new

राजधानीमै कम फुल्यो गुराँस, पर्यटकमा देखियो निराशा

तेह्रथुम –  गुराँसको राजधानी भनेर चिनिने पूर्वी नेपालकै चर्चित पर्यटकीय गन्तव्य तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा आधा चैत बित्न लाग्दा पनि यस वर्ष पर्याप्त गुराँस फुलेको छैन । गुराँस हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने बेला कम मात्रै गुराँस फुल्दा पर्यटक निराश बन्न थालेका छन् ।

माघ अन्तिम साताबाटै फुल्न थाल्ने गुराँस यो वर्ष ढिला गरेर फुलेको हो । यतिबेला टिएमजेमा गुराँसका भर्खर फुल्न लागेका कोपिला मात्रै पाइन्छ । तेह्रथुमको तीनजुरे, ताप्लेजुङको मिल्के र संखुवासभाको जलजले मिलेर बनेको टिएमजे क्षेत्रको प्रवेशद्वार वसन्तपुरदेखि टुटेदेउराली, घुर्मिसे, पाथीभरा, पाँचपोखरी क्षेत्रमा कम मात्रै गुराँस फुलेको छ ।

मौसमअनुसार तलबाट क्रमशः माथितिर जेठ मसान्तसम्म नै गुराँस फुलिरहने गर्छ । तर यो वर्ष तल्लो क्षेत्रमै ढिलो र कम मात्रै गुराँस फुलेकाले माथिल्लो क्षेत्रमा अझै ढिलासम्म गुराँस फुल्ने टिएमजे पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष केदारनाथ लिम्बूले बताउनुभयो ।

यो क्षेत्रमा नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस फुल्ने गरेको छ । यस क्षेत्रमा चैतको पहिलो सातादेखि नयाँ वर्षको दिन र वैशाख–जेठ महिनासम्म पनि आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने गर्दछ । यो वर्ष पनि विगतभन्दा पर्यटकको चहल पहल बढेको तर गुराँस नै कम मात्रै फुलेकाले पर्यटक निराश भएर फर्किने गरेका स्थानीयवासीले बताए ।

गुराँस फुलेर ढकमक्क हुने यो बेला पर्यटकको आगमन भइरहेको छ । तर आउनेले गुराँसका कोपिला मात्रै देखेपछि नरमाइलो मान्दै फिर्ने गरेका टुटेदेउरालीका छिरिङ लामाले बताउनुभयो । विगतमा फागुनमै तीनजुरेका डाँडाकाँडा गुराँस फुलेर राताम्मे भइसक्थो । तर यो वर्ष भने चैतको दोस्रो सातासम्म पनि गुराँसका कोपिला मात्रै लाग्दैछन् ।

तीनजुरे, मिल्के र जलजले क्षेत्रका डाँडा यस वर्ष अहिलेसम्म खाली छन् । गुराँस नफुलेपछि पर्यटक पनि गुराँसमा रमाएका देखिँदैनन् । टाढादेखि गुराँसको सौन्दर्यमा रम्न आउने फूल नदेख्दा खल्लो मानेर फर्कने गरेका छन् ।

जलवायु परिवर्तनका कारण पछिल्ला वर्षमा गुराँस फुल्ने समयमा परिवर्तन आएको हुन सक्ने गुफाबजारकी हिमा खनालले बताउनुभयो । “बर्षेनि गुराँस फुल्ने समय ढिलो हुँदैछ,” उहाँले भन्नुभयो, “गत वर्ष धेरै कम फुलेको थियो, यो वर्ष अलिक त फुल्दैछ, तर राम्रो फुल्ने छाँटकाँट छैन ।” यो वर्ष असिनाले गुराँसका कोपिला झारेकाले राम्रो नफुलेको उहाँले भन्नुभयो । “धेरै दिनसम्म असिना पानी प¥योे”, उहाँले भन्नुभयो, “असिनाले गुराँसको फूल झार्छ । असिनाकै कारण कोपिला लागेको फूल नफुलेको होला ।”

बिदाका दिन र शनिबार वनभोजका लागि आउनेको यहाँ भीड लाग्ने गरेको छ । कतिपय दिन खानका लागि ठाउँसमेत अभाव हुन्छ । केही दिनअघि मात्रै देशी–विदेशी ३८ बढी देशका पर्यटक गुराँस वनको अवलोकनका लागि आएका थिए । गुराँस पर्यटनको प्रवद्र्धनका लागि गुफाबजारमा चैतको अन्तिम साताबाट मेलासमेत आयोजना हुँदैछ ।

टिएमजे क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि मेलाको आयोजना गरिएको टिएमजे पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष लिम्बूले बताउनुभयो । “गुराँस पहिले फुल्ने गरेको समयमा फुलेको छैन, तर कोपिला लागेको छ,” उहाँले भन्नुभयो ।

विगत वर्षभन्दा केही ढिला गरेर पनि गुराँस फुल्ने आशा रहेको श्रीजुङका योगेश भट्टराईले बताउनुभयो । टिएमजे क्षेत्रमा घुम्न आउने गुराँस वनको अवलोकन गरेर फर्किन्छन् । त्यसो त गुराँसले मनोरञ्जन मात्र हैन, औषधिको पनि काम गर्छ । माछा खाँदा काँडाले अड्किए, गुराँसको फूल खानुपर्ने भनाइ छ । नपाए गुुराँसको नाम मात्रै लिए पनि अड्किएको काँडा निस्कने अधिकारी बताउँछन् ।

समयमै गुराँस नफूले पनि एकैसाथ फुल्ने चाप भने ढकमक्कै फुलिसकेको छ । गुफापोखरी आधारभूत विद्यालयका शिक्षक ज्वाला पोखरलका अनुसार गुराँसको फूल एक साल फुल्ने र अर्को साल त्यति राम्रो नफुल्ने गरेको छ । “राम्रोसँग गुराँस नफुल्ने हो भने टिएमजे क्षेत्रको परिचय ओझेल पर्छ, किन फुलेन भन्ने विषयमा सम्बन्धित क्षेत्रबाट यसको अध्ययन र निराकरणका उपाय पनि खोजिनुपर्छ,” चौकीबजारका होटल व्यवसायी उदय लोलेले बताउनुभयो ।

यस क्षेत्रका टुटे देउराली, पाँच पोखरी, चौकीबजार, मंगलबारे, गुफाबजार जस्ता साना बजारका बासिन्दाको मुख्य आयस्रोत यहाँ घुम्न आउने पर्यटक नै हुन् । यी बजारमा उनीहरुले चलाएका साना होटलमा घुम्न आएकाले गरेको खर्च नै टिएमजे क्षेत्रको मुख्य आम्दानी पनि हो । यहाँ आउने पर्यटकले कुनै शुल्क तिर्नु पर्दैन, न त यहाँ कति पर्यटक आउँछन् भन्ने तथ्यांक राख्ने कुनै पर्यटन कार्यालय नै खुलेको छ । गुराँस नफुल्दा यी बजारका बासिन्दा भने निकै चिन्तित छन् ।

गुराँस फुल्ने समयमा पछिल्लो आठ–दश वर्षयता एक रुपता नभएका र यो एउटा अनुसन्धानको विषयसमेत बनेको लालीगुराँस संरक्षण व्यवस्थापन समितिका सदस्य प्रकाश श्रेष्ठले बताउनुभयो ।

सम्बन्धित निकायले बेलैमा चासो दिएर टिएमजे क्षेत्रको पहिचानको जगेर्ना गर्नुपर्ने उहाँले बताउनुभयो । यो क्षेत्र सरकारको संरक्षण क्षेत्रका रुपमा प्रस्तावित क्षेत्रसमेत रहेको छ । जिल्ला वन कार्यालयले यी तीन जिल्लाका २५ भन्दा बढी गाउँलाई समुदायमा समेटेर समुदायमा आधारित तीनजुरे मिल्के जलजले संरक्षण क्षेत्रको रुपमा विभिन्न कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ ।

पर्यटकको चहलपहलले बढेको बस्ती विकास र फोहोरको व्यवस्थापनका लागि यी क्षेत्रका बस्तीमा सचेतना फैलाउने काम वन कार्यालयले हरेक वर्ष गरिरहेको तेह्रथुमका जिल्ला वन अधिकृत देवीचन्द्र पोखरेलले बताउनुभयो । यो क्षेत्रमा तेह्रथुमका खाम्लालुङ, सम्दु, पौठाक, श्रीजुङ, मोराहाङ, आम्बुङ, जिरिखिम्ती, सोल्मा, सुङनाम र वसन्तपुर, संखुवासभाका जलजला, सिद्धपोखरी, नुनढाँकी, मावादिन, मादीमुल खर्क, तामाफोक र ताप्लेजुङका थिंलाबु, फाकुम्बा, साँघु, ढुंगेसाँघु, चाँगे र हाङपाङ गाउँहरु समेटिएका छन् ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology