new

“चीनले बनाएको बाँधको बिजुली भारतले किन्दैन ” : भारतीय मिडिया

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिवसीय भारत भ्रमण शुरु भएसँगै भारतीय पत्रिका इन्डियन एक्सप्रेसले वरिष्ठ भारतीय अधिकृतलाई उदृत गर्दै भ्रमणमा दुई प्रधानमन्त्रीबीच सुरक्षा र विद्युतको विषयमा छलफल हुने उल्लेख गरेको छ ।

समाचारमा मोदीले ओलीलाई भेट्दा ‘नेपालले चीनलाई चाहे जति विद्युत परियोजना दिन सक्ने तर भारतले तिनबाट उत्पादन भएको विजुली खरिद गर्न नसक्ने’ बताउन लागेको उल्लेख छ ।

एक्सप्रेसको उक्त समाचार अनुसार भारतको यो चेतावनी ओली सरकारले बुढी गण्डकी परियोजना चीनलाई दिन सक्ने समाचार पछि आएको बताइएको छ । ओलीले प्रधानमन्त्री भएको केही समयपछि साउथ चाइना मनिङ्ग पोष्टलाई दिएको अन्तवार्तामा यस परियोजनालाई पुनः ब्युताउने भनेका थिए ।

२.५ अर्ब अमेरिकी डलरको बुढी गण्डकी जलविद्युत परियोजना भारत र चीनबीच प्रतिष्ठाको विषय बनेको छ ।

इन्डियन एक्सप्रेसले समाचारमा लेखेको छ– “यो परियोजना अघिल्लो बर्ष माओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री भएको बेला चीनको गेजुवा ग्रुपलाई दिएका थिए । त्यसको केही समयपछि प्रधानमन्त्री भएका शेरबहादुर देउवाले गेजुवासँगको सम्झौतामा ‘अनियमितता’ भएको भन्दै रद्द गरिदिए । देउवाको उक्त परियोजना स्थगनलाई काठमाडौंको सर्वसाधरणमाझ भारतको सल्लाहमा गरिएको गाइगुई चलेको थियो । ”

पत्रिकाले ओलीले प्रधानमन्त्री भएपछि साउथ चाइना पोष्टलाई दिएको अन्र्तवार्ताबाट भारतीय सस्थापन सशंकित भएको संकेत गरेको छ ।
ओलीले सो अन्तवार्ताको क्रममा इन्धनको महंगो माध्यम पेट्रोलियममा नेपालको निर्भता घटाउन पनि विकल्पको रुपमा पनि जलविद्युल परियोजनाहरु निर्माण गर्नु पर्ने आवश्यकता रहेको भनेका थिए । नेपालले आफूले उपभोग गर्ने सम्पूर्ण पेट्रोलियम पदार्थ भारतबाट निर्यात गर्ने गर्छ ।

इण्डियन एक्सप्रेसले एक उच्च सरकारी अधिकारीको भनाई पनि समाबेश गरेको जसमा भनिएको छ “चीनले बनाएको परियोजनाबाट उत्पादन भएका उर्जा भारतले किन्ने आस गर्न सकिन्न । नेपालले चीनको सहयोगमा ति बाँधहरु बनाओस र उत्पादन भएको विजुली पनि चीनलाई नै बेचोस् ।”

चीनलाई नेपालले विजुली बेच्ने प्रश्नमा पत्रिकाले विज्ञहरुको विश्लेषण भन्दै भनेको छ – ‘तिब्बत वा अरु चिनियाँ शहरहरुमा बिजुली लानको लागि विद्युत प्रशारण निर्माण गर्न नेपाल र चीन सीमातर्फ रहेको जटिल भुगोलले निक्कै कठिन हुनसक्छ ।’

यो भ्रमणमा ओली र मोदीले अरुण तेस्रोको जग हाल्ने कार्यक्रम पनि रहेको उक्त समाचारमा उल्लेख छ । समाचारमा अगाडि भनिएको छ भुटानमा भारतले बनाएका जलविद्युत आयोजनाको मोडेलमा निर्माण गरिन लागिएको यो परियोजनाको अधिकांश बिजुली भारतले किन्नेछ । यो परियोजनालाई भारतीय सरकारी सस्था सतलज जल विद्युत निगमले निर्माण गर्दैछ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology