प्रहार न्युज

५१ वर्षमै मृत्युवरण गरेका पृथ्वीनारायणका यी हुन् भित्री कुरा

पृथ्वीनारायण शाहले पूर्वको टिष्टासम्म आधुनिक नेपालको साँध तयार पारिसकेका थिए । पश्चिममा बाँकी थियो । बाइसे, चौबीसे राज्यहरु भित्र पनि सामन्त, दान र बकस दिएका राज्यहरु थिए । आधुनिक नेपालको सरहद बाहिर ठूला साम्राज्यहरुबीच प्रतिस्पर्धा चलिरहेको थियो । डचहरु आइरहेका थिए । र स्पेनिस, डच र फ्रेन्चहरुबीच लडाईं चलिरहेको थियो ।

यस क्षेत्रमा सबैभन्दा शक्तिशाली मुगलहरु थिए, त्यसबेला । उनीहरुलाई परास्त गर्दै नाविक शक्तिले जित्दै थियो । नाविक शक्ति भनेको युरोपली मुलुक थिए ।

नेपालमा मुगल अथवा टर्किसहरुले गर्ने जस्तो शक्तिको अभ्यास खसहरुले थालेका थिए । तिनै खसहरुका उत्तराधिकारीका रुपमा पृथ्वीनारायण शाह उदाए । त्यतिबेला अहिलेको भारतमा ६ सयभन्दा बढी ‘प्रिन्स्ली स्टेट’हरु थिए । कुनै कसैको मातहतमा थिए, कुनै स्वतन्त्र ।

नाविक शक्तिले तिनीहरुलाई आपसमा जुधायो र कब्जामा लियो । र, शक्ति केन्द्रिकृत गर्‍यो ।

त्यस्तो अवस्थामा यहाँका मान्छेको विचार जित्नु थियो, पृथ्वीनारायण शाहलाई । र, त्यो लडाइँबाट मात्र सम्भव थिएन । लडाईंको पनि सामरिक व्यवस्थापन र मानिसको मनोविज्ञान जित्नु थियो । मानिसको मनोविज्ञान जित्नमा पृथ्वीनारायण शाहको मुख्य योगदान रह्यो ।

त्यसलाई अहिले अपव्याख्या गरिएको छ । र, विदेशी लेखकहरुले बढी अपव्याख्या गरेका छन् । हाम्रो आन्तरिक अपव्याख्याको त खेती नै छन् ।

खासगरी, पहाडी क्षेत्रमा बढी असुरक्षा थियो, त्यतिबेला । आन्तरिक शक्ति केन्द्रिकृत नहुँदाको असुरक्षा पहिलो थियो । बलियो अस्तित्व निर्माण नहुँदाको अर्को असुरक्षा थियो । र, त्यसैमा खेलेर बाह्य आक्रमणको सम्भावना थियो ।

भक्तपुरले कान्तिपुरलाई कतिबेला आक्रमण गर्ने हो, पाटनले कोसँग मिलेर कसलाई खत्तम पार्ने हो भन्ने त्रासको भावना थियो । चौदण्डी, विजयपुर, तनहुँ, लमजुङ, गोरखा, पर्वत, जुम्लालगायत सबै राज्यबीच हानाहानको अवस्था थियो ।

मध्य बर्खामा खेती लगाइरहेका बेला कुनै राज्यले आक्रमण गरेर सखाप बनाइदिन्छ । कहिले बाली उठाउने बेलामा डढेलो लगाएर खत्तम पारिदिने ।

त्यही भएर शक्ति केन्द्रिकृत हुनु आवश्यक देखे, पृथ्वीनारायण शाहले । भारतका सबै राज्यहरु अंग्रेजले धमाधम निल्दै गरेको अवस्थामा उनी उदाएका थिए ।

पृथ्वीनारायण शाहको नीति नै थियो, स्वधर्म संस्कृति र स्थानीय सभ्यताको मनोविज्ञान विकास गर्ने । त्यसका लागि जोगीहरुको मण्डलीलाई आफ्नो हातमा लिए । अनि, गोरखाली राजाले चलाएको अभियानका रुपमा गाउँ(गाउँमा प्रचार गराए ।

गन्धर्वहरुलाई पनि प्रयोग गरे, त्यसक्रममा । जोगी र गन्धर्वले गाउँ(गाउँ पुगेर गोरखाको गीत गाए । अब गोरखा जागेको छ, राजाको शक्ति जागेको छ, गोरखनाथले आशिर्वाद दिनु भएको छ इत्यादि ।

र, धर्म र सामरिक रक्षाको युग आउँदै गरेको आभाष दिलाए, जन(जनमा । भुरेभारे राज्यहरु नटिक्ने सन्देश दिए । र, एउटै गोरखा राज्य निर्माण हुने विश्वास दिलाए ।

त्यतिबेलाका सञ्चारमाध्यम बने, जोगी र गन्धर्वहरु । र, धर्म, संस्कृति, आदर्श र पारस्परिक सुरक्षाको मनोबल खडा गरे ।

‘जाई कटक नगर्नु, झिकी कटक गर्नु’ यसो भनेर कूटनीतिक चातुर्यको माध्यमबाट सकेसम्म राज्यहरुलाई आफूमा गाभ्ने र नगाभिने या आक्रमण गर्न तम्सिनेलाई सैन्य प्रयोगद्वारा आफूमा मिलाउने नीति लिए ।

जब अरुण पारि तर्नुपर्‍यो, पृथ्वीनारायणले त्यतिबेलाका १० हाङहरुलाई पत्र लेखे । र, उनीहरुलाई ‘तुतुतुम्यााङ याङ्थुहाङका बडा सन्तान’ बताउँदै मुक्तकण्ठले प्रशंसा गरे

उनले भनेका छन्, ‘मैले जयप्रकाशको स्थिति सुधार हेरेँ । राम शाह, महेन्द्र मल्लको हेरे, पढेँ । म पनि केही गरी जाँला भन्ने थियो । तर, मलाई रोग लाग्यो ।’

५१ वर्षको उमेरमा लडाईं लड्दा लड्दै उनको निधन भयो ।

राज्यहरु माथि विजय पाउन दुईथरि नीति अपनाए । एउटा, पहिले आह्वान गर्ने र नमानेमा आक्रमण गर्ने ।

युद्धका क्रममा भोगेका अनुभवहरु जोड्दै निर्देशिका बनाउन थाले । दिव्योपदेश त्यस्तै दस्तावेज हो । ‘सबैलाई चेतना भया’ वाक्यांशको उल्टो अर्थ लगाइयो अहिले । सबैले यो कुरा बुझेदेखि राज्य बलियो हुने उनको आशय थियो । ‘भया’ अर्थ भएदेखि हो, आदेशात्मक शब्द होइन ।

उनले नेपाललाई चार वर्ण, ३६ जातको फूलबारी भनेका छन् । अर्थात्, सबै जातजाति र वर्णको साझा हो भनेका छन् । साझा संस्कृतिमा जोड दिएका छन् । सबैलाई चेतना भएदेखि सबैको फूलबारी हो भनेका छन् ।

उनले आ(आफ्नो कुलधर्म नछाड्नु भनेका छन् । विगतदेखि जसले जस्तो परम्परा मान्दै आएको छ, त्यसलाई निरन्तरता दिनु भनेको हो त्यो । र, अंग्रेजलाई पस्न नदिनु भनेका छन् । विदेशी साहु, महाजन पसे भने देशलाई कंगाल पार्ने बताएका छन् ।

एकीकरणपछि पनि आफू मुल राजा हुने र अरु राज्यको अस्तित्व स्वीकार्ने बताएका छन् । र, अधिनमा आएका राज्यहरुको जस्ताको तस्तै रक्षा हुने बताएका छन् । उनीहरुका थिति स्वीकारेका छन् ।

जब मगरात क्षेत्रमा शक्ति केन्द्रित गर्न थाले, मगरहरुको राजा आफू नै भएको बताए । नेपाललाई असली हिन्दुस्थान र प्रकृतिले बनाएको किल्लाका रुपमा व्याख्या गरे ।

१९ वटा ठूला युद्धपछि उपत्यकामा विजय गरे । तर, कान्तिपुरलाई कब्जामा लिँदै गर्दा कुमारीको हातबाट तिलक नलगाएसम्म राजाज्ञा जारी गरेनन् ।

त्यसैले पृथ्वीनारायणले राजनीतिक र सामरिक जित गरे । तर, सांस्कृतिक रुपमा आत्मसमर्पण गरे ।

बृद्ध धर्मावलम्बी वाणाकी छोरी कुमारीको गोडामा ढोगेर अब आफूलाई नै जयप्रकास मल्लको रुपमा देख्दै रक्षा गरिदिन आशिर्वाद मागे ।

र, उपत्यकाको लोक संस्कृति ग्रहण गर्न सबैलाई अह्राए । हालको भारतमा प्रचलनमा रहेको मुजुरा नाचको साटो नेवारी झाँकीहरुमा रमाउन भावी शासकहरुलाई सचेत गराए ।

भुटानबाट लामा झिकाएर राजगुरुको दर्जा दिए । र, २० वटा गुम्बालाई राजकीय गुम्बा बनाए । लामाहरुलाई लालमोहर दिएर बुद्ध धर्मलाई सन्तान, दरसन्तानसम्म चलाउन आग्रह गरे । त्यो उनको सबैलाई संरक्षण गर्ने नीति थियो ।

कहीं कतै झैझगडा भए पुरानो थिति बुझेर फैसला लिन अह्राए । त्यसबाट पनि नभएमा मात्र प्रमाणहरु बटुलेर राज्यलाई पठाउन आदेश दिए ।

त्यसो हुनाले लोकधर्म, लोकसंस्कृति, लोकपरम्परा, स्थानीय धर्म, स्थानीय मान्यता, स्थानीय सीप, स्थानीय उत्पादनमा जोड दिए ।

माझकिराँतमा सबैभन्दा ठूलो लडाईं भयो । तर, त्यो क्षेत्रलाई किराँतीहरुले नभई सेनहरुले कजाएका थिए । सेनहरु पृथ्वीनारायण शाहकै सुसुराली खलक थिए । आफ्नै ससुरालीलाई जितेका थिए, उनले ।

मकवानपुरका राजा हेमकर्ण सेनको छोरी बिहे गरेका थिए । आफ्नै जेठान दिगबन्धन सेन अंग्रेजसँग मिल्न गए भनेर मकवानपुर विजयपछि छिँडीमा थुनेरै देहत्याग गर्न बाध्य बनाए ।

कुनै राज्य अंग्रेजसँग मिलेको थाहा पाए १र२ महिनामै कब्जा गरिसक्ने उनको रणनीति देखिन्छ । अहिलेसम्म पश्चिमा इसाईहरुले पृथ्वीनारायण शाहमाथि दागा धरिरहनुको कारण पनि त्यही हो ।

विजयपुर राज्यमा बुद्धिकर्ण राय राजा थिए । उनी पनि दिगबन्धन सेनकै जस्तो अंग्रेजसँग मिल्न गए । त्यसैले उनीविरुद्ध सैन्य प्रयोग गरेको देखिन्छ, पृथ्वीनारायण शाहले ।

जयप्रकाश मल्ललाई सहयोग गर्न आएको अंग्रेज फौजलाई सिन्धुलीगढीमा ढुकेर सखाप बनाइदिए ।

जब अरुण पारि तर्नुपर्‍यो, पृथ्वीनारायणले त्यतिबेलाका १० हाङहरुलाई पत्र लेखे । र, उनीहरुलाई ‘तुतुतुम्यााङ याङ्थुहाङका बडा सन्तान’ बताउँदै मुक्तकण्ठले प्रशंसा गरे । उनीहरुलाई कहिल्यै नमास्नु भनेका छन्, उनले । र, फकाई फुल्याई आफ्नो बनाउने नीति लिएका छन् ।

उनीहरुलाई कब्जामा लिँदा आश्रति राज्यका रुपमा स्वीकारेका छन् ।

मगरहरुलाई विचारी बनाउन नछुटाउनु, गुरुङहरुलाई उमराओ बनाउन नछुटाउनु, खान, खस, बाहुन, मगर, गुरुङ र ठकुरीहरुलाई आफ्ना बलिया सिपाही बताएका छन् । उनीहरुलाई मास्नु हुँदैन भनेका छन् । ठाउँ(ठाउँमा जिमिन्दारी दिँदै जित्दै गए किरातहरुलाई ।

त्यसैले स्वधर्म संस्कृति र स्थानीय सभ्यताको मनोविज्ञान विकास गर्ने मुख्य श्रेय पनि पृथ्वीनारायण शाहलाई नै जान्छ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology