new

घर बनाएको सोह्र महिनापछि ‘सम्पन्न प्रमाणपत्र’

बुटवल –  बुटवल उपमहानगरपालिका–१३ बेलबासका कृष्णप्रसाद पन्थीले भवन संहिताको पालनासहित घर निर्माण गरेको १६ महिनापछि प्रमाणपत्र पाउनुभएको छ ।

उपमहानगरपालिकाले तदारुकता लिएपछि पन्थीले २०७३ सालमा दिएको निवेदनमा १६ महिनापछि सुनुवाइ भएको हो । स्वीकृत नक्साअनुसार घर सम्पन्न भएको विवरणसहित निवेदन दिए पनि त्यसअनुरुपको ‘सम्पन्न प्रमाणपत्र’ पाउन उहाँलाई झण्डै १६ महिना लाग्यो । बिहीबार वडा कार्यालय परिसरमा बाटो छेउमै बुटवल उपमहानगरपालिकाका योजना महाशाखा प्रमुख सुमन श्रेष्ठसहितको टोलीले सो प्रमाणपत्र उपलव्ध गराएको छ ।

उपमहानगरपालिका भित्र लामो समयदेखि प्रमाणपत्र कुर्दै धाउनेको संख्या ठूलो छ । यसबारेमा जनप्रतिनिधिलाई गुनासो पुगेपछि अहिले उपमहानगरपालिको योजना महाशाखाले वडा कार्यालयमै पुगेर घर नक्साका प्रमाणपत्र वितरण थालेको छ ।

महाशाखाका अनुसार विभिन्न चरण र प्रक्रियासमेत गरी प्रमाणपत्र प्रमाणीकरण भएर वडाहरूबाटै वितरण गर्ने सम्बन्धी फाइलको संख्या करिब छ सय छ । उपमहानगरको भवन तथा नक्सा पास शाखामा हरेक दिन २० देखि २५ वटा नयाँ फाइलहरू प्रक्रियामा जान्छन् । पेश भएको एउटा फाइलको प्रक्रिया पूरा गर्न कम्तीमा एक महिना लाग्ने गरेको छ ।

उपमहानगरपालिकाका वडा नं. ११, १२ र १३ मा शुक्रबारसम्म करिब दुई सय घर नक्सा सम्पन्नका प्रमाणपत्र वितरण गरिसकिएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा पूर्वाधार विकास समितिका संयोजक रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाका योजना प्रमुख सुमन श्रेष्ठ, ज्ञानप्रसाद अर्यालसहित योजना महाशाखाको टोलीले प्रमाणपत्र वितरण गरेको थियो । घर निर्माणका लागि निवेदन पेश गरेका, पहिलो चरण सकेर त्यसपछिका चरण शुरु गर्न अनुमति मागेका र निर्माण सम्पन्न भएको भनी प्रतिवेदन पेश गरेका सयौं सेवाग्राहीका फाइल उपमहानगरमा त्यत्तिकै रोकिएको अवस्थामा थिए ।
नगरप्रमुख शिवराज सुवेदी, उपप्रमुख गोमादेवी आचार्य, प्रवक्ता रेग्मी तथा अन्य जनप्रतिनिधिहरूसहित, प्रमुख प्रशासकीय अधिकृत राजन बिसी र योजना महाशाखा प्रमुख श्रेष्ठसहितको टोलीले सेवाग्राहीका गुनासालाई तत्कालै सम्बोधन गर्ने भन्दै तदारुकता देखाएपछि काम प्रभावकारी भएको हो ।
चालु आवमा नयाँ घर बनाउन (जग, पहिलो, दोस्रो चरणसमेत) ७८६ सेवाग्राहीले निवेदन दिएका छन् । उनीहरूको काम प्रक्रियामा अगाडि बढिरहेको छ । चालु आवको यो अवधिसम्म नयाँ निर्माणका लागि इजाजत माग्ने छ सय सेवाग्राही र घर सम्पन्न भएको प्रमाणपत्र दुई हजार सेवाग्रहीलाई उपलव्ध गराइएको छ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology