प्रहार न्युज

बालुवाटारमै बोलाएर प्रधानमन्त्री ओलीले यस्तो भने नेम्वाङलाई

काठमाडौँ – एमाले नेता एवं तत्कालिन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई सभामुख बनाउन नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।

नेम्वाङलाई प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर सभामुख बनाउन नसकेकोमा आफू निकै दुःखी रहेको प्रम ओलीले बताए । ‘के गर्नु सभामुखमा मेरो च्वाईस तपाई हुनुहुन्थ्यो, तर गठबन्धनको कारणले बनाउन सकिएन, यसमा म निकै दुःखी छु’ नेम्वाङसँगको भेटमा प्रधानमन्त्री ओलीले भने ।

ओलीले आफूमात्रै नभएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपनि नेम्वाङ्लाई सभामुख बनाउन राजी भएको तर माओवादी केन्द्रभित्रको विवादका कारण बनाउन नसकिएको स्पष्ट पारेका थिए । प्रचण्डले समेत पार्टी नेताहरु समक्ष नेम्वाङलाई सभामुख बनाउने प्रस्ता लगेका थिए । तर, नेताहरु जनार्दन शर्मा, शक्ति बस्नेत र वर्षमान पुन लगायतका चर्काे विरोध गरेपछि उनी पछि हटेका हुन् । अन्त्यमा महराको नाममा सहमती जुट्यो ।

भेटमा ओलीले नेम्वाङलाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने आश्वासन दिएका छन् । शुक्रबार मात्रै एमाले–माओवादी केन्द्रको तर्फबाट माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले सभामुखमा उम्मेद्धवारी दर्ता गराएका छन् । उनको विरुद्धमा कसैको पनि उम्मेद्धवारी नपरेकोले उनी निर्विरोध बनेका छन् । तर, यसको औपचारिक घोषणा भने शनिबारको संसद बैठकले गर्नेछ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology