प्रहारन्युज डेक्स

यस्तो छ राजा वीरेन्द्रको घर अर्थात् श्री सदन, अब सर्वसाधारणले पनि हेर्न पाउने

काठमाडौं । नारायणहिटी दरबारभित्र रहेको राजा वीरेन्द्रको घर अर्थात् श्री सदन । कुनै बेला निकै नै शक्ति, शान, मान र ओजको प्रतीक मानिन्थ्यो ।

नारायणहिटी परिसरको उत्तरी भागमा रहेको त्यही श्री निवास विगत १७ वर्षदेखि भने एक्लिएको छ । दरबार हत्याकान्डमा वीरेन्द्रको वंशनाश भएपछि यो निवासमा पनि ताला लट्कियो ।

हुन त २०६२र०६३ को जनआन्दोलनले मुलुकबाट राजतन्त्रको बिदाइ नगरुन्जेल तत्कालीन राजा ज्ञानेन्द्रले नारायणहिटीको भोगचलन गरे । तर, यो निवास शक्ति र शानकाबीचमा पनि नितान्त एक्लो नै रहिरह्यो ।

राजतन्त्रको अन्त्यसँगै नारायणहिटी दरबार सर्वसाधारणका लागि सार्वजनिक गरिएपनि ५० वर्ष आयु भुक्तान गरिसकेको वीरेन्द्रको यो निवास भने आममानिसका लागि खुला गरिएन ।

विसं २०२३ सालमा बनाइएको श्री सदन अब भने केही समयमै सर्वसाधारणको अवलोकनार्थ सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

यो निवासको आँगनमा रहेको घन्टी राजा वीरेन्द्रले ‘घर पनि मन्दिर हो’ भन्ने सोचका साथ स्थापना गरेको बताइन्छ ।

तीन तलाको निवासमा प्रवेश गर्नेबित्तिकै राजपरिवारका तस्वीरले इतिहासतिर तानिहाल्छ । यसको सजावटमा कुनै परिवर्तन गरिएको छैन । जसरी पहिला सजाइएको थियो, त्यही अवस्थामा राखिएको छ ।

राजा वीरेन्द्रको परिवारको डाइनिङ हल, धारा भने खिया लाग्न थालिसकेको छ । डाइनिङ हलको आडमा रहेको छ, रानी ऐश्वर्यको कार्यालय ।

पहिलो तलामा प्रवेश गर्नेबित्तिकै दाहिनेतर्फ राजा वीरेन्द्र र रानी ऐश्वर्यको शयनकक्ष छ । शयनकक्षसँगै रहेको छ, राजा वीरेन्द्रको निजी कुकुर बस्ने ठाउँ ।

राजा वीरेन्द्रको पोसाक राख्ने दराजमा रहेका पोसाक हत्याकान्ड भएको भोलिपल्टदेखि खाली गरियो । कारण थाहा छैन १

बैठककक्ष । हेर्दा साधारण लाग्ने बैठककक्षका सोफाहरु जुन अवस्थामा छोडिएको थियो, त्यही अवस्थामा छ । राजा वीरेन्द्रको अतिप्रिय टेलिभिजन पनि यत्तिकै अलपत्र छ ।

तेस्रो तलामा रहेको छ, राजकुमार निराजनको शयनकक्ष । विद्यार्थी जीवनदेखि नै खेलकुदमा अतिरुचि राख्ने निराजनको शयनकक्षको भित्तामा आफैं टांगेका सामग्री पनि जस्ताको तस्तै छन् ।

निराजनको शयनकक्षसँगै रहेको ब्यायामकक्षमा टांगिएका ब्यायाम सामग्री भने धुलोले हेरिनसक्नु भएको छ ।

अधिराजकुमारी श्रुतिको शयनकक्ष हेर्दा निकै नै सामान्य लाग्छ । तर, भित्ताको बुट्टाजस्तै बेड श्रुतिको इच्छाअनुसार नै बनाइएको थियो ।

पूजा कोठा । तर, यहाँका भगवानका मूर्तिहरु भने हटाइएका छन् । यहाँ रहेका बहुमूल्य सरसामान राजदरबार हत्याकान्डपछि राजपरिवारकै अरु सदस्यले लगेको भनिन्छ ।

राजा वीरेन्द्रको इच्छामा सजाइएका जनावरका आकृति अहिलेपनि सजीव लाग्छ ।

एउटा दुःखद् इतिहासको साक्षी बनेको श्री सदन सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको संग्रहालयका प्रमुख अद्धैत श्रेष्ठले जानकारी दिए । इमेज खबरबाट

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology