प्रहार न्युज

संसदमा प्रधानमन्त्री ओलीको राजीनामाको माग

बुटवल । प्रदेश ५ को प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । आइतबार बसेको प्रदेशसभाको बैठकमा बिशेष समय लिएर बोल्दै कांग्रेस सांसदहरु भुवनेश्वर चौधरी र पुष्पा थरुनीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका हुन् । प्रधानमन्त्री नेतृत्वको संबैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेको व्यक्ति प्रधान न्यायाधीशमा अयोग्य भएपछि अयोग्य व्यक्तिलाई प्रधानन्यायाधीसमा सिफारिस गर्ने प्रधानमन्त्रीमाथि पनि नैतिक प्रश्न उठ्ने भन्दै उनीहरुले नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।

दुई तिहाईको दम्भकै कारण संबैधानिक परिषदबाट प्रधान न्यायाधिसमा सिफारिस भएका कामु प्रधान न्यायाधिस दिपकराज जोशीको नाम अनुमोदन नगरिएको बताउँदै कांग्रेस सांसदहरुले प्रधान न्यायाधीश प्रकरणले सरकार अधिनायकवाद तर्फ अगाडि बढेको संकेत गरेको आरोप लगाए । संसदको बिशेष समयमा बोल्दै कांग्रेस सांसद भुवनेश्वर चौधरीले प्रधानमन्त्रीको राजीनामा माग गर्नुका साथै मुक्त कमैयाहरुको घर निर्माणका लागि काठ किन्न सरकारले एक वर्ष अगाडि उपलब्ध गराएको एक करोड ७० लाख रुपयाँ हालसम्म पनि जिल्ला वन कार्यालयको खातामा रहेको र मुक्त कमैयाहरुले घर बनाउन काठ नपाएको भन्दै उक्त रकमको व्याजसहित मुक्त कमैयालाई उपलब्ध गराउन माग गरे ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology