प्रहार न्युज

फुटको संघार नेपाली कांग्रेस, नेकपामा प्रवेश गर्दै प्रभाव शालि नेता

काठमाडौ – जिल्ला सभापतिको भेलामा जुटेको नेपाली कांग्रेस आरोप प्रत्यारोपमा उत्रिएको छ । भेलाको दिन नजिकिदै जाँदा नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद झन्–झन् एकपछि अर्को गर्दै पेचिलो बनिरहेको बताइन्छ । त्यसोत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले नराम्रो पराजयको जिम्मेवारी कसले लिने भन्ने विवादमा कांग्रेस नेताहरू यसअघि नै एक महिना लामो केन्द्रीय समिति बैठकमा अल्झेका थिए ।

नेता पौडेलसहित असन्तुष्ट पक्ष जिल्ला सभापति भेला, महासमिति बैठक हुँदै तल्लो तहसम्म सभापति देउवाकै कारण निर्वाचनमा पार्टी पराजय भएको स्थापित गराउने रणनीतिमा जुटेको छ । भेलाको तयारीसँगै संगठन निर्माण, विधान संशोधन लगायतका विषयमा जिल्ला सभापतिहरुको सुझाव लिन कांग्रेसले असार ५ देखि ७ गतेसम्म हेटौंडामा भेला बोलाएको छ । तर भेलामा पार्टी संगठन बलियो बनाउने भन्दा आफ्नो गुट बलियो बनाउन नेताहरू अहिलेदेखि नै सक्रिय भएका छन् ।

सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल समूह पार्टीको १४ औं महाधिवेशनको परिणाम कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने रणनीतिमा लागेका छन् भने दुवै पक्ष एक–अर्काको कमजोरी खोतल्दै आफू र आफ्नो गुटको बचाउमा समेत जुटेका छन् । दुवै पक्षले निकट जिल्ला सभापति मात्र होइन, भ्रातृ तथा शुभेच्छुक संगठनलाई पनि आआफ्नो पक्षमा प्रयोग गरिरहेको बताइन्छ ।

केन्द्रीय समिति बैठकले समेत निर्वाचनमा पार्टी हारको विषयलाई बिट मार्न नसके पछि सभापति भेलामा यही विषयले प्रवेश पाउने भएसँगै दुबै पक्षका नेताहरु आरोप प्रत्यारोपमा उत्रिएका हुन् । वैशाख १६ गते सम्पन्न केन्द्रीय समिति बैठकले विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरे पनि सदस्य विवादका कारण हालसम्म पनि विधान मस्यौदा समिति बन्न नसक्नुलाई पनि काग्रेंस भित्रको असन्तुष्टिलाई पुष्टि गर्ने विश्लेषकहरु बताउँछन् ।

उता नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको निधनसँगै छिन्नभिन्न भएको नेपाली कांग्रेसको पुरानो संस्थापन पक्ष पनि फेरि एक ठाउँमा उभिन थालेको बताइन्छ । १३ औं महाधिवेशनको संघारमा तत्कालीन सभापति कोइरालाको निधनपछि एकअर्का वरुद्ध उत्रिएका नेताहरु अहिले एकाएक नजिकिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेता रामचन्द्र पौडेल र कृृष्णप्रसाद सिटौला सोमबार एउटै कार्यक्रममा उपस्थित हुनुलाई पक्कै संयोग मान्न नहुने राजनीतिक विश्लेषकहरु बताउँछन् । यी दुवै नेताले १३ औं महाधिवेशनमा भने एकअर्का विरुद्ध सभापतिमा उम्मेदवारी दिएका थिए ।

नेविसंघ काठमाडौं जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा पौडेल र सिटौलामात्र होइन, शेरबहादुर देउवा समूहबाट १३ औं महाधिवेशनमा महामन्त्रीका प्रत्यासी बनेका अर्जुननरसिंह केसी, पूर्वमहामन्त्री प्रकाशमान सिंह, युवा नेताहरु नवीन्द्रराज जोशी, गगनकुमार थापा, प्रदीप पौडेल एकै ठाउँमा उभिएका हुन् ।

सिटौला र थापाले तत्कालीन कार्यवाहक सभापतिसमेत रहेका पौडेललाई अस्वीकार गर्दै त्यसविरुद्ध पार्टी सभापति र महामन्त्रीको उम्मेदवारी दिएका थिए । पहिलो चरणको निर्वाचनमा सभापतिका तीनै प्रत्यासीले ५१ प्रतिशत मत नपाएपछि भएको दोस्रो चरण निर्वाचनमा सिटौला समूहले देउवालाई समर्थन गरेको थियो । प्र्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि सभापति देउवा एक्लै अघि बढ्न थालेको भन्दै नेताहरू पौडेल, सिटौला, सिंह एक ठाउँमा उभिएको स्रोतको दावी छ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology