प्रहारन्युज डेक्स

सत्तारुढ दलकै विद्यार्थीहरुको सरकारविरुद्ध प्रर्दशन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विद्यार्थी संगठन आफैं सरकारविरुद्ध सडक आन्दोलनमा होमिएका छन्।

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन दवाव दिँदै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आवद्ध अनेरास्ववियू र अखिल क्रान्तिकारीले मंगलबारबाट सडक आन्दोलन सुरु गरेका हुन्।

संयुक्त विद्यार्थी संगठनको आह्वानमा शान्ति वाटिकामा आयोजित कोणसभामा बोल्दै अनेरास्ववियूकी अध्यक्ष नविना लामाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सडक आन्दोलन सुरु गर्नु परेको बताइन्। उनले जनजीविका, मुलुकको शैक्षिक मुद्दालाई आफूहरुले सदा उठान गरिरहने प्रतिवद्धता पनि व्यक्त गरिन्।

अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले सरकारले अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको बेला भने समायोजन गर्ने नगरेको भन्दै आक्रोश व्यक्त गरे। उनले मुलुकभित्रै रहेको पेट्रोलियम पदार्थको उत्खनन् किन नगरेको भनि सरकारलाई प्रश्न पनि गरे।

प्रधानमन्त्रीको पुत्ला दहन

सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिको विरोधमा देशभर विरोध प्रर्दशन गर्दै आएको नेविसंघले आज प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ।

राजधानीको गोंगबुमा भेला भएका नेविसंघका कार्यकर्ताहरुले प्रधानमन्त्री विरुद्ध चर्का नारवाजी गर्दै पुत्ला दहन गरेका हुन्। त्यसक्रममा नेविसंघका विद्यार्थी र प्रहरीबीच केहीबेर पुत्ला र झण्डा खोसाखोस भएको थियो।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology