प्रहारन्युज डेक्स

इन्काउन्टरबारे अनुसन्धान हुन्छ– गृहमन्त्री थापा, भक्तपुरमा भिडन्त भएकै हो– अपराध महाशाखा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले निशान खड्काको अपहरणमा संलग्न दुई अपहरणकारीमाथि प्रहरीले गरेको इन्काउन्टरबारे अनुसन्धान गर्ने बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकमा गृहमन्त्री थापाले इन्काउण्टरबारे सरकारले अनुसन्धान गर्ने बताएका हुन् ।

बालक अपहरणपछि हत्यामा संलग्न भएको भनिएका गोपाल तामाङ र अजय तामाङलाई डेराबाट नियन्त्रणमा लिएर प्रहरीले भक्तपुरको पाईलटबाबा आश्रम नजिकको जंगलमा लगेर इन्काउण्टर गरेको घटना शंकास्पद भएको भन्दै समिति सदस्यहरुले स्पष्ट छानविनको माग गरेपछि गृहमन्त्रीले त्यसमा सरकारको प्रतिबद्धता जनाएका हुन् ।

समिति सदस्य देवेन्द्र कँडेलले प्रहरीले भनेको इन्काउण्टर शंकास्पद भएकाले इन्काउण्टरको अवस्था श्रृजना हुनुको कारणबारे सोधपुछ गर्न प्रहरी महानिरीक्षक र सम्बन्धित पदाधिकारीलाई समितिमा बोलाउन माग गरेका छन् ।

प्रहरीले बालक बचाउन नसकेपछि आफ्नो कमजोरी लुकाउन इन्काउण्टरको नाममा उनीहरुको हत्या गरेको भन्दै प्रहरी प्रशासनको सर्वत्र आलोचना भइरहेको छ ।

भक्तपुरमा भिडन्त भएकै हो

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गृहमन्त्री रामबहादुर थापा बादललाई भक्तपुर इन्काउन्टरको विषयमा औपचारिक जानकारी गराएको छ ।

महाशाखाकाको टोलीले बिहिबार गृहमन्त्रीलाई भेटेर निशान हत्याराको ईन्काउण्टर प्रकरणबारे औपचारिक ब्रिफिङ गरेको हो । महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहसहितको टोली बिहिबार गृहमन्त्रालयमा पुगेको हो ।

सिंहले गृहमन्त्रीलाई भक्तपुरमा भिडन्त भएको घटना वास्तविक भएको बताएका छन् । आइतबार साँझ काँडाघारीबाट अपहरित बालक निशान खड्कको हत्या भएको थियो ।

प्रहरीले घटनामा संलग्न अपहरणकारी गोपाल तामाङ र अजय तामाङमाथि गोली चलाउँदा सोमबार उनीहरुको मृत्यु भएको थियो ।

यस्तै गृहमन्त्री रामबहादुर थापाले भने घटनाको छानबिन हुने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले घटनाबारे छानबिन गर्ने प्रतिवद्धता जनाएका हुन् ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology