new

बसाइँसराइले पहाडी क्षेत्र रित्तिएसँगै संस्कृतिसमेत लोप हुने अवस्थामा

बैतडी – सुदूरपश्चिमको पहाडी जिल्लाहरुबाट मानिस लगातार तराईतिर बसाइँसराइ गर्दै जाँदा अधिकांश गाउँवस्ती रित्तिँदै जान थालेका छन् ।

प्रदेश नं ७ का अधिकांश पहाडी क्षेत्रका वासिन्दा तराईतिर बसाइँ सर्न थालेपछि गाउँगाउँमा जनसंख्या निकै कम हुन थालेको छ । आजभन्दा करीब ३० वर्षअघिसम्म पहाडमा झुरुप्प परेका बस्तीहरु थिए । तर पछिल्लो समयमा पहाडबाट अनवरत रुपमा तराईमा बसाइँ सर्न थालेपछि पहाड रित्तिँदै जान थालेको छ । पहाडबाट भइरहेको अत्यधिक बसाइँसराइले यो क्षेत्रमा विकाससमेत हुन सकिरहेको छैन ।

पहाडमा भएका सम्भावनाको खोजी नभएकाले मानिस तराईमा बसाइँसराइ गर्न थालेको जगन्नाथ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पृथ्वीराज अवस्थीले बताउनुभयो । “शिक्षा, स्वास्थ्यलगायतका रोजगारीका अवसर पनि तराईमै केन्द्रित हुन थालेपछि तराईमा बसाइँ सर्नेको चाप बढ्न लागेको हो”, उहाँले भन्नुभयो, “संघीय व्यवस्थामा तराईमै राजधानी बनाइए पहाड रित्तो हुनेछ ।”

“पहाडको समविकास र यो क्षेत्रका सम्भावनाको खोजीका लागि पहाडमै राजधानी बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “पहाडबाट भइरहेको अत्यधिक बसाइँसराई रोक्नका लागि पहाड केन्द्रित विकास हुनुपर्छ ।” पछिल्लो केही दशकयता बैतडीलगायत प्रदेश नं ७ का पहाडी जिल्लाका नागरिक तराईतिर बसाइँ गर्न थालेपछि पहाडमा जनसंख्या कम हुँदै गएको छ ।

शिक्षा, स्वास्थ्य, विकास जस्ता कुरा तराईमै केन्द्रित हुनुले पनि यो क्षेत्रका नागरिक बसाइँ सार्न थालेका जगन्नाथ बहुमुखी क्याम्पसका सहायक प्राध्यापक सुरेन्द्र बमको भनाइ रहेको छ । उहाँले भन्नुभयो, “पहाडी क्षेत्रमा अपेक्षाकृत रुपमा विकास नहुनुले बसाइँसराइको क्रम नरोकिएको हो ।”

पहाडी क्षेत्रबाट निरन्तर भइरहेको बसाइँसराइले तराईमा जनसंख्याको चाप बढेको छ । यसले तराईको खेतीयोग्य जमीन मासिँदै गएको छ भने पहाडका सम्भावना ओझेलमा पर्दै गएका छन् । “अबको संघीय व्यवस्थामा विकास निर्माण, शिक्षा, स्वास्थ्यका कुरामा पहाडमै पहुँच पुग्ने किसिमले तय गर्नुपर्छ,” जगन्नाथ बहुमुखी क्याम्पसका सहायक प्राध्यापक बमले भन्नुभयो ।

अधिकांश नागरिक रोजगारी र शिक्षाका लागि तराईतिर बसाइँसराई गरिरहेकाले शिक्षाका संरचना पहाडमा स्थापना हुनुपर्ने दशरथचन्द नगरपालिका–१ का वडाध्यक्ष भुवनराज भट्टको भनाइ रहेको छ । उहाँले भन्नुभयो, “पहाडको बसाइँसराई रोक्न नसकिए तराईको खेतीयोग्य जमीन मासिएर भोकमरीको सम्भावना पनि बढ्ने देखिएको छ ।” निरन्तरको बसाइँसराइले पहाडी क्षेत्रको संस्कृतिसमेत मासिने खतरा बढेको छ । पहाडका मानिस तराईतिर बसाइँसराइ गरेर जान थालेपछि पहाडी क्षेत्रका संस्कृतिसमेत लोप हुन थालेका हुन् ।

यो क्षेत्रमा रहेका ऐतिहासिक सांस्कृतिक महत्वका ठाउँबाट मानिस अन्यत्र गएपछि स्वभाविक रुपले संस्कृतिमा ह्रास आउन थालेको मणिलेक मावि काँडा मेलौलीका प्रधानाध्यापक देवदत्त कलौनीले बताउनुभयो । “बसाइँसराइका कारण पहाडी संस्कृति लोप हुँदै गएकाले यसले समाजमा समेत नकारात्मक प्रभाव पारिरहेको छ”, उहाँले भन्नुभयो, “पश्चिमी संस्कृतिको प्रभाव बढिरहेकाले बसाइँसराइका कारण पुराना संस्कृति लोप हुन थालेका छन्,” उहाँले थप्नुभयो, “आफ्नो संस्कृति लोप हुँदै जाँदा समाजमा यसले समस्या निम्त्याउँछ ।”

पहाडबाट निरन्तर रुपमा बसाइँसराइ भइरहँदा सामाजिक रुपमा मात्र नभई सांस्कृतिक समस्यासमेत निम्त्याइरहेको छ । पहाडबाट भइरहेको बसाइँसराइ रोक्नका लागि पहाडमा विकासका कामलाई केन्द्रित गर्नु आवश्यक छ । “गाउँलाई समृद्धिमा लाने र स्वरोजगारको वातावण सिर्जना गरियो भने बसाइँसराइलाई तुलनात्मक रुपमा घटाउन सकिन्छ”, स्थानिय हेमराज गिरीले भन्नुभयो, “स्थानीय सरकार बनेको अवस्थामा अब गाउँप्रति आकर्षण बढ्छ ।”
राज्य पुनःसंरचनासँगै बनेको स्थानीय तहले गाउँको विकास हुने अपेक्षा गरे पनि अझै विश्वस्त भइहाल्ने अवस्था नरहेको स्थानीयवासस् बताउँछन् । गाउँघरमै राज्यका सेवा सुविधा पुग्न सके र समाज विकसित अवस्थामा भए मात्रै बसाइँसराइजस्ता समस्याको हल हुने धेरैको बुझाइ छ ।

“समाज उन्नत र विकसित भए मान्छेले आफ्नो थातथलो छोड्न चाहँदैन”, गिरीले भन्नुभयो, “बसाइँसराइ घटाउन राज्यले योजना र कार्यक्रम बनाउनुपर्छ ।” बसाइँसराइसँगै गाउँको उत्पादन पनि ह्वात्तै घटेको छ । खेतीयोग्य जमीन बाँझै पल्टिएका छन् । दैनिक उपभोग्य सामानका लागि बजारमाथि निर्भर रहनुपर्ने अवस्था छ ।

बसाइँसराइ बढ्दै जाँदा त्यसले सामाजिक संरचनामा पनि प्रभाव पार्ने देखिन्छ । जिल्लामा बसाइँसराइको कुनै लेखाजोखा छैन । विसं २०६८ को जनगणनाअनुसार बैतडीको जनसंख्या दुई लाख ५० हजार ८९८ रहेको छ । आर्थिक र सामाजिक कारणले बसाइँसराइ बढिरहेको र ग्रामीण भेगबाट शहरतिरको बसाइँसराइ बढ्दो छ । प्रदेश नं ७ मा रहेको नौ जिल्लामध्ये सात जिल्ला पडाडमा रहेका छन् भने दुई जिल्ला तराईमा रहेका छन् ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology