प्रहार न्युज

सुन तस्करी प्रकरणमा यसरी झुक्दै छ सरकार, गोरेको ‘घनचक्कर’ नाटक मात्र

काठमाडौं – साढे ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणी उप्रेती गोरेको ‘पागलपन’ले सुन तस्करीका ठूला र शक्तिशाली व्यक्तिको संलग्नता पुष्टि हुनबाट जोगिने देखिएको छ । असार मसान्तसम्म समयसीमा रहेको गृह मन्त्रालयका सहसचिव इश्वरराज पौडेल नेतृत्वको विशेष छानबिन समितिले ठूला माछाको पोल लुकाउनका लागि पनि गोरेको ‘पागलपन’लाई कारक बनाउन सक्ने अनुमान गरिएको छ ।

 

सुन तस्करी प्रकरणमा प्रहरीका पूर्वअधिकारीदेखि राजनीतिक दलका नेताहरू, पूर्वमन्त्री र प्रशासकहरूको पनि संलग्नता पुष्टि हुने देखिएपछि केन्द्रीय कारागार गोलघरमा गोरेले घनचक्करको नाटक गरिरहेका छन् । केही तिक्ष्ण दिमाग भएका व्यक्तिलाई समाजमा पागल भनिन्छ जब उनीहरूको ज्ञानलाई बुझिँदैन तर गोरेको हकमा बुझेर पनि पागल बनाउने कोशिश गरिएको अनुमान सर्वत्र छ । ‘यस प्रकरणमा निक्कै ठूला र शक्तिकेन्द्रको नजिक रहेकाहरू पनि फँस्ने देखिए पछि गोरेले पागलपनको नाटक गरिरहेको हुनसक्छ’, एक उच्च अधिकारीले भने,‘डाक्टरहरूको भनाईले त्यहि संकेत गरिरहेको छ ।’

 

उनी आजभोली गोलघर भित्र एक्लै बोलिरहने, बरबराउने एक थरी कुरा सोध्यो अर्कै थरी कुरा गर्ने गरेको सुन्धारा कारागार स्रोतले जनाएको छ । मानसिक रोगका डाक्टर कृष्ण गौतमका अनुसार गोरे तनावका कारण एक्लै बरबराउन थालेका हुन् । मानसिक अवस्था सन्तुलनमै रहेको उनको भनाई छ । डाक्टरको यो भनाईले पुष्टि गर्छ– गोरे घनचक्कर भएको नाटक गरिरहेका छन् । गोरेले निद्रा लाग्ने र तनाव नहुने औषधि पनि लिएका छैनन् । उनले कन्ट्रोल गर्न सक्ने बताउँदै औषध उपचार लिएका छैनन् । सुन तस्करीका मुख्य अभियुक्तहरू गोरेसहित छिरिङ वाङ्गेल घले र भुजुङ गुरुङलाई सम्पति शुद्धीकरण आयोगले २८ जेठमा काठमाडौंमा उपस्थित गराई मुद्धा चलाएको थियो । सोही क्रममा छानबिन समितिले थप अनुसन्धान गरेको थियो ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology