new

लामो बाटो कि बाख्रोपाठो पुख्र्यौली उखानलाई चरितार्थ गर्दै युवा

पोखरा – आर्थिक अभावका कारण पारिवारिक गर्जोटार्न र साहुबाट लिएको ऋण तिर्नका लागि जनजीब्रोमा झुण्डिने “लामो बाटो की बाख्रो पाठो” भन्ने पुख्र्यौली उखानलाई यहाँका एक युवाले चरितार्थ गरिदिएका छन् ।

विदेशको सट्टा गाउँ घरमै बसेर बाख्रापाल्न शुरु गरेका पोखरा लेखनाथ महानगरपालिका– २० मौजा आँटीघरका ४१ वर्षीय दुर्गाबहादुर गुरुङले यतिखेर बाख्रापालनबाट मनग्य आम्दानी गरेर सो उखानलाई व्यवहारमा उतार्नुुभएको हो ।

दश वर्षअघि विदेश जाने उद्देश्यका साथ भारत पुग्नुभएका उहाँले आफू वैदेशिक रोजगार कम्पनीबाट ठगिन लागेको थाहा पाएपछि नेपाल फर्केर बाख्रापाल्न व्यवसाय शुरु गरेको बताउनुभयो ।

विदेश जानका लागि आफन्तसँग लिएको ५० हजार ऋणबाट सातवटा स्थानीय जातका माउ खरिद गरेर बाख्रापालन व्यवसाय शुरु गरेको बताउँदै उहाँले भन्नुभयो, “यतिखेर खोरमा साना ठूला गरी १४० वटा बाख्रा पुगेका छन् । बाख्रापालनबाट वार्षिक रु सात लाख आम्दानी हुने गरेको छ, उहाँले भन्नुभयो,” “एक सय माउ बाख्रा पु¥याएर मासिक एक लाख आम्दानी गर्ने सोचमा छु ।”

स्थानीय खरी जातको माउलाई जमुनापारि एवं बोयर जातको बोकाबाट प्रजनन गराएर नश्ल सुधार गर्दै आएको बताउँदै गुरुङले रासससँग भन्नुभयो,– “खोरमा जन्मेका पाठी हुर्काउँदै खसी बोका बिक्रीवापत आएको रकमबाट निरन्तर नयाँ र उन्नत जातका बाख्रा थप्दै आएको कारण बाख्रापालन फष्टाएर थाहै नपाइकन छोटो समयमा नै व्यवसायमा परिणत भएछ ।”

उत्पादन भएका बाख्रा बिक्री हुँदैन कि भन्नु नपर्ने बताउँदै उहाँले कास्कीसहित तनहुँ, स्याङजा, लमजुङ, पर्वत, बागलुङ, चितवन, गुल्मीलगायतका जिल्लाबाट व्यवसायका लागि बाख्रा खरिद गर्न कृषक खोरमै आउने गरेको जानकारी दिनुभयो ।

बाख्राले पाठो भन्दा पाठी पाउँदा रमाउने गरेको बताउँदै गुरुङले भन्नुभयो, – “जिउँदो पाठी व्यावसायिक प्रयोजनका लागि प्रतिकिलो ४०० रुपैयामा बिक्री गर्दै आएको छु ।”

दुई सय रोपनी जग्गामा विभिन्न जातका डाले घाँसका बिरुवा रोपेर शुरु गरेको बाख्रापालन दाना भन्दा पनि घाँसमा आधारित भएको कारण बढी फाइदा हुने गरेको बाख्रापालनमा सहयोग गर्दै आउनुभएकी उहाँकी श्रीमती सरस्वती गुरुङ बताउनुहुन्छ ।

बाख्रा दुई वर्षको अवधिमा तीन पटक ब्यिाउँने र एक पटकमा दुईदेखि तीन वटासम्म पाठापाठी जन्माउने हुँदा खोर भरिएको पत्तै नहुने उहाँका अनुभव छ । रु पचास हजारको लगानीबाट शुरु गरेको बाख्रापालनबाट उक्त परिवारको हालसम्म बाख्रा र खोरसहित ४० लाख भन्दा बढीको सम्पत्ति पुगेकोछ ।

“गाउँमा घाँस हुँदा लगभग पाँच महिना घरको खोरमा र बाँकी अवधि घाइले खर्कको खोरामा राखेर जंगलको घाँस चराउँदै घुम्ती खोरको रुपमा व्यावसायिक बाख्रापालन गर्दै आएका छौ,”– गुरुङ दम्पतीले भन्नुभयो ।

बाख्रा बिक्रीबाट मात्र नभै खोरमा आउने स्वदेशी तथा विदेशी कृषकलाई बाख्रापालन सम्बन्धी ज्ञान, सीप बाडेर समेत सो परिवारले हालसम्म चार लाख बढी अतिरिक्त आम्दानी गरिसकेका छन् ।

“अध्ययन अवलोकनमा आउने प्रत्येक समूहलाई एक हजार शुल्क लिने गरेको छु” उहाँले भन्नुभयो, “खोरमा स्वदेशीका साथै अष्ट्रेलिया, क्यानडा, बेलायत, इरान लगायतका विदेशी मुलुकका टोलीले समेत भ्रमण गरिसक्नु भएको छ ।”

जंगलमासमेत गुरुङलगायत स्थानीय गोविन्द सापकोटा र डम्बर कुमारी गुरुङको संयुक्त पाँच लाख लागनीमा खोर निर्माण गरिएकोछ जसमा जिल्ला पशुसेवा कार्यालय कास्कीको रु दुई लाख अनुदान र बाँकी कृषकको रु एक÷एक लाखमा सामूहिक खोर निर्माण गरिएको हो ।

जंगली जनावरबाट समेत सुरक्षित उक्त खोरमा हाल तीन परिवारका ५०० भन्दा बढी बाख्रा रहेको अर्का बाख्रापालक कृषक गोविन्द सापकोटा बताउनुहुन्छ । उहाँका खोरमा लभगभ रु ३० लाख मूल्य बराबरका दुई सय बाख्रा छन् । कृषकले सबै बाख्राको पशु बीमा समेत गरिसक्नु भएको छ ।

समुद्री सतहबाट लगभग एक हजार ६०० मिटरको उचाइमा रहेको मौजा गाउँलाई नेपाल सरकारले बाख्रापालनको पकेट क्षेत्रको रुपमा घोषणा गरेको वडा अध्यक्ष सिम गुरुङ बताउनुहुन्छ ।

मौजा बाख्रापालन कृषि सहकारी संस्थामा आवद्ध ८५ जना शेयर सदस्यले व्यावसायिक रुपमा बाख्रापालन गर्दै आउनुभएको छ । सो संस्था अन्तर्गत मौजा गाउँमा लगभग तीन हजार पाँच सय बाख्रा छन् ।

चरनमा चितुवाले एकै दिनमा आठ बटासम्म बाख्रा मारेर ठूलो क्षति पु¥याएको बाख्रापालक कृषकले दुखेसो पोखेका छन् ।

पछिल्लो समय ग्रामीण क्षेत्रमा जंगल बढेसँगै जंगली जनावरबाट भएको क्षतिपूर्ति सर्वसुलभ तरिकाले उपलव्ध गराएर राज्यले व्यावसायिक रुपमा पशुपालन र कृषि क्षेत्रमा लागेर सबैका लागि अनुकरणीय बनेका मुलुकका युवा शक्तिलाई राज्यबाट प्रोत्साहित गर्नुपर्ने धारणा कृषि विज्ञको छ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology