new

खानी सञ्चालन गर्न माग

रसुवा –  गणेश हिमालको फेदीमा उत्खनन गरी अलपत्र अवस्थामा रहेका खनिज पदार्थ निकाल्नका लागि स्थानीय तहले सरकारसंग माग गरेको छ ।

लामो समयको खोज र अनुसन्धानपछि त्यहाँ सिसा तथा फलामजस्ता खनिज पदार्थ उत्पादन गर्न सकिने तथ्य फेला परेको थियो । सोहि अनुसार विगतमा ठूलो धनराशि खर्चेर उत्खनन गरी अलपत्र अवस्थामा छाडिएकाले त्यहाँ खानी सञ्चालन गर्न खानी तथा भूगर्भ विभागसमक्ष आग्रह गरिएको आमाछोदोङमो गाउँपालिका अध्यक्ष बुचुङ तमाङले बताउनुभयो ।

रसुवाका वरिष्ठ समाजसेवी दावाफिन्जो तमाङका अनुसार गणेश हिमालमा बंगलादेशका विशेषज्ञ चञ्चलकुमार चक्रवर्तीको रेखदेख र नेपाली प्राविधिकबाट कच्चापदार्थ निकाल्न सुरुङमार्गसमेत निर्माण भइसकेको छ । त्यहाँ खानी सञ्चालन गरी रसुवाको गरिमा उच्च पारिदिन जिल्लावासीले अपेक्षा गरिरहेका छन् । उत्खनन सुरुङको लम्बाइ एक हजार ३०० मिटर रहेको बताइएको छ ।

कच्चापदार्थ खोज्ने कार्य विसं २०२४ देखि शुरु भएको र २०३५ सालतिर त्यहाँ उत्खनन गरिएको थियो । उत्खननबाट प्राप्त कच्चापदार्थ ढुवानीका लागि २०४४ सालमा सरकारले त्रिशूली सोम्दाङ नामले १०५ किमी सडक निर्माण गरें तरपनि सिसाजस्ता खानी सञ्चालन हुन नसकी अलपत्र छोडिएको हो ।

समाजसेवी तमाङले खानी सञ्चालन भएमा आफ्नो देशको स्रोतबाट आत्मनिर्भरता टेवा पुग्ने र अर्कोतर्फ स्थानीय बासिन्दालाई रोजगारीका अवसर मिल्नेछ ।

यो खानी २०५६ सालबाट पूर्ण रुपले बन्द भएको स्थानीय बासिन्दाले बताएका छन् ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology