात्रै १५ सय भन्दा बढी कामदारहरू प्रत्तिक्षा सूचिमा छन् ।

त्यस्तै २०१५ मा उत्तिर्ण भएका १८ सय बढि र २०१६ मा उत्तिण भएका ३५ सय बढि समेत गरि कुल प्रत्तिक्षा सूचिमा रहेका कामदारहरू ६ हजार ८ सय बढि रहेको पनि शाखाले जनायो । १६ देशमा सञ्चालित सिबिटी परीक्षाबाट पास भएर प्रतिक्षा सुचीमा रहेकाहरूलाई २०१७ मा कोरिया फर्कन अवसर दिने कोरियाली श्रम मन्त्रालयको तयारी रहेको स्थानिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

इपिएस कार्यालयले १५औँ चरणको सिबिटी परीक्षा पश्चात १६औँ चरणको परीक्षा संचालन गर्ने नगर्ने बिषयमा मानव संशाधन विकास (एचआरडी)ले कुनै जानकारी हालसम्म नदिईएको जनाएको छ । कोरियामा अन्य देशका कामदारहरूको तुलनामा नेपाली कामदारहरू सबैभन्दा कम गैरकानुनी रूपमा बसेको देखिने गरको छ । पछिल्लो समय अवैधानिक नेपाली कामदारहरू सात सय ७३ जना रहेको बताइएको छ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology