प्रहारन्युज डेक्स

नेपाली ‘माउन्टेन बाइकर’ महर्जनको श्रीलंकाको नदीमा खसेर मृत्यु

नेपाली ‘माउन्टेन बाइकर’ महर्जनको श्रीलंकाको नदीमा खसेर मृत्यु भएको छ । श्रीलंकामा आयोजना गरिएको इन्टरनेशनल रेश प्रतियोगितामा सहभागी काठमाडौंका नारायणगोपाल महर्जनको बुधबार महावेली नदीमा खसेर मृत्यु भएको हो ।

महर्जनका आफन्तले शव छिटो नेपाल ल्याइदिने पहल गर्न सरकारसमक्ष अनुरोध गरेका छन् । आर्थिक अवस्था कमजोर भएको र आम्दानीको स्रोत पनि केही नभएकोको कारणले श्रीलंका पठाउँदा पनि चन्दा संकलन गरेर पठायौं । महर्जनको शब नेपाल ल्याउन अपठ्यारो भएको, राष्ट्रियस्तरको खेलाडीका लागि सरकारको सहयोगको आशा राखेका छौं एक आफन्तले बताए।

एएफपीले श्रीलंकाको प्रहरीलाई उद्धृत गर्दै राजधानी कोलम्बोबाट २३० किलोमिटरको दूरीमा रहेको कुडा ओया नदीमा खसेर नेपालीको मृत्यु भएको जनाएको छ ।

श्रीलंकन एयरलाइन्सले ‘रुम्बल इन जंगल’ नारा दिएर ९ जूनदेखि १५ जूनसम्म अन्तर्राष्ट्रिय रेस प्रतियोगिता आयोजना गरेको थियो । ३९ प्रतियोगी रहेको प्रतियोगितामा नेपालसँगै बेलायत, जर्मन, इटाली र स्विजरल्यान्डका बाइक राइडर सहभागी थिए ।

महर्जनको मृत्यु भएपछि प्रतियोगिता स्थगित गरिएकाे छ । आयोजकले एक विज्ञप्ति जारी गर्दै स्थगनकाे घोषणा गरेको हाे ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology