Prakash

श्रीमानको चक्कु प्रहारबाट श्रीमती घाइते, छोराको मृत्यु

पोखरामा एक ब्यक्तिले श्रीमती र छोराको घाँटी रेटेका छन् । मकवानपुर घर भई हाल पोखरा लेखनाथ–१५ रामबजार कालिका मार्गमा बस्ने ३९ वर्षीय पेन्टर काम गर्ने रामजी घलेले आफ्नो ३२ वर्षीया श्रीमती सुमित्रा घले र ११ वर्षीय छोरा ज्ञापन घलेको घाँटी रेटेको आरोप लागेको हो । घटना लगत्तै छोरा ज्ञापनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सँगै बस्दै आएकी सुमित्राकी आमाको अनुसार मंगरबार राति करिब साढे १ बजेतिर सुमित्राले गुहार मागेको र आमाले हतारहतार ढोका खोल्दा छोरी सुमित्रा घाँटीबाट रगत बगिरहेको रगताम्मे अबस्थामा भेटिएकी थिइन् ।सुमित्रा र रामजी एउटा कोठामा सुत्थे । टिनको घर जसमा ढोकाबाट छिर्ने बित्तिकै प्रवेश हुने कोठामा सुमित्रा र छोरा ज्ञापन सुत्थे भने त्यो कोठा हुँदै भित्र किचनमा श्रीमान् रामजी सुत्ने गर्थे ।
‘के भयो’ आमाले भन्दै थिइन् । ‘आमा ढोका लगाउनु त्यसले छोरा मा¥यो तपाईलाई पनि मार्छ’ भारी जिउकी सुमित्राले छट्पटिदैँ भनेकी थिइन् ।

सुमित्राकी आमाले बाहिरबाट ढोका लगाइन् । भित्र नाति ज्ञापन रगताम्मे अवस्थामा ढलेको थियो भने रामजी पनि घाटीबाट रगत बगेर छटपटिदै थिए ।त्यस लगत्तै स्थानीयलाई गुहार मागियो । स्थानीय आउनु अघि सुमित्राले भित्तामा ‘मलाई रामजीले मारेको हो’ भनेर रगतले लेखिकी थिइन् । गुहार सुनेर आएका स्थानीयले सुमित्रालाई अस्पताल लगे भने घटना बारे वडा प्रहरी कार्यालय रामबजारमा खबर गरेका थिए ।घटना स्थल प्रहरीले सुमित्राका श्रीमान् रामजीलाई उपचारको अस्पताल पठाएको थियो । अहिले सुमित्राको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल गण्डकीको आइसियुमा उपचार हुँदै छ भने श्रीमान्को मणिपाल शिक्षण अस्पतालमा उपचार हुँदै छ ।

घटना स्थलको प्रकृति हेर्दा श्रीमान् रामजीलेनै गरेको जस्तो देखिएको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख तथा इन्स्पेक्टर दीपक केसीले बताए । ‘बाहिरी मान्छेको कुनै संलग्नता देखिदैँन । श्रीमान् रामजीले तरकारी काट्ने चक्कुको प्रयोग गरेको देखिन्छ ,’ इन्स्पेक्टर केसीले भने, ‘सुमित्राकी आमाको भनाई र घटना स्थल हेर्दा रामजीले नै घटना घटाएको देखिन्छ, थप अनुसन्धान पनि भई रहेको छ ।’कहिले झगडा नगर्ने श्रीमान् श्रीमती बिच यस्तो घटना कसरी भयो भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । ‘श्रीमती सुमित्रा गर्भवती थिइन् हिजो सुत्नु अघि सामान्य भनाभन भएको सुमित्राको आमाले सुनाइन,’ उनले भने, ‘सुमित्राले पेट दुख्यो भन्दै थिइन् रे । श्रीमानले भोलि अस्पताल जाम्ला भन्दै थिए रे ।’ त्यतिले मात्र घटना हुन सक्ने सम्भावना नरहेको स्थानीय बताउँछन् ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology