प्रहार न्युज

ओलीको सपना पुरा हुदै : अर्को वर्ष सम्म नारायणीमा पानीजहाज चलाउने यस्तो छ तयारी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली प्रायः भाषणहरुमा नेपालसम्म पानीजहाज ल्याउने विषय बोल्न छुटाउँदैनन् । नेपाललाई पनि जलमार्गद्वारा जोड्न र समुन्द्रसम्मै पहुँच स्थापित गर्न भारतसँग द्वीदेशीय समझदारी भएपछि प्रधानमन्त्रीकै निर्देशनमा एक अध्ययन समिति बनिसकेको छ । एक चरणमा भारतीय जलमार्ग सम्वद्ध अधिकारीहरु नेपालमै आएर छलफल गरेर फर्किएका छन् । अध्ययन समितिका संयोजक तथा जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्बासेका अनुसार भारतसँग छलफल र परामर्श सुरु भए पनि अहिलेसम्म जलमार्गका लागि स्थलगतरुपमै अध्ययन भने थालिएको छैन । त्यसका लागि तयारीहरु भइरहेको उनको भनाइ छ । ‘समितिले जलमार्गका लागि प्रस्ताव गरिएका नदीहरुबारे गरिएका विभिन्न प्रकारका अध्ययन दस्तावेजहरुको अध्ययन गरिरहेको छ,’ उनले भने, ‘यस्तो जलमार्गको विकासका लागि के–के गर्नुपर्छ भनेर अन्तर्राष्ट्रिय अभ्यासहरुलाई केलाइरहेका छौं । यसै सिलसिलामा आगामी सेप्टेम्बरको तेस्रो हप्ता भारतका नदीहरुमा विकास गरिएका जलमार्गमा भइरहेको काम र आफ्नो अनुभवहरु सुन्न/बुझ्न नेपाली टोली भारत जाँदैछ । भारतले नै नेपाल अधिकारीलाई यसका निम्ति निम्तो दिएको हो । नेपाली टोलीले भारतका नदीमा अवलोकन गरेपछि भारतीय टोली पुनः नेपाल आउनेछ र नदीहरुमा जलमार्गको सम्भाव्यता स्थलगतरुपमै अध्ययन सुरु हुनेछ । अन्य प्राविधिकरुपमा सम्भव भएमा अन्य यातायातभन्दा जल यातायातको विकास सस्तो पर्ने भएकाले पनि सरकार उत्साहित छ ।

 

दासढुंगासम्म ल्याऔं

बेल्बासेका अनुसार सन् २०१९ को अन्त्यसम्म भारतले गण्डक ब्यारेजभन्दा केही तल (भारतको सीमा क्षेत्र) सम्म पानी पानीजहाज ल्याउँदैछ । नेपालतर्फको नदीको सतह र बहाबमा धेरै समस्या नदेखिए सन् २०२० सम्म नै पानी जहाज नारायणगढभन्दा माथिसम्म ल्याउन सकिने विश्वास नेपाली अधिकारीहरुलाई छ । यसका लागि अहिलेदेखि नै आवश्यक पूर्वाधार, कानुन र संस्थागत संरचना निर्माणका लागि अघि बढ्नुपर्ने बेल्बासे बताउँछन् । हाल जलमार्ग सञ्चालनका लागि कानुनी व्यवस्थाहरु गर्ने र छुट्टै प्राधिकरण गठन गर्नेसम्मका कामहरु गर्नुपर्ने आवश्यकता छ । नेपाली भू–भागमा टर्मिनल तथा स्टेशनहरु बनाउने काम पनि हुनुपर्छ । भारतले अहिले पानीजहाज चलाउन हल्दियादेखि इलाहाबादसम्म १ सय अर्ब र नारायणी नदीको भारततर्फको भूभागमा ३७ अर्ब रुपैयाँ खर्च गर्दैछ । २०१९ को डिसेम्बरसम्म नारायणी नदी गंगा नदीमा मिसिने स्थानबाट बाल्मिकीनगर (नेपाल–भारतको सीमा क्षेत्र) सम्म पानीजहाज ल्याउने लक्ष्य भारतको छ । त्यसैअनुरुप जलमार्ग विकासका लागि एकीकृत ढंगले भारतले काम गरिरहेको छ । बाल्मिकीनगरमा भारतीय टर्मिनल बन्दैछ । यो अवस्थामा नेपालले त्यहाँसम्म आउने पानीजहाजलाई कम्तिमा चितवनको दासढुंगासम्म ल्याउने गरी प्रयत्न गर्नुपर्ने बेल्बासे बताउँछन् । केही प्राविधिक समस्याहरुलाई समाधान गरियो भने दासढुंगासम्म पानीजहाज ल्याउन एकदमै ठूलो मिहिनेत नै गर्नुपर्दैन,’ संयोजक बेल्बासे भन्छन् ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology