प्रहार न्युज

बाढीको वितण्डामा भक्तपुरको जर्जर दृश्य (हेर्नुहोस भिडियोसहित)

बुधबार रातभर निरन्तर बर्षाभएपछि डुबानमा परेको भक्तपुरको दृश्य हो, यो । नितन्तरको बर्षापछि हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरस्थित मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार, राधेराधे, निकोसेरा, दुवाकोट, सिर्जनानगर, सल्लाघारी, जगाती र लिवाली आसपासका सयौं घर डुबानमा परे ।

निजीघरसँगै विद्यालय, अस्पताल र मठमन्दिरहरू डुबानमा परेका छन् । हनुमान घाट, बाराही क्षेत्र आसपासका घरहरु, सिद्धिस्मृति प्रतिष्ठान, शान्ति निकेतन माविलगायतका बिभिन्न विद्यालय समेत डुबानमा छन् । हनुमन्ते खोलाको निकास सानो भएका कारण बाढी बस्ती पसेको हो ।

बाढीका कारण यसआसपासका सडक तथा बस्तीहरुमा चार फिटसम्म पानी जमेको थियो । सडकमा गुडिरहेका गाडी र पार्किङ गरिरराखेका थुप्रै सवारी साधन डुबानमा परे । अरनिको राजमार्ग अवरुद्ध भयो ।

राति घरमा सुतिरहेका घरभित्रै थुनिए । घरबाट निस्केर भाग्न खोज्नेको बिचल्ली भयो । बाढी सटरभित्र पसेपछि पसल व्यवसाय गरिरहेकाको पनि बिचल्ली भयो ।

उद्दारमा ढिलाई

रातभरको बर्षाका कारण डुबानमा परेका भक्तपुरबासीले बिहानै उद्दारको आश गरेका थिए । तर, बिहीबार अबेरसम्म पनि उद्दारका काम अघि बढेन । बिहीबार ढिला नै भए पनि सरकारी तबरबाट उद्दारको काम भयो ।

पहिरोमा पुरिएर तीनजनाको मृत्यु

लगातारको बर्षापछि भक्तपुरकै चाँगुनारायण नगरपालिका–७ मझुवा बागेहिटीमा खसेको पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।

पहिरोमा पुरिएर स्थानीय ७० वर्षीय हिराबहादुर लामा, ६५ वर्षीया तानमाया लामा र नातिनी २ वर्षीया सम्पदा लामाको मृत्यु भएको हो ।

काठमाडौं र बनेपामा डुबान

भक्तपुरसँगै काठमाडौंका पनि विभिन्न स्थान पनि बाढीका कारण डुबानमा पर्यो । बागमती र विष्णुमती नदीमा आएका बाढीका कारण त्यसआसपासका कतिपय स्थान डुबानमा परेको हो । त्यस्तै ललितपुरका विभिन्न स्थानमा पनि पनि डुबान भएको छ । भक्तपुरसँग सीमाना जोडिएको काभ्रपलाञ्चोक जिल्लाको बनेपा बजार पनि डुबानमा परेको छ । काभ्रेकै नमोबुद्ध नगरपालिका–६ स्थित खाक्सेको रोशीखोलाको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको छ ।

खानेपानीको काम गर्ने डोरज अप्रेटर नारायण श्रेष्ठ र उनका सहयोगीलाई हेलिकप्टरबाट उद्दार गरी काठमाडौं ल्याइएको हो । यससँगै देशमा विभिन्न भूगोलमा आएको बाढी तथा खसेको पहिरोका कारण नागरिकको दैनिकी प्रभावित भएको छ ।

अझै निरन्तर तीनदिन बर्षा हुने

मौसम पूर्वानुमान महाशखाले अझै तीनदिन काठमाडौं उपत्यकामा निरन्तर बर्षा हुने जनाएको छ । महाशाखाले विज्ञप्ति जारी गरेर तीन बर्षा हुने भन्दै र सम्भावित दुर्घटनाबाट बच्न सर्वसाधारणलाई सचेत गराएको छ ।

महाशाखा अनुसार देशभर हल्कादेखि मध्यम खालको वर्षा हुने छ । पूर्वका केही स्थानमा भने भारी वर्षा हुनसक्ने सम्भावना छ । बिहीबार देशभरि नै बदली रही मध्य र पश्चिमका अधिकांश स्थानमा र पूर्वका केही स्थानमा मध्यम खालको वर्षाको सम्भावना छ भने साँझ र राति पनि देशभरि नै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बाढी

केही दिनदेखिको अविरल वर्षका कारण देशैभरको जनजिवन निकै प्रभावित बनेको छ । बाढीका कारण तराई क्षेत्रमा त वर्सेनि सताउने गरेको थियो नै यस पटक त उपत्यकामा नै बाढीले बिचल्ली बनायो । उपत्यकाको भक्तपुरमा नै यो अवस्था छ भने सोच्नुहोस् देशका अन्य ठाउँहरुमा के हालत होला । विगतका वर्षहरुमा गएको बाढीले तराईका मानिसहरुको दैनिकी कस्तो होला ? र अझै के के हुने होला ?

सरकारको सार्थक उपस्थितिको खाँचो यस्तै सास्ती भएको बेला हो । राज्य भएको अनुभूती यस्तै विपदमा हो तर राज्यले यो अवस्थामा खासै उपस्थिती देखाउन भने सकेको छैन । हामी प्रयासरत नै छौ भन्ने नियमित र बनिबनाऊ जवाफमा मस्त छन् राज्य सञ्चालकहरु ।

नेपालमा बाढीको समस्या कुनै नौलो समस्या होईन । बर्सेनी बाढी आउने र मानिसहरुको जनजीवन प्रभावीत भइरहेको छ । तर यसको समाधान कहिल्यै निकालिएन वा निकाल्ने प्रयास नै गरिएन । बाढीका कारण देशका बिभिन्न क्षेत्रका मानिसहरु घरवारबिहिन हुने गरेका छन ।

सरकारको ध्यान उनीहरुलाई राहत वितरणमा जान्छ तर त्यसको दिर्घकालिन समाधानमा भने कहिल्यै गएको पाईएन । जो सरकारमा गएपनि बाढीको समस्या हल गर्ने आश्वासन बाहेक खासै बाढी पीडितले अरु केही पनि पाएका छैनन् । र गएको साल बाढीले विस्थापित भएकाहरु अवस्था अझैपनि नाजुक नै छ । अविरल वर्षाका कारण आएको बाढीले पुरा देश नै आक्रान्त छ । यो विषयमा सांसदहरुले संसदमा पनि चर्कै आवाज उठाएका छन । उनीहरुले बाढीले देश नै अस्तव्यस्त भईराखेको बेला फोटो खिच्दै पानिजहाजको कुरा गरेर समाजिक सञ्जालमा मजाक बनाउनेलाई साईबर क्राईम अन्तर्गत कारबाही गर्न समेत माग गरेका छन ।

जतिबेला राज्यको सार्थक उपस्थितिको खाँचो थियो त्यहिबेला उसको व्यबहारले थप बिजोग बनायो भन्ने आक्रोश बाढीपीडतहरुमा अहिले पनि देखिन्छ । राज्यको अभिभावकत्वको अभावले नागरिकको चिल्लीबिल्ली भएको ताजा दृश्य छ । समस्या बढ्दो छ । अहिले त समस्या बाढीको मात्र छ तर यसले थप समस्या निम्त्याउने खतरा बढेको छ । अहिलेको बाढी त सुरुवाती चरण मात्र हो । किनिकी, बर्षात्को खास मौसम आउन बाँकी नै छ । पोहोर तराईमा बाढीका कारण मृत शरिरलाई !गाड्ने ठाउँ समेत नपाएर नदिमा नै बगाईएको घटना ताजै छ । बाढीले त्यो सम्मको दर्दनाक अवस्थाको सिर्जना गरेपनि अहिलेसम्म त्यसलाई रोकथाम गर्ने खासै कार्यहरु भएको पाईएको छैन । बाढी आएपछि मात्र रोकथामाका उपाए खोज्ने प्रबित्तिका कारण बाढी सधैँको समस्या बनिरहेको छ । र यस वर्ष पनि बाढीले पहिले कै जस्तो विचल्ली बनाउने निश्चित छ । त्यसकारण सरकार भविस्यमा आउनसक्ने खतराको बारेमा चनाखो हुन जरुरी छ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology