new

प्रमको भारत भ्रमण : इनर्जी बैंकिङलाई विशेष जोड

काठमाडौँ –  प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि गर्न लाग्नुभएको भारतको राजकीय भ्रमणमा इनर्जी बैंकिङको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरिएको छ ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाजस्ता केही महत्वपूर्ण परियोजना निर्माण सम्पन्न भएपछि बर्खायाममा विद्युत् खेर जाने भएकाले त्यसलाई जोगाउन पनि इनर्जी बैंकिङको अवधारणालाई विशेष प्राथमिकतामा राखिएको हो ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले निर्माण गरिरहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजना २०७५ मंसिर मसान्तसम्म निर्माण सम्पन्न हुने क्रममा रहेको छ ।

यस्तै अन्य केही ठूला परियोजनासमेत सो अवधिभित्र सम्पन्न हुने चरणमा रहेका छन् । ती आयोजना सम्पन्न भएपछि बर्खाको समयमा ती परियोजनाबाट उत्पादित विद्युत् खेर जाने र हिउँदमा पुनः भारतबाट आयात गर्नुपर्ने अवस्था भएकाले इनर्जी बैंकिङको अवधारणा अगाडि सारिएको हो ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता एवं सहसचिव दिनेश घिमिरेले प्रधानमन्त्रीको भ्रमणका क्रममा सो विषयलाई नेपालको तर्फबाट एजेण्डाका रुपमा राखिएको जानकारी दिनुभयो ।

नेपालमा बर्खाको समयमा सञ्चालनमा रहेका सबै आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने र हिउँदमा न्यून मात्रामा मात्रै विद्युत् उत्पादन हुने भएकाले माग व्यवस्थापनका लागि इनर्जी बैंकिङ अवधारणा ल्याइएको नेपाल विद्युत् प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि भारतीय समकक्षीहरुसँगको भेटमा सो अवधारणालाई उठाउँदै आउनुभएको छ ।

उच्च राजनीतिक तहमा नै छलफल र संवाद भएपछि मात्रै एउटा निर्णयमा पुग्न सकिने भारतीय पक्षको रायपछि प्रधानमन्त्रीको यस पटकको भ्रमणलाई सो विषयलाई समावेश गरिएको हो ।

भारतलाई वर्षाको समयमा बढी ऊर्जा आवश्यक पर्ने र नेपालमा कम खपत हुने भएकाले पनि इनर्जी बैंकिङको अवधारणा अगाडि सारिएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीको भनाइ छ ।

इनर्जी बैंकिङ विशुद्ध ऊर्जा बचतको एउटा विधि हो । यसमा व्यापारिक र आर्थिक विषयलाई कम महत्व दिइन्छ । नेपालले बढी भएको समयमा भारत निकासी गर्ने र कम भएको समयमा आयात गर्ने विधि यसमा अपनाइन्छ ।

प्राधिकरणले हाल भारतबाट ४८० मेगावाटको हाराहारीमा विद्युत् आयात गरिरहेको छ । हिउँदको समयको ऊर्जा व्यवस्थापनका लागि उक्त परिमाणको विद्युत् आयात गरिएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसहितको टोलीले २०१७ अगष्ट ८ मा भएको छलफलमा सो विषयलाई भारतीय अधिकारीमाझ प्रवेश गराएको थियो । नेपाल–भारत पावर एक्स्चेञ्ज कमिटीको बैठकमा सो विषयलाई एजेण्डाका राख्ने सहमतिसमेत सोही समयमा भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिनुभयो ।

सामान्यतः इनर्जी. बैंकिङ अवधारणामा जाँदा नेपालले पनि फाइदा लिन सक्ने र भारतलाई त झन् महत्वपूर्ण फाइदा हुने बताइएको छ ।

नेपालमा उत्पादित विद्युत् बर्खाकालमा भारतका लागि आवश्यक पर्ने, कृषि तथा सिँचाइमा समेत प्रयोग हुने भएकाले त्यसबाट फाइदा लिने र हिउँदमा त्यही विद्युत् नेपाललाई उपयोग गर्न सकिने भएकाले बैंकिङको अवधारणा ल्याइएको हो ।

ऊर्जा मन्त्रालयका प्रवक्ता घिमिरेका अनुसार व्यावसायिक तथा व्यापारिक रुपमा भारतले नेपालको विद्युत् तत्काल लिइहाल्ने अवस्था नभएकाले पनि नयाँ अवधारणा अगाडि सारिएको हो ।

युरोपका केही देशमा इनर्जी बैंकिङ अवधारणा कार्यान्वयनमा ल्याइएको छ । नेपालले पनि त्यस्तो अवधारणा कार्यान्वयनमा ल्याउँदा माग र आपूर्ति व्यवस्थापनमा सहयोग पुग्ने बुझाइ सरकारको छ ।

यस्तै, भारत भ्रमणका क्रममा भारतले तयार पारेको ऊर्जा रणनीतिका कारण नेपाललाई पर्ने असरका बारेमा समेत छलफल गर्ने तयारी गरिएको छ । भारतले नेपालका जलविद्युत् आयोजनामा नेपाल सरकारको स्वामित्व भएका तथा भारतका कम्पनीले लगानी गरेका परियोजनाबाट मात्रै विद्युत् खरिद गर्न सकिने गुरुयोजना ल्याएको छ ।

नेपालले सो गुरुयोजना सन् २०१४ मा भएको नेपाल–भारत विद्युत् व्यापार सम्झौता (पिटिए) को मर्म विपरीत भएको भन्दै त्यसलाई सच्याउन आग्रह गर्ने भएको छ । भारतको सो गुरुयोजनाका कारण नेपालमा लगानीमैत्री वातावरण नबन्ने र समस्यामा पर्ने भएकाले सो विषयलाई समेत प्राथमिकतामा राखिएको प्रवक्ता घिमिरेको भनाइ छ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology