प्रहार न्युज

  • ११
  • १२
  • १३

ग्रहण छिचोलेर चम्किएका चन्द्र

भरत वि.क / काठमाडौं

बाग्लुङको बलेवा, अमलाचौरका एक किशोर एसएसली दिइरहेकै बेला बुवाको मायासँगै सुखद् भविष्यको आडभरोसा समेतलाई कालीगण्डकीमा सेलाउन विवश हुन्छन् ।

घाटबाट घर फर्कंदै किशोरको मनमा एकमात्र कुरा खेल्छ–आमा र भाइबहिनीलाई जस्तोसुकै मूल्यमा दुःखबाट टाढा राख्ने ! त्यसरी १६ वर्षको उमेरमा खुसीमाथि ग्रहण लागेका चन्द्रप्रसाद ढकालले आमा र भाइबहिनीप्रतिको त्यो प्रतिवद्वताकै बलमा जिन्दगीमा पूर्णमास ल्याएका छन् ।

आफूलाई नेपालका सफलतम व्यावसायीहरुको सूचीमा पार्न सफल उनी मेहनत र आँटको बलमा यो मुकाममा आइपुगेका हुन् । ‘जिन्दगीमा सोचेजस्तो केही हुँदैन’, ढकाल भन्छन्, ‘तर योजनावद्व सोच, मेहनत र आँटको सम्मिश्रण भयो भनेचाहिँ नसोचिएको सफलता पनि हात लाग्दोरहेछ ।’

काठमाडौं पानीपोखरीस्थित भव्य कार्यालयमा ब्यस्त दैनिकी गुजारिरहेका ढकालले जिन्दगीमा योजनावद्व सोच र आँटका साथ अविश्राम मिहेनत गरे । अधिकांश नेपाली घरपरिवारसँग जोडिएको रेमिट्यान्ससँग पनि उनको मिहेनतको थोरै साइनो छ । उनको रेमिट्यान्स कम्पनी आईएमईसँग अपरिचित नेपाली कमै होलान् ।

आईएमई ग्रुपका संस्थापक रहेका ढकाल नेपाल उद्योग वाणिज्य महासंघमा उपाध्यक्ष छन् । उनी चन्द्रगीरि हिल्स लिमिटेड लगायतका कम्पनीहरु चलाउँदै देशको उद्योग–वाणिज्य क्षेत्रलाई सहजीकरण गर्ने नीतिगत व्यवस्थाको लागि लबिङ पनि गर्छन् । व्यावसायिक सफलताको यो उचाईमा उनी अमलाचौरको धरातल भने कहिल्यै बिर्सँदैनन् । भन्छन्, ‘मेरा हर सफलताको आधारशीला त्यही अमलाचौर हो ।’

असल अभिभावकत्वको जग

निम्न मध्यमवर्गीय परिवारमा जन्मिएका हुन्, चन्द्र ढकाल । उनको बाल्यकाल आम गाउँले बालबालिकाको जस्तै रह्यो । दैनिक धुलो–हिलो, दाउरा–घाँस, मेलापात जीविकोपार्जनको माध्यम थियो । त्यस्तो परिस्थितिमा घरपरिवारको मुख खाँबो टुटेपछि १६ वर्षका जेठो छोराले कलिलो काँध थाप्नुपर्ने भयो ।

त्यो बेला उनी कर्तव्य पुरा गर्ने अठोटबाहेक अरु केही गर्न सक्दैनथे । उनी त्यो विकल्परहित दायित्व पुरा गर्ने कोसिसमा लागे । बुबाको असामयिक निधनपछि पारिवारिक दायित्वको भारीले थिचिन पुगेका उनी एसएलसी परीक्षामा अनुत्र्तीण भए । त्यसमा धेरै चिन्तित नभई र नहड्बडाई लगनका साथ आफ्नो कर्ममा लागे । त्यसबेला एकमात्र ध्याउन्न थियो–आमा र भाइवहिनीलाई अभावबाट टाढा राख्नू । उनको त्यो मेहनेत आज राष्ट्रिय समृद्धिका अनेकन प्रयासहरुमा जोडिन आइपुगेको छ ।

‘म यहाँ आइपुग्न हिँडेको थिइनँ । त्यतिबेला मेरा भाइबहिनीलाई कसरी पढाउने, समस्याबाट कसरी जोगाउने भन्नेमा केन्द्रित थिएँ,’ ढकाल सम्झन्छन्, ‘मेरो जम्माजम्मी एउटै ध्येय थियो– आमा र भाइबहिनीको खुसी । त्यसैका लागि काठमाडौंतिर हान्निएको थिएँ ।’

जागिरे जीवनको मोड

काठमाडौंमा कमाईका लागि कामसँगै पढाइलाई अगाडि बढाउन खोज्दा कठिनाईहरु कम थिएनन् । ती उद्देश्यका साथ काठमाडौंमा टिकिखान गर्नुपर्ने एउटै कुरा थियो– मेहनत अनि मेहनत ।

ढकालले पेप्सीकोला वितरक कम्पनी स्वस्तिक हेरिटेजमा जागिरे जीवन सुरु गरे । घरमा खर्च पठाउँदै पढाई अगाडि बढाए । हातमा सर्टिफिकेट परेपछि राष्ट्रिय वाणिज्य बैंकको सहायक लेखापालमा नाम निकाले । वाणिज्य बैंकमा करिब चारवर्ष काम गरेपछि व्यवसाय पनि थाल्ने आँट गरे ।

२०४८ तिर कोल्ड स्टोर चलाए, त्यसपछि कार्गो व्यवसायमा हात हाले । त्यतिबेलासम्म भाइ रामुलाई पनि काठमाडौं बोलाइसकेका थिए । व्यवसाय विस्तारको क्रममा १२–१३ लाख रुपैयाँ आवश्यक परेपछि ढकालले आफू कार्यरत बैंकमै ऋणको लागि आवेदन दिए । बैंकको नीति सकारात्मक भए पनि अन्तिम समयमा हाकिमले नदिने भए जागिर खाइरहेकालाई यस्तो ऋण दिन नसक्ने भन्दै ।

ती हाकिमकै अगाडि राजीनामा लेखेर बैंक ऋण लिएका ढकाल आज ग्लोबल आईएमई बैंकका अध्यक्ष छन् । आज त्यो क्षण सम्झँदा उनलाई सही निर्णय गरेको लाग्छ । ‘त्यो बेला त्यो निर्णय मेरा लागि जोखिमले भरिभराउ थियो’, उनी सम्झन्छन्, ‘तर मलाई त्यसै दिन र त्यही क्षणमा पनि गलत निर्णय लिएँ भन्ने लागेको थिएन ।’

दशैं आसपास शुक्रबारको दिन थियो । विदाअघि नै कार्गो ‘सिपमेन्ट क्लियर’ गरिसक्नुपर्ने भएकाले चन्द्र र रामु ढकाल दाजुभाइ मोटरसाइकलमा एयरपोर्टतिर लागे । बागमती तरेर सञ्चारग्राम पुग्नै लाग्दा सडक ढाकेका च्याङ्ग्राको हुलमा मोटरसाइकल जोतियो ।

दाजुभाइलाई दुवैलाई रगतपक्ष हुने गरी चोट लाग्यो । तर उनीहरु हतार–हतार बाइक उठाएर अस्पताल होइन, एयरपोर्टतिरै हान्निए । कार्यालय समयअघि नै कार्गोको काम सकेर मात्र अस्पताल पुगे । चन्द्र ढकाल भन्छन्, ‘त्यसपछिको २० दिन अस्पताल र घरमा बिताउनुुपर्‍यो ।’

तर यो घटनाले पनि ढकाल दाजुभाइले सफलताको शिखर कसरी आरोहण गरे भन्ने देखाउँछ ।

वैदेशिक रोजगारीको पनि अनुभव

ढकालका जिन्दगीमा अनेक मोड आए । विदेशमा श्रम बेच्ने नेपालीकाहरुको रेमिट्यान्स भित्र्याउने एउटा प्रमुख कम्पनी आईएमईका सञ्चालक ढकाल आफैं पनि कुनै समय वैदेशिक रोजगारीमा थिए ।

उनले कार्गो व्यवसायमा सफलता हात पार्दै गर्दा अमेरिकामा नेपाली गलैंचा र तयारी कपडाको बजार निकै राम्रो थियो । उनी कार्गो व्यवसाय विस्तारका लागि अमेरिका जान चाहन्थे, भिसा पनि पाए । एकजना गाउँले दाइले जापानको बाटो भएर अमेरिका जान भनेपछि उनले भिसा आवेदन दिएर जापान जाने तारतम्य मिलाए । भन्छन्, ‘१० महिना जापानको एउटा छापाखानामा काम गरेँ ।’

त्यतिबेला जापानको रोजगारीलाई निकै राम्रो मानिन्थ्यो । १० महिनामा केही पैसा कमाए पनि । नेपालको काम भाइले हेर्दै थिए । त्यसबेला ढकाल दाजुभाइले ठमेलमा ‘इन्टरनेसनल मनी एक्सचेन्ज’ खोलिसकेका थिए । अब रामु जापान जाने भए, चन्द्र अमेरिका नगई नेपाल फर्किए ।

त्यतिबेला नेपालीहरुले विदेशमा कमाएको पैसा पठाउने भरपर्दो औपचारिक माध्यम थिएन । हुण्डीबाट पैसा पठाउँदा ठगिनेको संख्या बढिरहेको थियो । चन्द्रलाई जापान बस्दा नै यसको समाधान खोज्नुपर्छ भन्ने लागेको थियो ।

‘पैसा पठाउनु भनेकै आईएमई !

सन् २००१ मा नेपालले वैदेशिक रोजगारीका लागि मलेसिया खुला गरेपछि एकै वर्षमा धेरै नेपाली त्यहाँ पुगे । त्यसपछि मलेसियामा पनि हुण्डीकै कारण कामदार ठगिने घटनाह बढ्न थाल्यो । अनौपचारिक माध्यमबाट रकम आउने क्रम बढेसँगै नेपाल राष्ट्र बैंक पनि चिन्तामा थियो ।

ढकालले यो समस्यालाई अवसरमा बदल्ने चाँजो मिलाए, त्यही साल । उनीसँग करिब एक वर्ष मनी ट्रान्सफर कम्पनी ‘एक्सप्रेस’को एजेन्ट बनेको अनुभव थियो । एक्सप्रेस ‘यूएई एक्सचेन्ज’को वितरक कम्पनी थियो । उनले त्यही अनुभवका आधारमा ‘इन्टरनेशनल मनी एक्सप्रेस’ (आईएमई) खोल्ने प्रस्ताव राष्ट्र बैंकमा लगे । डा. तिलक रावल गभर्नर रहेको राष्ट्र बैंकले उनको प्रस्ताव सहजै स्वीकार गर्‍यो र ‘आईएमई’लाई सञ्चालन अनुमति दियो ।

‘मलेसियाको केन्द्रीय बैंकबाट पनि स्वीकृति लिएर मलेसियाको ४–५ ठाउँबाट सेवा सुरु गर्‍यौं’, ढकाल भन्छन्, ‘नेपालमा काठमाडौं, पोखरा लगायतका मुख्य शहरमा २४ घण्टाभित्र रकम बुझ्ने व्यवस्था गरेका थियौं ।’

विदेशमा रहेका नेपालीहरुलाई आईएमईबारे बुझाउन निकै मेहनत परेको उनी बताउँछन् । सेवाको गुणस्तरले बिस्तारै कम्पनीको ‘ब्रान्डिङ’ गर्‍यो । विदेश जाने नेपालीको संख्यासँगै आईएमईको सेवा र विश्वसनीयता विस्तार भएको उनले बताए ।

‘मलेसिया सरकारले आईएमईलाई यति विश्वास गर्‍यो कि नेपाल पैसा पठाउन पाँच वर्षसम्म अरु कम्पनीलाई लाइसेन्स नै दिएन’, ढकाल भन्छन्, ‘त्यो कारण पनि मलेसियामा व्यवसाय फैलाउन कम्पनीलाई कर लाग्यो ।’

अहिले आईएमई नेपाली कामदार पुगेका सबै देशमा रेमिट्यान्स कारोबार गर्ने कम्पनी बनेको छ । आईएमई नेपालमा ‘मनी ट्रान्सफर’को पर्यायबाची नै बनेको कुनै बैंक या अन्य मनी ट्रान्सफर कम्पनी पुगेका सेवाग्राहीले ‘पैसा आईएमई गरिदिनुस्’ भन्ने गरेको अवस्थाले देखाउँछ । नयाँ मनी ट्रान्सफरको अनुमतिपत्र माग्न राष्ट्र बैंक पुग्नेले समेत ‘आईएमईको लाइसेन्स पाउँ’ भन्ने अवस्था बनेको ढकाल बताउँछन् ।

यसरी ढकाल दाजुभाईको अगुवाईमा नेपालमा मनी ट्रान्सफर विश्वासिलो व्यवसाय त बन्यो नै अनौपचारिक च्यानलबाट रकम भित्रिने क्रम पनि लगभग बन्दको अवस्थामा पुगेको छ । आईएमईले मलेसियामा करिब ५० हजार रुपैयाँबाट कारोबार सुरु गरेको थियो । अहिले नेपाल भित्रिने वार्षिक दुई खर्ब बढी रेमिट्यान्समध्ये २५ देखि ३० प्रतिशत आईएमईबाट आउँछ ।

नयाँ यात्रातर्फ

आईएमईको सफलतापछि चन्द्र ढकालले फाइनान्स कम्पनीमा पनि हात हाले । त्यसको सीमितता बुझेपछि वाणिज्य बैंकसँग मर्ज गराए ।

हाल उनी अध्यक्ष रहेका ग्लोबल आईएमई राज्यको नीतिलाई छिटो कार्यान्वयनमा लैजाने बैंकको रुपमा चिनिन्छ । सहजै चुक्ता पुँजी आठ अर्ब पुर्‍याएको यो बैंकले जनता बैंकसँग बिग मर्जरको सहमति गरेको छ ।

ढकाल समूह (चन्द्रका काकाहरु समेत)को लगानी पर्यटन, ऊर्जा, अटोमोबाइल्स लगायतका क्षेत्रमा पनि छ । ढकालकै नेतृत्वमा चन्द्रागिरीमा केवलकार बन्यो । पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका डाँडाकाँडालाई उपयोग गर्न सकिन्छ भन्ने सन्देश यो परियोजनाले दिएको ढकाल बताउँछन् ।

‘फूलप्रुफ’ योजनाका साथ काम गर्दै जाँदा आत्मविश्वास पनि बढ्ने ढकालको अनुभव छ । ‘हामी विश्वका दुई ठूला बजार भारत र चीनको बीचमा छौं’, भावी योजना सुनाउँदै उनी भन्छन्, ‘अब हामी उत्पादनमुलक उद्योग क्षेत्रमा लगानी बिस्तार गर्ने योजनामा छौं ।’

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology