प्रहार न्युज

‘सुविधा सिटामोल नि छैन, तिर्नुछ करमाथि कर’

जाजरकोट – जिताएर पठाएका जनप्रतिनिधिबाट जनताले सुविधा चाहेका थिए । सेवा दैलामै आउला भन्ने आशा गरेका थिए । तर, पचास गुनासम्म कर बढाएपछि भेरी नगरका जनता आक्रोशित छन् ।

भेरी नगरपालिका–२ रिसाङ्गकी डिला पुनले घरज ग्गाल्याएर को मालपोत प्रतिवर्ष १६ रुपैयाँ बुझाउँथिन् । तर नगरपालिकाले गत वर्षदेखि लगाएको एकीकृत सम्पत्ति करबापत उनले एकैपटक १९ हजार बुझाउनु पर्‍यो ।

एकाएक भएको करवृद्धिबाट उनी दिक्क छिन् । ‘आम्दानी खासै नहुने १७ रोपनी बारी र चारकोठे घर मात्रै छ,’ पुनले भनिन्, ‘स्थानीय सरकार बनेपछि सेवासुविधामा परिवर्तन छैन, अस्पतालमा सिटामोल नि पाइँदैन । सामान्य उपचारका लागि पनि जिल्लाबाहिर जानुपर्ने बाध्यता छ । तर हामीजस्ता गरिबको ढाड सेक्ने गरी कर उठाइएको छ । हामीलाई बिल्कुल चित्त बुझेको छैन ।’

भेरी–३ थाप्लेका कृष्णविक्रम शाहले घरजग्गाको कर हरेक वर्ष नौ सय ११ रुपैयाँ बुझाउँथे । अहिले एकीकृत सम्पत्ति करबापत उनले ४० हजार रुपैयाँ तिरे । उनको ६५ रोपनी खेत तथा पाखोबारी र सदरमुकाममा दुई घर छन् । ‘त्यो जमिन र घरबाट खासै आम्दानी छैन’, शाहले भने, ‘तर स्थानीय सरकारको चर्को कर तिर्न म बाध्य छु । एकैपटक पचासौं गुणा बढेको छ ।’

सेवासुविधा नपाइने, आम्दानी नहुने तर करवृद्धि गर्ने कार्यले जनताले सुशासन अनुभुति नगरेको उनले सुनाए । उनले भने, ‘करवृद्धि जनतामाथि अन्याय हो । आम्दानीअनुसार पो कर हुनुपर्‍यो । यसरी त हाम्रो छाक नै काटिने भयो ।’ नगरले कर बढाएसँगै बजारमा मूल्यवृद्धि भएको उनले बताए ।

भेरी–४ का ललितजंग शाहले यसअघि सात रुपैयाँ तिरो तिर्थे । अहिले एक हजार तिरे । सोही वडाकी योगमाया कार्कीले पाँच रुपैयाँ तिर्थिन् । यसपटक ६ सय ५० तिर्नुपर्‍यो । ‘स्थानीय सरकारसँगै सिंहदरबारको अधिकार गाँउमै आउला र सेवासुविधा बढ्ला भन्ने सोचेका थियौं,’ लतिलजंगले भने, ‘तर एक वर्षको अनुभवले त्यो गलत सावित गरिदियो । सुविधा बढेको छैन, कर मात्रै बढाइएको छ ।’ उनले संघीयता जनताका लागि नभएर नेताका लागि मात्रै भएको गुनासो पनि सुनाए

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology