प्रहारन्युज डेक्स

मुख्य मन्त्री नै बसे रातभर धर्ना

नयाँदिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल उपराज्यपालको कार्यालयमा रातभरि धर्ना बसेका छन्। तीनजना मन्त्रीसहित उनी सोमबार रातभरि उपराज्यपालको कार्यालयमा धर्ना बसेका हुन्।

आइएएस अधिकारीको हड्ताल रोक्ने निर्देशन दिन र चार महिनादेखि काम रोकिरहेका अधिकारीलाई कारबाही गर्नुपर्ने माग लिएर मुख्यमन्त्री केजरीवाल दिउँसो उपराज्यपाललाई भेट्न गए। तर उपराज्यपाल अनिल बैजलले उनका मागलाई गम्भीरतापूर्वक लिएनन्।

त्यसपछि केजरीवाल उपमुख्यमन्त्री मनिष सिसोडिया, मन्त्रीहरू गोपाल राय र सत्येन्दर जैनसँगै कार्यालयको अतिथि कक्षमा धर्ना बसे। दिल्लीको इतिहासमा पहिलो पटक मुख्यमन्त्री उपराज्यपालको कार्यालयमा धर्ना बसेका हुन्।

डाइबेटिकका बिरामी केजरीवालले घरबाट ल्याएको खाना खाएका थिए।

बिहान साढे ६ बजे ट्वीट गर्दै केजरीवालले संघर्ष जारी रहेको ट्वीट गरेका छन्। उनको दल आपका सांसद/नेता र कार्यकर्ता कार्यालयबाहिर धर्ना दिएका छन्।

उपराज्यपालको कार्यालयले भने यो विना कारणको धर्ना भएको बताए।एजेन्सी

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology