प्रहारन्युज डेक्स

  • १४

भन्सार छली मोवाइल सामान ल्याउने ३ जना प्रहरी खोरमा

२८ चैत, काठमाडौं । दिल्लीबाट काठमाडौं आउने बसमा अवैध रुपमा भन्सार छली मोवाइल सामान ल्याउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चैत २७ गते दिल्लीबाट काठमाडौं आएको टुरिस्ट बसमा लुकाएर ल्याएको विभिन्न कम्पनीका मोवाइलसहित प्रहरीले बसचालक कृष्ण थापामगर र हरिबहादुर श्रेष्ठ तथा सहचालक भुवनबहादुर भुजेललाई पक्राउ गरेको हो ।

उनीहरुले १३० थान मोवाइल ड्राइभरको सिटमाथि फल्स बटम बनाएर सामान लुकाएका थिए । उनीहरुले भन्सार छल्नका लागि यसरी सामान लुकाएर ल्याएको प्रहरीले बताएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाले यसरी लुकाएर ल्याएको सामान लिन आउने संखुवासभा घर भइ स्वयम्भू बस्ने तिलक श्रेष्ठ र सुमित्रा श्रेष्ठमाथि पनि अनुसन्धान सुरु गरेको जनाएको छ ।

दिल्लीबाट काठमाडौं आएको उक्त बसमा सामसुङका ३९, एमआईका ३१, भिभोका १३, ओप्पोका ११, वान प्लसका ४, हुवावेको १, अनरका २, लेटटिभीका २, टेक्नो कम्पनीको १, लेनोभोका ४, कलर्सको १, नोकियाका २, लियागोको १, एलजीको १ र कुल कम्पनीको एउटा मोवाइल रहेको थियो ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology