प्रहारन्युज डेक्स

के हो लाखे नाच ? कस्ले सुरु गरे, लाखे नाच हेर्न पर्यटक उत्साहित

केबी मसाल, काठमाडौं । साउन महिनाको गठे मंगलदेखि सुरु हुने लाखे नाच हेर्न आजभोली उपत्यकामा पर्यटकहरु को भिडनै लाग्ने गर्दछ । हातमा भिडिओ क्यामेरा बोक्दै लाखे नाचको वरपर फोटो खिच्ने र भिडिओ क्यामेरामा लाखे नाचलाई कैद गर्न पर्यटकहरु रमाउछन् ।

नेपालमा भित्रीने धेरै पर्यटकहरु सस्कृतिको बारेमा खोज अनुसन्धान गर्ने पनि गर्दछन । नेपालमा भएका १२५ जातीहरु को आ–आफ्नै संस्कृति र संस्कार, परम्परा, रीति–रिवाज, रहनसहन, जात्रापर्व, नाचगान आदि विशेषता रहेको छ ।

नेवार समुदायमा विभिन्न प्रकारका नाचहरु नाचिन्छन् । प्राय नाच देवीदेवताका हुन्छन् । यी मध्ये लाखे नाच धेरै रोचक हुन्छ । यो नाच गुँला पर्वमा उपत्यकाका विभिन्न ठाउँमा र इन्द्र जात्रामा देखाइन्छ ।

नवदुर्गा नाच भक्तपुर लगायत बनेपा, नाला, धुलिखेल, पनौती, साँगा, देवपत्तन आदि ठाउँमा देखाइन्छ । हिन्दू धर्म अनुसार द्वापरयुगमा भगवान श्रीकृष्ण र उनका मामा कंशबीचको लडाईंको अभिनय गरी नाचिने लाखे नाच झन्डै एक महिनासम्म नाच्ने गरिन्छ ।

साउन चर्तुदशीका दिनबाट सुरु भएको लाखे नाच कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्णले कंशलाई नाश गरेको दिनमा समापन हुन्छ । लाखें नाचको प्रचलन काठमाडौंबाट बाहिरिएका नेवारहरुको बसोबास रहेको धेरै जसो ठाउँहरुमा रहेको छ ।

नेवारहरु उपत्यकाबाट बिभिन्न जिल्लामा बसाई सर्दै जादा आपूmसँग आफ्ना संस्कृति, रीति–रिवाज, लवाइखवाइ जस्ता आफ्ना पहिचान पनि सगै लैजान गर्दथिए ।

जुन कारणले नेवारी संस्कृतिमा हुने जात्रा, नाच गान, साँस्कृतिक रीति–रिवाज उपत्यका बाहेक अन्य स्थानमा पनि देख्न पाइन्छ । लाखे नाच नेवार जातीको सस्कृति हो ।

तर आजभोली लाखेनाच परम्परागत समय र सीमाभित्र सीमित छैन । यो सास्कृतिक नाच आज देशका विभिन्न भागमा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्सव तथा दिवसमा समेत प्रदर्शन गरिने सांस्कृतिक उत्सव बन्दै आएको छ ।

विभिन्न पर्यटकीय उत्सव तथा महोत्सवमा प्रमुख आकर्षणको रुपमा समेत लाखेनाच प्रस्तुत गरिन थालिएको छ ।

ठूल–ठूला आँखा, दाह्रा निस्केको डरलाग्दो रुप भएको, कम्मरसम्म लटिकएको लामो लट्टा सहितको हेर्दै डरलाग्ने ख्वापा (मुखौटा) लगाएर बाजाको तालमा नाचिने लाखे नाचले पर्यटकहरु अचम्म मान्दछन् ।

नेवारी संस्कृतिसँग जोडिएको यो सस्कृतिको बारेमा रुचिका साथ खोज गर्दछन । उपत्यकामा लाखे नाच नचाउने प्रचलन कहिलेदेखि सुरुआत भयो भन्ने कुरामा बिभिन्न मतभेद रहेको छ ।

कसैले राजा हरिसिंहदेवले सिम्रौनगढबाट तलेजु भवानीलाई उपत्यकामा ल्याउँदा देवीसँगै लाखेलाई ल्याइएको हो भनिन्छ । कतिपयले भने नुवाकोटबाट आएका ठकुरी राजाले लाखेलाई उपत्यकामा ल्याएका हुन भन्ने तर्क पनि राख्दछन ।

नेपाल भाषा वंशावलीअनुसार लाखे नाचको चलन राजा गुणकामदेवले सुरु गराएका हुन् भन्ने भनाइ पनि छ । तर राजा प्रताप मल्लका पालादेखि मुकुट लगाई लाखे नाच नाच्ने गरेको पाइन्छ ।

लाखे नाच विशेष गरेर धाः र भुस्याः बाजा बजाएर नचाइन्छ । खिं, पछिमा, नायिखं, धिमे बजाएर पनि लाखे नाच नचाइन्छ भने मादल र बाँसुरीको धुनमा पनि लाखे नाच नचाइन्छ ।

नेवारी लोकगीतको धुनमा बाँसुरी बजाएर लाखे नचाउँदा नाच हेर्ने दर्शकहरु मात्र होइन पर्यटकहरु पनि रमाइलो मान्छन् । लाखे नाचसँगै झ्यालिँचालाई पनि नचाइन्छ ।

कागज र प्लास्टिकको मुखौटो लगाएका झ्यालिंचा जोकरजस्तै भएर भेषवूशा पनि त्यस्तै लगाएर लाखेको नक्कल गर्दै गिज्याउने गर्छ भने लाखेले झ्यालिंचालाई लखेटने गर्छ ।

झ्यालिंचाचाहिँ दर्शकहरुको समूहभित्र छिर्दैै लाखेलाई हायल कायल पार्दै दर्शक र पर्यटकहरुलाई थप मनोरञ्जन दिइरहेको हुन्छ ।

काठमाडौंको मजिपाट टोलबाट हरेक वर्ष इन्द्रजात्राको समयमा निकालिने मजियाः लाखेलाई शान्त भैरवका रुपमा पनि लिइन्छ ।

इन्द्रजात्राको बेलामा कुमारीको रथयात्रा गर्ने बेलामा देवीलाई बाटो देखाउने भन्दै रथको अघि अघि मजियाः लाखे नाच्दै हिँडने प्रचलन पनि छ । लाखे नाचमा प्रेम प्रसग पनि जोडिएको छ ।

यो किवन्दति हो सुन्दा र पढदा अपत्यारिलो पनि हुन सक्दछ । लाखे शब्द पनि यसै प्रसगमा जोडिएको छ । कुनै कालमा उपत्यकामा नेवारी ज्यापु कृषक खेतमा काम गर्न जाँदा एक जना युवकले खेतीको काममा सहयोग गर्न आउदा रहेछन ।

खेतमा काम गर्दा खाजा खाने वेलामा युवकलाई पनि खाजा खान आग्रह गर्दा कृषकले दिएको खाजा नखाइ आफ्नो झोलाबाट ला (मासु), खेंय (अण्डा) निकालेर खाँदा रहेछन् ।

यस्तोक्रम दैनिकी हुदो रहेछ । नेवारी भाषामा मासुलाई ला र कुखुराको अण्डालाई खेंय भनिन्छ । ला र खेँय खाने भएर त्यसको नाम लाखेय रहन गएछ ।

कृषकको एउटी सुन्दरी छोरी रहेछ । आमा बाबु खेतमा काम गर्न नगई छोरीलाई मात्र पठाउँदा खेतमा कामको मेलो धेरै सर्दो रहेछ । लाखेंय आई खेतमा काम गर्दा गर्दै जाँदा लाखेंयसँग कृषकको छोरीको प्रेम बसेछ ।

समय बित्दै जाँदै गर्दा लाखेंय सित सम्बन्ध बढ्दै गएछ । टोलमा गाँईगुई चलेपछि टोलका मानिसहरुले केटीको बाबुलाई यो कुरा सुनाएछन् ।

राती चियो गर्दा लाखेंय आई छोरीसँग बसिरहेको बाबुले देखेछन । त्यसपछि चिकंमुगलका राजालाई लिएर आई लाखेंयलाई बाधेछन् । लाखेंयले आफ्नो यथार्थ कुरा सुनाएछ ।

मलाई बाँधेर नराख्नु होला । तपाईको छोरीले नदेख्ने डोरीले मलाई बाँधिसकेको छ । तपाईहरुले बाँधेको यो डोरीलाई मैले चँुडाल्न पनि सक्छु । तर तपाईको छोरीले बाँधेको डोरीलाई मैले चुँडाल्न सक्दिन ।

तपाईहरुले जे जे भन्नु हुन्छ त्यो मैले मान्छु भने पछि राजाले लाखेंयको जिम्मा लिएपछि लाखेंयलाई बन्धन पूmकाएर सबैको बीचमा राखेछन् ।

त्यसपछि राजालाई म तपाईसँग डराउँछु भनेर लाखेंयले भने छन् । लाखेंयको कुरा सुनेर राजाले किन मसँग डराउने भन्दा जस्ले माया गर्छ, उसँग डराउनु पर्छ भनि लाखेंयले भनेछ ।

त्यसो भए पहिले जस्तै यताउताका बच्चाबच्चीलाई टिप्दै खान पाउँदैनौ’ भनेर राजाले भने पछि लाखेंयले हुन्छ भनेछ । हामीले अह्राएको काम पनि गर्छौ रु भनी सोध्दा त्यो पनि लाखेंयले हुन्छ भनेछ ।

त्यसो भए हामीले ताली बजाउँछौ तिमि नाच भनेपछि लाखेंय नाच्न थालेछ । त्यसपछि लाखेंयलाई वर्षको एउटा राँगो दिने गरी लाखेंयलाई घर ज्वाइँ बनाई राखे छन् ।

अनि टोलका बच्चाबच्चीको रखवारी र टोलको सुरक्षा गर्ने जिम्मेवारी लाखेंयको भएछ । लाखेंयको कार्यबाट प्रभावित भएर सबै टोलका मानिसहरु उनको प्रिय हुन गएछन् ।

त्यसबखत मजिपाटको नजिक मखन, इन्द्रचोक र त्यसको वरिपरि चण्डी र कुमार नामका दुई जना सवभक्कुहरु रहेछन् ।

तिनीहरुले टोलमा रहेको पोखरीमा पालिएको माछा खानुको साथै प्रत्येक दिन एक जना मानिस उनीहरुको अगाडि गएर मर्न तयार हुनु पर्दो रहेछ । समय बित्दै गयो टोलका मानिसहरु को सख्या घटन थाल्यो ।

टोलका मानिसहरु सहयोगको लागि मजिपाटको लाखेंय कहा पुगे । टोल वासीका कुरा सुनेपछि लाखेंय एकै चोटि जोसमा आएर ल हिंड १ मलाई देखाई देओ भनी तिनीहरु सबैलाई साथमा लिई इन्द्रचोक तिर लागेछ ।

सवभक्कुलाई भेटे पछि मुक्का मुक्की भएछ । लाखेंयले भीमसेनको रुप धारण गरी तिनीहरुलाई वीष्णुमती पारी हुत्याई दिएछन् । त्यहाँबाट सवभक्कु भागेर हलचोकको आकाश भैरवको शरणमा पुगेछन् ।

आकाश भैरवले सवभक्कुलाई बायाँ हातले च्यापेर दायाँ हातको खड्ग देखाएर तिनीहरुको संरक्षण गरे छन् । त्यसपछि पनि सवभक्कुलाई देख्ने वित्तिकै लाखेंयले हमला गर्न थाल्दो रहेछ ।

वाह्य पर्यटकहरुका लागि लाखे नाच नौलो हुन्छ । नेवारी संस्कृति, चाडबाड र जात्रा पर्वको एउटा अभिन्न अंगको रुपमा रहेको लाखे नाचको आकर्षणले गर्दा विदेशी पर्यटकहरुले पनि रमाइलो मानी हेर्छन् ।

कतिपय पर्यटकहरु लाखे नाच हेर्नकै लागि भनेर पनि नेपाल आउने गरेका छन् । उपत्यकामा आठ दिनसम्म मनाइने येँयाः पुन्ही अर्थात इन्द्रजात्राको आकर्षणको रुपमा लाखे नाच रहेको छ ।

लाखे नाचले पर्यटन प्रवद्र्धनमा समेत ठूलो सहयोग पु¥याउँदै आएको छ । नेवारको जात र स्थाननुसार लाखेनाच फरक–फरक तरिकाले नचाइने गरिन्छ ।

साधारण लाखे नाच जुनसुकै बेलामा पनि देखाउने भए पनि मजिपाः लाखे नाच भने इन्द्रजात्राको अवधिमा मात्र देखाइन्छ । अरु बेला यो लाखे निकालिँदैन ।

त्यसैले लाखे नाचको वास्तविक रमाइलो इन्द्रजात्रामा प्रत्यक्ष देख्न पाइन्छ । साधारण लाखे नाच नेपालमा उपत्यका बाहेक नेवार जातिको बसोवास भएको ठाउँ पनि देखाउने गरिन्छ ।

यसरी देखाइने लाखे नाच हेर्नको लागि ग्रामीण पर्यटक समेत जम्मा हुने र लाखे नाच हेर्ने प्रचलन छ । नेवार जातीको मूलथलो काठमाडौं उपत्यका हो ।

उपत्यकामा रहेका नेवार जातीहरु मध्यकाल अर्थात वि।सं।९३७ देखि १८२६ सम्म ब्यापार गर्नको लागि उपत्यकाबाट बाहिर बसाईं सराई शुरु गरेका हुन ।

नेवार जाति नेपालको आदिम जातिहरु मध्यमा पर्दछन । जुन कारणले नेवार जातिसँग नेपालको नामका साथै इतिहास र संस्कृति समेत गाँसिएको छ ।

नेवारको शाब्दिक अर्थ नेपालको बासिन्दा हो । नेवार जाति अर्थात समुदायमा बोलिने भाषालाई नेवारी भनिन्छ । नेवारी भाषाको औपचारिक नाम नेपालभाषा हो ।

नेपालभाषा शब्दको नामाकरण देशको नामबाटै भएको छ । जसको प्रमाण ऐतिहासिक प्राचीन ग्रन्थ र शिलालेखहरुमा पाइन्छ ।

नेपालभाषाको आफ्नै लिपिहरु रन्जना लिपि र भुजिंमोल लिपि छन । तर पनि नेवालभाषाको प्रचलित लिपि भने नेपाल लिपि हो । वर्तमान समयमा यो भाषामा देवनागरी लिपिको पनि प्रयोग गरिन थालिएको छ ।

पछिल्लो तथ्याक अनुसार नेवारहरुको जनसख्या १३ लाख २१ हजार ९३३ रहेको छ । कूलसंख्याको करीब आधा जनसख्या उपत्यकामा बसोबास गर्दछन् ।

नेपाल भ्रमणमा आउने कुल वाह्य पर्यटकहरु मध्ये बिदा मनाउन, मनोरञ्जन र यात्रा का लागि आउने पर्यटकहरु बढी छन् ।

विगत एक दशकको पर्यटक आगमनको तथ्याक हेर्दा बिदा मनाउन, मनोरञ्जन गर्न, पदयात्रा जनजातिहरु को सास्कृतिक अध्ययन, पर्वतारोहण र तीर्थयात्रा गर्न आउने पर्यटकको अनुपात दुई तिहाइभन्दा बढी देखिन्छ ।

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology